वैकल्पिक उर्जालाई प्रोत्साहन गर्ने क्रममा सरकारले सौर्य उर्जा कार्यक्रमलाई प्रभावकारी बनाउने योजना बनाएको छ । जसअनुसार, सरकारले सोलार जडानमा दिइने अनुदान बढाएको छ । सोलार जडान खर्च २० हजार र कर्जा सुविधा ९० प्रतिशत सम्म दिने घोषणा गरेको सरकारले यो वर्षको कार्यक्रममा २५ सय सोलार बितरण गर्ने लक्ष्य लिएको छ । व्याजमा पनि घरायसी प्रयोजनको लागि ७५ प्रतिशत र ब्यावसायिक प्रयोजनमा ५० प्रतिशत अनुदान पाइने व्यवस्था गरिएको छ । त्यस्तै, अघिल्लो वर्ष १५ हजार अनुदान पाउन ५०० वाट अर्थात २ लाख रुपैयाँ भन्दा बढी लगानी गर्नुपर्ने व्यवस्था रहेकोमा यो वर्ष २०० वाट अर्थात करिव ५० देखि ७५ हजार लगानी गर्दा २० हजार अनुदान पाउने व्यवस्था गरिएको छ ।
अनुदान कसरी लिने ?
सहरी सौर्य उर्जा कार्यक्रमबाट अनुदान पाउन ग्रहकले कम्तिमा २०० वाट क्षमताको सोलार जडान गर्नुपर्छ । अनुदान पाउने सोलार किन्नका लागि सरकारले ४ सय वटा सोलार कम्पनी तोकेको छ । तीमध्ये जुनसुकै कम्पनिबाट सोलार किने पनि उनिहरुले दिएको फर्म भरी बैकल्पिक उर्जामा पठाउनु पर्छ । त्यसपछि उनीहरुले अनुदान पाउछन् । यसका लागि खरिदकर्ता भने सहरी सौर्य उर्जा कार्यक्रम लागु भएको ठाउँ अर्थात बिद्युत लाइन जडान गरेको ब्यक्ति वा फर्म हुनैपर्छ ।
कर्जा कसरी लिने ?
कर्जा लिन घरायसी प्रयोजनका लागि कम्तिमा ५०० वाट क्षमताको सोलार जडान गर्नु पर्छ भने ब्यावसायिक प्रयोजनका लागि १५ सय वाट क्षमताको सोलार जडान गर्नु पर्छ । २०० वाट भनेको कति हो २०० वाट क्षमता भन्नाले कम्तिमा १ टिभि ५ घण्टा १० बत्ति ७ घण्टा १ ल्यापटप ३ घण्टा र १ राउटर ८ घण्टा सम्म चलाउन पुग्ने भन्ने हुन्छ। २०० वाट क्षमताको सोलार कम्पनी हेरी ५० देखि ७५ हजार रुपैयाँ सम्म लागत पर्छ। यसरी जडान गर्दा ७५ हजारमा सोलार किन्ने हो भने २० हजार अनुदान पाउँदा ५५ हजार रुपैयाँमा यी सबै सुविधा लिन सकिन्छ ।
कर्जाका लागि बैकल्पिक उर्जाले नेपाल ईन्भेस्टमेन्ट, बैंक एनएमबी बैंक, सिद्धार्थ बैंक, हिमालय बैंक र सिभिल बैंकसँगसम्झौता गरेको छ । यो कर्जा लिन सोलार जडान गर्ने ब्यक्तिको नागरिकताको प्रतिलिपि लालपुर्जाको प्रतिलिपि बिजुलिको बिल तिरेको रसिद र आयस्रोत खुल्ने कागज पत्र पेस गर्नु पर्छ । त्यसपछि भने बैंकले आयस्रोतलाई मुख्य आधार मानि बिनाधितो आवश्यक रकमको ९० प्रतिशत सम्म कर्जा तीन साता भित्र उपलब्ध गराउँछन् । कर्जा दिने वा नदिने भन्ने निर्णय भने बैंकले नै गर्छन् ।
सहरी सौर्य उर्जा कार्यक्रम सरकारले विद्युत सेवा पुगेका ठाउँमा सौर्य उर्जाको प्रयोगलाई बढवा दिइ लोडसेडिङ घटाउन सहयोग पुगोस भन्ने उद्देश्यले उर्जा प्रवद्र्धन कार्यक्रम सञ्चालनमा ल्याएको हो ।