January 20th, 2022

आईपीओ निष्कासनको अनुमति दिने धितोपत्र बोर्डकाे तयारी


बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको अनुमति दिने तयारी गरेको छ। बोर्डले एकै पटक पाँच कम्पनीलाई सेयर निष्कासनको अनुमति दिन लागेको हो।

गत साउन १४ गते बुद्धभूमि नेपाल हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमतिपछि बोर्डले कुनै कम्पनीलाई स्वीकृति दिएको थिएन। लामो समयदेखि रोकिएको आईपीओ स्वीकृतिको प्रक्रियाले अब निरन्तरता पाउने बोर्डले जनाएको छ।

बोर्डका अनुसार बलेफी हाइड्रोपावर कम्पनी, ग्रीन भेन्चर्स लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्कासनको अनुमति दिने तयारी गरिएको छ।

हाल धितोपत्र बोर्डमा यी पाँचसहित ३१ कम्पनी आईपीओ स्वीकृतिको पर्खाइमा छन्। नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा आईपीओ स्वीकृति प्रक्रिया रोकिएको हो।

धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगाना सर्वोत्तम सिमेण्टको सेयर प्रकरणमा मुछिएपछि गत असोज १९ गते सरकारले बर्खास्त गरेको थियो। सोपछि धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त रहेको छ। अहिले नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालयका अनुसार आवेदन दिने अन्तिम दिन आजसम्म १५ जनाले आवेदन दिएका हुन्।

आवेदन दिनेमा डा. गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी, चिरञ्जीवी चापागाईं, डा. नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने, कृष्णराज पोखरेल, डा. जीवन अम्गाईं, रमेशकुमार हमाल, सिताराम थपलिया, डा. केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल, निरज गिरि र हेमन्त बस्याल रहेका छन् ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]