Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकका १ सय ४८ कर्मचारीमा कोरोना, ‘वर्क फ्रम होम’ अवलम्बन

२०७८ माघ ४ गते

बैंकिङ खबर/पछिल्लो केहि दिनयता नेपालमा पनि कोरोना भाइरस संक्रमणको दर बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार एकैदिन ६ हजार ७३४ जना कोरोना संक्रमित थपिएका छन् । हाल देशभर ३० हजार ८ सय ७७ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

यता बैंक वित्तमा समेत कोरोना संक्रमणको दर बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकका १ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा.गुणाकर भट्टले बैंकिङ खबरलाई जानकारी दिए । उनका अनुसार कर्मचारीमा कोरोना फैलिएसँगै राष्ट्र बैंकले ‘वर्क फ्रम होम’को नीति अवलम्बन गरेको छ । राष्ट्र बैंकले अत्यावश्यक बाहेक सबै सेवा तथा सुविधाहरु घरबाटै दिन निर्देशन दिएको हो ।

प्रवक्ता डा. भट्टका अनुसार आइतबारदेखि ‘वर्क फ्रम होम’ को सेवा शुरु गरिएको हो । उनले भने, ‘हामीले गत वर्ष नै वर्क फ्रम होमको नीति ल्याएका थियौं, बैंकहरुले पनि वर्क फ्रम होमकै सेवा सुरु गर्न सक्छन्, कोरोनाका कारण बैंकिङ सेवा पनि प्रभावित भएको छ ।’ राष्ट्र बैंकले यसअघि नै बैंक तथा वित्तीय संस्थाका लागि सूचना जारी गर्दै सतर्कता अपनाउन निर्देशन दिइसकेको छ ।

राष्ट्र बैंकले दिएको ४ बुँदे निर्देशन :

१. नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरि सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपायहरु अवलम्बन गर्ने ।

२. सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्ने ।

३. बैंक तथा वित्तीय संस्थाद्वारा संचालित एटिएम बुथहरुबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी स्यानिटाइजर लगायतका सामग्रीको व्यवस्था गर्ने ।

४. बैंक तथा वित्तीय संस्थाबाट संचालन गरिने बैठक, गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रमहरुमा भौतिक दूरी निश्चित गर्ने वा यस्ता कार्यक्रम सकभर भर्चुअल माध्ययमबाट गर्ने व्यवस्था मिलाउने ।

राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखाका १० कर्मचारीमा कोरोना

राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकबाट प्रदान गरिने सेवा तत्कालका लागि बन्द गरिएको छ । आइतबार बैंकका कर्मचारीमा कोराना पुष्टि भएकाले सोमबारदेखि बैंकिङ सेवा अवरुद्ध भएको हो। बैंकमा कार्यरत १८ जना कर्मचारीमध्ये १० जनामा कोरोना पुष्टि भएको बैंकले जनाएको छ ।

बैंकका प्रमुख लीलाराम ढुंगानाका अनुसार १० जना कर्मचारीमध्ये एक जनामा गम्भीर लक्षण देखिएको र बाँकी नौ जना कर्मचारी होम आइसोलेसनमा रहेका छन् ।  संक्रमित सुरक्षागार्डलाई प्रदेश अस्पतालस्थित कोरोना विशेष अस्पतालमा भर्ना गरिएको छ । चार दिनका लागि सेवा अवरुद्ध हुन सक्ने बैंकले जनाएको छ ।

विगतमा ८० प्रतिशत कर्मचारी ‘वर्क फ्रम होम’मा 

बैंकिङ क्षेत्र दैनिकरूपमा भिडभाड हुने ठाउँमा पर्छ। सेवाग्राहीको भिडभाड हुने तथा नियमित सेवा दिनैपर्ने भएकाले यो क्षेत्रलाई संक्रमणको उच्च जोखिम क्षेत्रका रुपमा लिइँदै आएको छ। विगतका दिनहरूमा पनि बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिन थालेपछि बैंकिङ क्षेत्र ‘कोरोना हटस्पट’ बन्न थालेको थियो ।

करिब ८० प्रतिशत कर्मचारी ‘वर्क फ्रम होम’मा थिए भने उपत्यकाबाहिर र उपत्यका भित्र पनि बैंकका शाखा कार्यालयहरूमा कोरोना संक्रमण देखिएको थियो। उपत्यकाबाहिरका धेरैवटा बैंकिङ शाखाका कर्मचारीमा संक्रमण देखिएपछि शाखा कार्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको थियो। अहिलेको अवस्थामा पनि कोरोनाको संक्रमण बढ्दै जाँदा त्यो स्थिती अथवा त्योभन्दा पनि कठिन अवस्थाको सामना गर्नु नपर्ला भन्न सकिँदैन ।

बैंकिङ कारोबार जस्तोसुकै परिस्थितिमा पनि नियमित चलिरहने प्रक्रिया हो । त्यसैले यस क्षेत्रमा सेवा दिने संस्थाहरूले सावधानीका सबैखाले उपाय अवलम्बन गर्दै निरन्तर सेवा दिइरहनुपर्ने हुन्छ ।

विगतका दिनमा अन्य क्षेत्रजस्तै बैंक वित्तमा पनि यसले असर गर्यो । बैंक तथा वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारी र उनीहरुको परिवार गरि पहिलो र दोस्रो लहरमा १९ हजारभन्दा बढी प्रभावित भए । राष्ट्र बैंकका अनुसार १४ हजार बढी बैंक वित्तका कर्मचारी संक्रमित भएका थिए भने एकाघर परिवार ६ हजार बढी संक्रमित भएको अवस्था थियो ।

१ सय २६ भन्दा बढीको कोरोनाकै कारण ज्यान गएको थियो । जसमध्ये कर्मचारी २४ र परिवारको संख्या १ सय २ जना थिए । पछिल्लो दोस्रो लहरमा कर्मचारी र उनीहरुका परिवार गरेर ८ हजार ६ सय बढी संक्रमित थिए । बैंकिङ क्षेत्रका कर्मचारी र उनीहरुका परिवार कोरोना संक्रमणबाट त्यतिकै प्रभावित भए ।

कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह र निक्षेप संकलन स्थिर रह्यो। लकडाउनका बेला आर्थिक गतिविधि ठप्प भएकाले बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह र निक्षेप संकलन पनि प्रभावित भयो । बैंकहरुले आलोपालोका आधारमा दैनिक २५ प्रतिशत शाखा मात्र सञ्चालनमा ल्याएका थिए ।