गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले उल्लेख्य रुपमा नाफा बढाए । बैंकहरुले आफ्नो व्यवसाय विस्तार गर्दै लगेको र चुक्ता पुँजी समेत बढाउँदै लगेकाले बैंकहरुको नाफामा पनि उल्लेख्य वृद्धि देखिएको छ । यसले बैंकहरु मजबुत बन्दै गएको संकेत गर्छ । बैंकहरुको बढ्दो मजबुतीले बैंकका सेयरधनीहरुको पनि राम्रो आम्दानी भएको छ ।
वाणिज्य बैंकका सेयरधनीले साढे २३ प्रतिशत आम्दानी गरेका छन् । यसको अर्थ वाणिज्य बैंकमा १ सय रुपैयाँको सेयर हाल्नेले गत वर्ष साढे २३ रुपैयाँ कमाए । यसलाई सेयरधनीको आम्दानी (रिटर्न अन इक्विटी (आरओई) भनिन्छ । कुल आम्दानीलाई सेयरधनीको ‘इक्विटी’ लाई भाग गरेर यस्तो अनुपात निकालिन्छ । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूको आरओई २३ दशमलव ५२ प्रतिशत छ । अघिल्लो वर्षको तुलनामा यो १ दशमलव ३० प्रतिशतले बढी हो । ०७२ असारमा वाणिज्य बैंकहरूको यस्तो अनुपात २२ दशमलव २२ प्रतिशत थियो ।
कुन बैंकको आरओई कति ?
सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरूमध्ये गत असारसम्म नेपाल बैंकको आरओई सबैभन्दा धेरै ७८ दशमलव ८ प्रतिशत छ । यस्तै, राष्ट्रिय वाणिज्य बैंक दोस्रोमा रहेको छ । गत असारमा यो बैंकको आरओई ३९ दशलमव ७ प्रतिशत छ । तेस्रो स्थान सानीमा बैंकले ओगटेको छ । गत आर्थिक वर्षमा यो बैंकको आरओई साढे ३० प्रतिशत छ । त्यसपछिको स्थान नबिल, सिद्धार्थ र सिटिजन्स बैंकले ओगटेका छन् । यी बैंकका आरओई क्रमशः २९ दशमलव ७ प्रतिशत, २९ दशमलव ६ प्रतिशत र २९ दशमलव ६ प्रतिशत छ । यस्तै, सिभिल, बैंक अफ काठमान्डु (तत्कालीन), सेञ्चुरी र लक्ष्मी बैंकको आरओई करिब साढे १३ प्रतिशतभन्दा कम छ । बैंक अफ काठमान्डु लुम्बीनी बैंकसँग मर्जर भएकाले गत वर्ष यो बैंकको आरओई घटेर वाणिज्य बैंकहरूमध्ये २७ औं नम्बरमा झरेको हो । अघिल्लो वर्ष यो सूचकमा यो बैंक २० औं नम्बरमा रहेको थियो । तीमध्ये पनि सिभिल र बैंक अफ काठमान्डुको आरओई क्रमशः १० दशमलव ६ प्रतिशत र १० दशलमव १ प्रतिशत छ ।
भारतीय नाकाबन्दी खुलेपछि प्रायः सबै बैंकले उल्लेख्य रूपमा कर्जा विस्तार गरेकाले सेयरधनीहरुको नाफा बढेको हो । बैंकहरूको व्यवसाय यसैअनुरूप बढदै गएमा आउँदा दिनमा आरओई झनै उच्च दरले बढ्ने विज्ञहरुको ठहर छ । बैंक तथा वित्तीय संस्थाहरुको क्षेत्रमा स्पष्ट नीति भएकाले सेयर बजारमा अन्य संस्थाभन्दा बैंक तथा वित्तीय संस्थाकै प्रभाव राम्रो हुने नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष प्रविणरमन पराजुलीको भनाई छ । उनका अनुसार, बैंक तथा वित्तीय संस्थाहरुमा आज लगानी गरेमा कति वर्षमा के आउँछ र कुन माध्यमबाट प्राप्त गर्न सकिन्छ, भन्ने विषयमा स्पष्ट रुपमा संस्थाकै वेभसाइटमा जानकारी पाउन सकिन्छ । उनी भन्छन्, “बैंक तथा वित्तीय संस्थाले २ वर्षको लागि त पुँजी योजना नै अघि सारेका हुन्छन् । त्यसमाथि, बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी संस्था नेपाल राष्ट्र बैंक एक बलियो संस्था छ र विगतको सेनारीयोलाई मुल्याङकन गर्दा पनि बैंक तथा वित्तीय संस्थाको सेयर किन्नेहरुले पछुताउनु नपर्ने देखिन्छ ।”