बुधबार पनि सेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जमा १ अर्ब ६५ करोड रुपैयाँ पुँजी परिचालन भएको छ । दिनभरिमा एक सय ४५ वटा कम्पनीको २९ लाख ३१ हजार ९ सय ८४ कित्ता सेयर सात हजार दुई सय २२ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब ६५ करोड २१ लाख ९० हजार दुई सय ९१ रुपैयाँ बराबरको कारोबार भएको हो । मंगलबार पनि सोमबारको तुलनामा घटेर एक अर्ब ८१ करोडमाथिको पुँजी परिचालन भएको थियो ।
बुधबार परिचालित कुल पुँजीमध्ये बैंकिङ समूहको साढे ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जबकी मंगलबार बैंकिङ समूहको मात्रै एक अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको थियो । त्यस्तै, बुधबार विकास बैंकको कारोबार १९ करोड रुपैयाँको कारोबार भएको छ भने फाइनान्स समूहको २ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । विकास बैंक र फाइनान्सको कारोबार पनि मंगलबारको तुलनामा घटेको हो । त्यस्तै, बुधबार होटलको २१ लाख, जलविद्युत्को दुई करोड ६१ लाख, बीमाको ४७ करोड, उत्पादनमूलकको दुई लाख २२ हजार र अन्य समूहको ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
कम्पनीगत आधारमा हेर्दा, नविल बैंकको सबैभन्दा धेरै साढे १३ करोड रुपैयाँभन्दा माथिको सेयर कारोबार भएको छ भने नविल बैंकको प्रोमोटर सेयरको ८ करोड ४३ लाख रुपैयाँभन्दा माथिको सेयर कारोबार भएको छ । लुम्बिनी जेनेरल इन्स्योरेन्सको झन्डै १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकमका आधारमा लामो समयदेखि दोस्रो रहँदै आएको एनबी बैंक बुधबार साढे सात करोडको कारोबारसँगै चौथो स्थानमा झरेको छ । प्रभु इन्स्योरेन्सको पनि साढे सात करोडको कारोबार भएको छ । एभरेष्ट बैंक र सनराइज बैंकको कारोबारले पनि सात करोड नाघेको छ । कृषि विकास बैंकको साढे ६ करोडमाथिको पुँजी परिचालन हुँदा एनएलजी इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स लगायतको ४ करोडमाथिको कारोबार भएको छ ।
६४ वटा कम्पनीका लगानीकर्ताले बुधबार अधिकतम ९.०१ प्रतिशतदेखि न्युनतम ०.०२६ प्रतिशतसम्मले सम्पत्ति बढाएका छन् । सबैभनदा धेरै रुरल माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा थोरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । लुम्बिनी जेनेरल इन्स्योरेन्स, यति डेभलपमेन्ट बैंक र प्रभु इन्स्योरेन्सका लगानीकर्ताले साढे ६ प्रतिशतभन्दा बढीले कमाएका छन् । यसबाहेक, तीन वटा कम्पनीका लगानीकर्ताले ४ प्रतिशतभन्दा बढीले कमाएका छन् । बाँकीले तीन प्रतिशत र सोभन्दा कम कमाएका छन् ।
बुधबार रिडि हाइड्रोपावरका लगानीकर्ताले अधिकतम ६.४३ प्रतिशतले गुमाएका छन् भने एनआईडीसी क्यापिटल मार्केट्सका लगानीकर्ताले न्युनतम ०.१४ प्रतिशतले गुमाएका छन् । नेपाल लाइफ इन्स्योरेन्सको प्रोमोटर सेयरधनीले ५.८५ प्रतिशतले गुमाएका छन् । मनास्लु विकास बैंक, सानिमा बैंक, कन्काई विकास बैंक लगायतले पनि गुमाएका छन् ।
नेप्से परिसूचक पनि बुधबार ९.९७ अंकले घटेर १८२४.८३ अंकमा कायम भएको छ । बीमा, होटल र अन्यबाहेक सबै समूह घटेका छन् । सबैभन्दा धेरै बैंकिङ समूह २०.६८ अंकले घटेको छ । विकास बैंक, जलविद्युत्, फाइनान्स र उत्पादनमूलक क्रमशः ५.४४, ५.९९, ०.३७ र ७.७ अंकले घट्दा बीमा, होटल र अन्य भने क्रमशः ९४.३३, २.१६ र ०.५८ अंकले बढेको छ ।





