January 14th, 2022

के, के भयो यो साता ? साताभरीका चर्चित बैंकिङ खबरहरु

बैंकिङ खबर/ नेपालमा यो साता कोरोनाको संक्रमणको त्राससँगै बैंक तथा वित्तीय क्षेत्रमा विभिन्न गतिविधिहरु भए ।बैंक वित्तीय क्षेत्रमा यो साता कोरोना संक्रमणबाट जोगिन राष्ट्र बैंकको निर्देशन, मर्जरका लागि सम्झौता, मर्जर प्रक्रिया असफल, आरोप प्रत्यारोप, ठगी लगायत थुप्रै घटना एवम् गतिविधिहरु भएका छन् । समग्रमा, साताको सुरुवातदेखि बैंक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु तल प्रस्तुत गरिएको छ :–

बीग मर्जरमा बीग प्रोब्लम : हिमालयन र इन्भेस्टमेन्ट बैँकबीचको मर्जर प्रक्रिया असफल !

हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेस्टमेन्ट बैँकबीचको मर्जर प्रक्रिया असफल भएको छ। हिमालयन बैंकको वार्षिक साधारणसभाले शुक्रबार इन्भेस्टमेन्टसँगको मर्जर प्रस्ताव अस्वीकृत गरेको हो।

मर्जर विशेष प्रस्ताव स्वीकृत हुन ७५ प्रतिशत सेयर सदस्यहरुको मत प्राप्त हुनुपर्ने भएकामा प्राप्त नभएको हो। हिमालयन बैँक स्रोतका अनुसार अधिकांश सदस्यहरु मर्जरको विपक्षमा देखिएका थिए। हिमालयन र इन्भेस्टमेन्ट बैँकबीच ३० वैशाख २०७८ मा मर्जरको प्रारम्भिक सहमति भएपछि दुवै बैंकले राष्ट्र बैंकमा निवेदन दिएका थिए। राष्ट्र बैंकले २०७८ जेठमा मर्जरको सैद्धान्तिक स्वीकृति दिएको थियो।

हिमालयनले आफ्नो छुट्टै अस्तित्वलाई नै निरन्तरता दिने बताइएको छ। बैंकमा २० प्रतिशत सेयर रहेको कर्मचारी सञ्चय कोषसमेत नेपाल इन्भेस्टमेन्टसँगको मर्जरको विपक्षमा थियो। बैंकका पूर्वअध्यक्ष मनोजबाबु श्रेष्ठसमेत मर्जरविरुद्ध थिए।

चेपुवामा गभर्नर

यो सता सरकार साझेदार दलहरु फरकफरक हुँदा विभिन्न पक्षबीच द्वन्द्वात्मक अवस्था देखिएको छ । यस्तो द्वन्द्वको अवस्था संसदमा छताछुल्ल देखियो । संसदमा सांसद अमनलाल मोदी र गभर्नर महाप्रसाद अधिकारीबीच जुहारी चल्यो । मोदीले अर्थमन्त्रीलाई असफल बनाउन राष्ट्र बैंक लागेको आरोप लगाए । लेखा समितिमा आयोजित छलफलमा सांसद मोदीले अर्थसचिव र र गभर्नर अर्थमन्त्री विरुद्ध लागेको बताए ।

उनले भने ‘तपाईंहरुको ट्युनिङ मिलिरहेको छैन’ उनले विलासिताका सामानको उपयोग घटाउने राष्ट्र बैंकको कुरालाई सरकारी अधिकारीबाटै त्यसको शुरुआत गर्न चुनौती दिए । ‘गभर्नरले किन महँगो गाडी चढ्नु, अरु मन्त्री, प्रधानमन्त्रीले पनि त्यसो किन गर्नु, अब खर्च घटाउन आफैबाट सुरु गर्नुस् उनले भने । बैंकहरुले पहुँचवालालाई मात्र ऋण दिने गरेको गुनासो प्रति उनले प्रस्न गरे । गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री जर्नादन शर्मासँग आफ्नो तादाम्यता छैन भन्नु गलत भएको बताए ।

