Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

गभर्नर अधिकारी भन्छन्, ‘अर्थमन्त्रीसँग तादाम्यता छैन भन्नु गलत’

२०७८ पुष २५ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री जर्नादन शर्मासँग आफ्नो तादाम्यता छैन भन्नु गलत भएको बताएका छन् ।

लेखा समितिमा आइतबार आयोजित छलफलमा सांसद अमनलाल मोदीले अर्थमन्त्रीलाई असफल बनाउन राज्यको संयन्त्र नै लागिरहेको भन्ने गुनासो आइरहेको प्रसंग कोट्याउँदै अर्थसचिव मधुकुमार मरासिनी र गभर्नर महाप्रसाद अधिकारीलाई ‘तपाईंहरुको ट्युनिङ मिलिरहेको छैन हो ?’ प्रश्न गरेका थिए ।

सांसद मोदीले गरेको प्रश्नको जवाफ फर्काउँदै गभर्नर अधिकारीले भने, ‘हामी व्यूरोक्रेसीमा काम गर्नेले मान्छे, संस्था र प्रणालीमा आधारित रहेर काम गर्छौं, तादाम्यता छैन भन्नू गलत हो । हामी निरन्तर छलफल गरेर निर्णय लिन्छौं ।’

यस्तै गर्भनर अधिकारीले सेयर बजार नराम्रो क्षेत्र होइन, अर्थतन्त्रको महत्वपूर्ण अंग भएको बताएका थिए । उनले भने, ‘सेयर बजार स्थिर हुनुपर्छ। अहिले अर्थतन्त्र कुन अवस्थामा छ भन्ने कुरा सेयर बजारमार्फत झल्किन्छ ।’

सेयर बजार पुँजी निर्माणको आधार रहेको पनि गभर्नर अधिकारीको भनाइ छ । ‘अर्थतन्त्रका सूचक हेर्दा सेयर बजारलाई समेत हेर्ने गरिन्छ’, उनले भने ।

यता सांसद मोदीले विलासिताका सामानको उपयोग घटाउने हो भने सरकारी अधिकारीबाटै शुरुआत गर्न सुझाव दिएका थिए ।

‘गभर्नरले किन महँगो गाडी चढ्नु पर्छ ? मन्त्री, प्रधानमन्त्रीबाटै खर्च घटाउन शुरु गरे हुँदैन ?’ उनले भने । उनले अन्य मन्त्रालयले बजेट खर्च गरेनन् भनेर नियामक निकाय उम्कन नमिल्ने बताए । अर्कोतर्फ बजेट खर्च गर्दा आर्थिक पारदर्शितामा भने सम्झौता नगर्न उनको सुझाव थियो ।

बैंकहरुले पहुँचवालालाई मात्र ऋण दिने गरेको गुनासो आइरहेको भन्दै तरलता अभावको बेला पनि पहुँचवालाले सजिलै ऋण पाउने र पहुँच नहुनेले नपाउने अवस्था बारे गम्भीर हुन उनले सुझाव दिएका थिए ।