प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा भित्रिरहेको विप्रेषणबाट पुँजीगत आधार बनाउन सचेत र सार्थक पहल गर्नुपर्ने बताएका छन् । नेपाल आर्थिक सङ्घको रजतजयन्तीको उद्घाटन कार्यक्रममा उनले अहिले विप्रेषणलाई दिगो उत्पादनशील क्षेत्रमा लगानी गर्ने अवसर सिर्जना गर्नुपर्ने बताए । विप्रेषणलाई उत्पादनशील क्षेत्रमा लगाउन ढिला भइसकेको बताउँदै प्रधानमन्त्रीले भने – “विप्रेषणले मुलुकको अर्थतन्त्र धाने पनि विदेशमा नेपाली श्रमको माग घट्दै गएकाले विप्रेषणको वृद्धिदर पनि घट्दै गएको छ । यसैले विप्रेषण विदेशी मुद्रा आर्जनको दिगो स्रोतका रुपमा रहने कुरा शङ्कास्पद छ ।” पुँजी निर्माणका लागि युवाको श्रम, सीप र जोसजाँगर मुलुकको नवनिर्माणमा कसरी लगाउन सकिन्छ भन्नेतर्फ अर्थशास्त्रीको ध्यान जानुपर्ने बताउँदै उनले आर्थिक विकासका लागि अवलम्बन गर्नुपर्ने खाकामा बुद्धिजीवी तथा अर्थशास्त्रीले अर्थपूर्ण र व्यावहारिक योजना बनाउने आशा आफूले लिएको धारणा राखे ।
प्रधानमन्त्री दाहालले संविधानले सङ्घ, प्रदेश र स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र आर्थिक अधिकारसम्बन्धी विषयमा कानुन बनाउने, वार्षिक बजेट बनाउने, निर्णय गर्ने, नीति तथा योजना तयार गर्ने र कार्यान्वयन गर्ने अधिकारले राज्यका तहबीचको स्वायत्तताको प्रत्याभूति गरेको स्पष्ट पारे । उनले आर्थिक सङ्घले आयोजना गरेको ‘नयाँ संवैधानिक संरचनाअन्तर्गत अन्तरसरकारी वित्त सम्बन्ध’ विषयको गोष्ठीले शासकीय संरचनामा वित्तीय सम्बन्ध र व्यवहार कस्तो हुने र जनताले चाहेको विकासको प्रारुप आफैँले तयार गरी देशको शासन प्रणालीमा अपनत्वबोध गर्न सक्ने सुझावसहितको निष्कर्ष निकाल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सङ्घका अध्यक्ष प्रा डा विश्वम्भर प्याकुरेलले राजनीतिक दलले आर्थिक विषयलाई प्राथमिकतामा राखेर नीति निर्माण गरी प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । सङ्घका निवर्तमान अध्यक्ष प्रा डा मदनकुमार दाहालले आर्थिक सूचकाङ्कका आधारमा मुलुक नाजुक अवस्थामा रहेको उल्लेख गर्दै आर्थिक समृद्धिका लागि सरकारको विशेष ध्यान जानुपर्ने बताए ।
कार्यक्रममा सङ्घका पूर्व अध्यक्ष डा भेषबहादुर थापा, प्रा डा दाहाल, डा बद्रीप्रसाद श्रेष्ठ र महेशकुमार उपाध्यायलाई सम्मान गरिएको थियो । रासस