यता अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारीबीच खटपट शुरु भएको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाले गर्ने लगानीको नियमप्रति अर्थमन्त्री शर्माले सार्वजनिकरुपमै असन्तुष्टि व्यक्त गरे । राष्ट्र बैंकले लगानीको क्षेत्र कस्नतर्फ उन्मुख भइरहेको बेला यता अर्थमन्त्री शर्माले भने बैंक तथा वित्तीय संस्था निक्षेप संकलन र कर्जा लगानीमा मात्रै केन्द्रित भएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

कोभिडको त्रास र राष्ट्र बैंकको निर्देशन

विगत केहि दिनयता नेपालमा कोरोना संक्रमणको दर ह्वातै बढेको । जसले बैंक वित्तमा समेत त्रास छाएको छ । बैंकवित्त क्षेत्र दैनिक रूपमा भिडभाड हुने ठाउँमा पर्छ । सेवाग्राहीको भिडभाड हुने तथा नियमित सेवा दिनैपर्ने भएकाले यो क्षेत्रलाई संक्रमणको उच्च जोखिम क्षेत्रका रुपमा लिइँदै आएको छ ।

नेपाल राष्ट्र बैंकले कोरोनाको संक्रमण दर बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाहरुलाई कोभिडसँग सम्बन्धित निर्देशन जारी गरेको छ । पछिल्ला केही दिनमा कोभिड–१९ को संक्रमण नयाँ स्वरुपमा फैलँदै गएको र सोही रुपमा नेपालमा समेत संक्रमण फैलने संकेत देखिएकाले संक्रमणको जोखिमलाई न्यूनीकरण गर्दै आवश्यक स्वास्थ्य सतर्कतासहित बैंक तथा वित्तीय संस्थाको व्यवसायिक निरन्तरताको समेत सुनिश्चितता गर्नुपर्ने हुँदा बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न ४ बुँदे निर्देशन जारी गरेको हो । राष्ट्र बैंकले देहायका व्यवस्थाहरु अवलम्बन गरि पूर्ण सजगताका साथ कारोबार सुचारु गर्न÷गराउन निर्देशन दिएको छ ।

सहज बन्दै तरलता अभाव

यो साता तरलता अवस्था सहज हुँदै गएको छ । विशेषगरी स्थानीय तहबाट थप ३० प्रतिशत रकम निक्षेप आएपछि बैंकिङ क्षेत्रमा तरलता अभावको समस्या समाधान उन्मुख देखिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले उपलब्ध गराएको पुनर्कर्जाका कारण र स्थानीय तहको रकमलाई ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्न दिने भन्ने सरकारको निर्णयले तरलता सहज हुँदै गएको हो । यसअघि स्थानीय तहको ५० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था थियो । अहिले त्यसको सीमा ३० प्रतिशत बढाएर ८० प्रतिशत पु¥याइएको छ । फलस्वरूप वाणिज्य बैंकहरूमा ४९ अर्ब निक्षेप थपिएको छ ।

अहिले कर्जा निक्षेप अनुपात (सीडी रेसिया) ९० प्रतिशतभन्दा तल आएको अवस्था छ । राष्ट्र बैंकको गत आइतबारको डाटा अनुसार बैंकहरुको औसत सीडी रेसियो अहिले ८९.३७ प्रतिशत छ ।

एक हुँदै दुई बैंक

नबिल बैंक र नेपाल बङ्गलादेश बैंकबीच यसैसाता एक्विजिसन सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको छ ।
दुवै बैंकले संयुक्त मर्जर/एक्विजिसन सम्बन्धी समिति गठन गरि उक्त समितिले सिफारिश गरे बमोजिम सम्पन्न दुवै बैंकको सञ्चालक समितिको बैठकबाट उक्त एक्विजिसन (प्राप्ति) सम्बन्धी सम्झौता सर्वसम्मतिले पारित गरेका थिए ।

