बैंकमा राखेको पैसा २० वर्षसम्म लिन नआए ‘बैंकिङ विकास कोष’ मा जम्मा गरिने


Bankingkhabar /January 13, 2022


बैंकिङ खबर/ बचत गरेर वा अन्य कुनै प्रयोजनका लागि बैंकमा पैसा राखेर लामो समय बैंकको सम्पर्कमा नआए त्यस्ता ग्राहकहरुको पैसा बैंकिङ विकासमा खर्च गरिने भएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका नाममा सार्वजनिक सूचना जारी गर्दै त्यस्तो रकम निक्षेप ‘बैंकिङ विकास कोष’ मा जम्मा गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम २० वर्षसम्म लिन र बुझ्न नआएका वा दाबी नपरेका निक्षेप राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा गर्नुपर्ने सूचनामा उल्लेख छ । योसँगै बैंक तथा वित्तीय संस्थाले त्यस्तो निक्षेप राष्ट्र बैंकको बैंकिङ विकास कोषअन्तर्गत तोकिएको हिसाबमा जम्मा गर्नुपर्नेछ ।

यसरी बैंकिङ विकास कोषमा जम्मा गरिएको रकमको निक्षेपकर्तासम्बन्धी विस्तृत विवरण सुरक्षित राख्ने जिम्मेवारी रकम जम्मा गर्ने बैंक तथा वित्तीय संस्थाको हुनेछ । कोषमा जम्मा गरिएको रकममाथि निक्षेपकर्ता वा निक्षेपकर्ताको कानुनी हकवालाबाट सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी दाबी पर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रमाणसहित राष्ट्र बैंकमा दाबी पेस गर्नुपर्नेछ ।

आवश्यक कागजातसहित दाबी गर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई विनाब्याज रकम फिर्ता गरिने राष्ट्र बैंकले जनाएको छ । बैंकिङ विकास कोषमा जम्मा भएको रकम बैंकिङ विकासमा प्रयोग गरिने पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

सूचना-नं-०६-दावी-नपरेका-निक्षेप-सम्बन्धका-1

सोसिअल मेडिया