एक्विजिसन सम्बन्धी प्रकृया अगाडि बढाउनका लागि नबिल बैंकको तर्फबाट सञ्चालक उदयकृष्ण उपाध्यायको संयोजकत्वमा नबिल बैंकका सञ्चालक आशा राणा अधिकारी तथा सञ्चालक अनन्त पौड्याल सदस्य रहेका थिए भने नेपाल बङ्गलादेश बैंकको तर्फबाट सञ्चालक मोहम्मद शाल आलम सरवर, सञ्चालक इन्द्र बहादुर थापा, सञ्चालक अमन शाह र सदस्य सचिवमा नबिल बैकका प्रमुख वित्त अधिकृत मनोज ज्ञवाली रहने गरी संयुक्त मर्जर-एक्विजिसन कमिटी बनेको थियो ।

धितोपत्रमा १५ जनाको आवेदन, नेप्सेमा ३ जना सिफारिस

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालयका अनुसार आवेदन दिने अन्तिम दिन आजसम्म १५ जनाले आवेदन दिएका हुन्।

आवेदन दिनेमा डा. गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी, चिरञ्जीवी चापागाईं, डा. नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने, कृष्णराज पोखरेल, डा. जीवन अम्गाईं, रमेशकुमार हमाल, सिताराम थपलिया, डा. केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल, निरज गिरि र हेमन्त बस्याल रहेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्तीका लागि छनोट समितिले ३ जनाको सिफारिस गरेको छ । सीइओको लागि ११ जनाले आवेदन दिएका थिए । ११ जनाबाट ५ जनाको नाम सर्ट लिस्टमा राखेको थियो । ५ जनाबाट ३ जनाको नाम समितिले सिफारिस गरेको हो । जसमा कृष्णबहादुर कार्की, डा. केशव श्रेष्ठ र डा. रमेशकुमार भण्डारी रहेका छन् । उनीहरुको नाम समितिले छनोट गरेपछि अर्थमन्त्रालयले मन्त्रिपरिषदको बैठकमा पेश गर्ने छ ।

शेयर बजारमा उछाल

विगतमा गिरावाट आएको शेयर बजार यो साता भने उछाल आयो । यो साता नेप्से समग्रमा १६५.२९ अंकले बढ्यो । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार बढेर बन्द भयो । यस दिन नेप्से परिसूचक ७३.०१ अंकले बढेर २ हजार ७६५.४७ बिन्दुमा पुग्यो । सेन्सेटिभ इन्डेक्स पनि १३.२१ अंकले बढेर ५१९ बिन्दुमा पुगेको थियो । सोमबार पनि शेयर बजार बढेर बन्द भयो । नेप्से परिसूचक १९.४३ अंकले बढेर २ हजार ७८४.९५ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स ३.१६ अंकले बढेर ५२२.५३ बिन्दुमा पुगेको थियो ।

सोमबार २३६ वटा धितोपत्रको १ करोड ४२ लाख ८८ हजार कित्ता शेयर ७ अर्ब १२ करोड ३४ लाख २४ हजार रुपैयाँमा खरिद विक्री भयो । साताको तेस्रो कारोबार दिन मंगलबार पनि शेयर बजारमा वृद्धि भयो । नेप्से परिसूचक ४९.१९ अंकले बढेर २ हजार ८३४.१३ बिन्दुमा पुगेर बन्द भयो । सेन्सेटिभ इन्डेक्स पनि ६.३४ अंकले वृद्धि भएर ५२८.८७ बिन्दुमा बन्द भयो । २३२ वटा धितोपत्रको १ करोड १९ लाख ७० हजार कित्ता शेयर ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार रुपैयाँमा खरिद विक्री भएको थियो । ८ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो ।

साताको चौथो कारोबार दिन बुधबार भने पुँजीबजार मापक परिसूचक ‘नेप्से’ ३०.५१ अंकले घटेको छ । यससँगै नेप्से २८०३.६२ बिन्दुमा ओर्लियो । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा हरियाली छायो । नेप्से परिसूचक ५४.१२ अंकले वृद्धि भएर २ हजार ८५७.७५ बिन्दुमा रोकियो भने सेन्सेटिभ इन्डेक्स पनि ८.९४ अंकले वृद्धि भएर ५३०.८३ बिन्दुमा रोकियो । यस दिन २२४ धितोपत्रको १ करोड १८ लाख ३४ हजार २१६ कित्ता शेयर ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार रुपैयाँमा खरिद विक्री भयो ।

दृष्टिविहीनहरूले पहिचान गर्न सक्ने सिक्का

नेपाल राष्ट्र बैंकले यसै साता २ रुपैयाँ दरको सिक्का प्रचलनमा ल्याएको छ । साविककै आकारमा सुनौलो रंगमा टकमरी गरिएको साल २०७७ लेखिएका २ रुपैयाँ दरका सिक्का बजारमा पठाइएको हो ।

राष्ट्र बैंकले हालै मात्र १ र २ रुपैयाँ दरका सिक्का छापेको थियो । राष्ट्र बैंकका अनुसार शुक्रबार बजारमा आएको छ । सिक्काको वृत्ताकार घेराभित्र वरपर ६४ वठा थोप्ला छन् ।

सिक्काको माथिल्लो भागमा अंग्रेजीमा आरएस टु र तल्लो भागमा देवनागरीमा २ रुपैयाँ लेखिएको छ । सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ भने नक्साको ठिक माथिपट्टी दायाँतर्फ फरक क्षमता (दृष्टिविहीन)हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुईवटा थोप्ला रहेको छ ।

नेपाल बंगलादेश बैंकको प्रवर्द्धक सेयर खरिद–बिक्रीमा रोक


नेपाल बंगलादेश (एनबी) बैंकको विवादमा परेको प्रवर्द्धक सेयर खरिद–बिक्री प्रक्रिया तत्काललाई रोकिएको छ । जिल्ला अदालत काठमाडौंले एनबी बैंकमा रहेको बंगलादेशको आईएफआईसी बैंकको करिब ४२ प्रतिशत सेयर तत्कालका लागि बिक्री नगर्न आदेश दिएपछि उक्त प्रक्रिया तत्कालका लागि रोकिएको हो । न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले मंगलबार नै आईएफआईसी बैंकको सेयर खरिद–बिक्री रोक्न आदेश दिएका थिए तर लिखित आदेश भने बुधबार आएको हो ।

सनराइज बैंक सञ्चालक समिति अध्यक्ष व्यवसायी मोतिलाल दुगडले काठमाडौं जिल्ला अदालतमा २० चैत २०७७ मा आईएफआईसीसँग एनबी बैंकको संस्थापक सेयर खरिदका लागि सम्झौता गरिसकेको भए पनि उक्त सम्झौताविपरीत चौधरी समूहलाई सेयर बिक्री गरिएको भन्दै मुद्दा दायर गरेका थिए। दुगडको निवेदनको सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौंले विपक्षीहरुबाट ७ दिनभित्रमा लिखित जवाफ माग गर्न आदेश दिएको छ ।

कमल ज्ञवालीलाई थुनामुक्त गर्न अस्वीकार

सर्वोच्च अदालतले बैंकिङ कसुरको आरोपमा थुनामा रहेका किष्ट बैंकका तत्कालीन प्रबन्ध निर्देशक कमल ज्ञवालीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । ज्ञवालीलाई उच्च अदालत पाटनले गरेको ४ वर्षका लागि जेल सजायको फैसला सर्वोच्च अदालतले सदर गरेको थियो ।

उक्त आदेशको विरुद्धमा गत भदौ १८ गते ज्ञवालीले उच्च अदालत पाटनलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणका साथै बैंकिङ कसुरका विषयमा रिट दायर गरेका थिए । सोही रिटको सुनुवाई गर्दै बुधबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र मनोजकुमार शर्माको इजलासले बन्द्रीप्रत्यक्षीकरणको रिट खारेज गर्दै थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

क्षतिपूर्ती बीमालेख बैंक तथा वित्तीय संस्थालाई मात्रै बिक्री


बीमा समितिले बैंकरको क्षतिपूर्ती बीमालेख नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थालाई मात्रै बिक्री गर्न निर्देशन दिएको छ । समितिले निर्जीवन बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै बैंकरको क्षतिपूर्ति बीमालेख सम्बन्धी थप स्पष्ट पारेको हो ।

समितिले सहकारी तथा अन्य संस्थालाई बैंकरको क्षतिपूर्ती बीमालेख बिक्री गर्न नसकिने स्पष्ट पारेको हो । बीमा समितिका अनुसार निर्जीवन बीमा कम्पनीहरुले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थालाई मात्रै उक्त बीमालेख बिक्रि गर्न सक्नेछन् ।

डलर खाता खोल्न आग्रह

अर्थमन्त्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीलाई नेपालमा डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न र आफैँ लाभान्वित हुन आग्रह गरेका छन्।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) युके, अमेरिका, अष्ट्रेलियालगायत एनसिसीहरूद्वारा आयोजित एक वेबिनारलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले एनआरएनले विदेशी मुद्रामा नेपालमा खाता खोल्दा राष्ट्रमा लगानी र रोजगारी बढ्ने बताए ।

बैंकिङ कसुरमा पक्राउ

नेपाल प्रहरीले यससाता बैंकिङ कसुर मुद्दाका फरार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले उच्च अदालतले ४० लाख बिगो ठहर हुने फैसला गरेपछि फरार खोटाङ कपिलासगढी गाउँपालिका–९ वर्तन घर भई हाल जोरपाटी बस्दै आएका ३२ वर्षीय प्रकाश राईलाई दिउँसो पक्राउ गरेको हो । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले गत कात्तिक १० गते पक्राउ पुर्जी जारी गरे पनि उनी फरार रहँदै आएका थिए ।

यसैबीच बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी चक्रपथबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३ बाँसबारी बस्ने लमजुङ मर्स्याङदी गाउँपालिका–५ घर भएका ५२ वर्षीय प्रेम बहादुर गुरुङ रहेका छन् ।
उक्त मुद्दामा उच्च अदालत पाटन ललितपुरको २०७५ माघ २९ गतेको फैसलाले ५ दिन कैद र नगद १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चक्रपथबाट पक्राउ गरेको हो ।

विकटको दुःखः बैंक खाता खोल्न जाँदा बाटोमै मृत्यु

बैंक खाता खोल्न हिँडेकी ६० वर्षीया वृद्धाको बीच बाटोमै यसैसाता मृत्यु भएको छ । कालिकोट जिल्लाको पलाँता गाउँपालिका–३ पनेराकी टिउकी बमको बैंक जाने क्रममा बाटोमै मृत्यु भएको हो । पालिकाले बैंक खाता नभइ वृद्धभत्ता नदिने भनेपछि उनी खाता खोल्न करिब १० किलोमिटर टाढाको थिर्पु जाँदै थिइन् । सोही क्रममा वृद्धाको ज्यान गएको हो।
१० किलोमिटर हिँडेर खाता खोल्न जानु पर्ने भएपछि उनी बिहीबार बिहानै घरबाट हिँडेकी थिइन् । वृद्धावस्था र शारीरिक रुपमा पनि अस्वस्थ हुँदाहुँदै उनी घरबाट निस्केको स्थानीयले बताएका छन् । उनी पलाँताको थिर्पुमा रहेको नबिल बैंकमा खाता खोल्न आउँदै थिइन् ।

मेगा बैंककी सिइओलाई उत्कृष्ट महिला अवार्ड

मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेली उत्कृष्ट महिला अवार्ड २०२१ बाट सम्मानित भएकी छन् । काठमाडौंमा विशेष समारोहका बीच आयोजित प्रथम ‘एचआरएम नेपाल अवार्ड फर कर्पाेरेट एक्सिलेन्स २०२१’ मा सिइओ खुञ्जेलीलाई ‘बेस्ट फिमेल अवार्ड २०२१’ प्रदान गरिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बैंकिङ क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत सिइओ खुञ्जेलीलाई यो अवार्ड प्रदान गरिएको हो । अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै उनले आयोजकलाई धन्यवाद दिइन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]