संस्थापक सेयर धितोमा राख्दा लगानीकर्ताले सम्बन्धित सेयर रहेको कम्पनीबाट पाउने ‘नो अब्जेक्सन लेटर’ निक्षेप संग्रहकर्ता (डीपी) र सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) लाई पनि पेश गराउनु पर्ने भएको छ । कतिपय नियामक निकाय नभएका संस्थाका संस्थापकले ‘नो अब्जेक्सन लेटर’ पेश नगरेको भन्दै सीडीएससीले यस्तो निर्देशन जारी गरेको हो ।
डिम्याटमा रहेको सेयर धितोमा राख्दा खातामा नै ‘प्लेज्ड’ (कर्जा भुक्तानी नहुँदासम्म किनबेच गर्न नसकिने गरि खातामा रोक्का) हुन्छ । कागजी सेयर डिम्याट नगरी बिक्री गर्न नपाइने व्यवस्था पनि छ । त्यस्तै, बैंकमा धितोमा रहेको कागजी सेयर समेत डिम्याट गर्न सकिन्छ । तर यसको लागि धितो लिने संस्थाबाट स्वीकृती लिनुपर्ने व्यवस्था छ । त्यस्तै लगानीकर्ताले सम्बन्धित सेयर जारी गर्ने कम्पनीबाट ‘नो अब्जेक्सन लेटर’ पनि लिनु पर्छ ।
सेयर बिक्री गरेको भन्दा पुरा सेयर नभएमा कारोबारको २० प्रतिशत रकम बिक्रीकर्ता राफसाफ सदस्य (ब्रोकर) कट्टा गरेर खरिद कर्ता ब्रोकरकोमा जम्मा गर्नुपर्ने व्यवस्था भएकोले डीपीले निर्देशन पुर्जी समेत तत्काल प्रविष्टि गर्न निर्देशन दिएको छ । निक्षेप सदस्यको गल्तिले ग्राहकहरु क्लोज आउट हुन पर्ने अवस्था आएमा डिपीले नै क्षती व्यहोर्न पर्ने भन्दै परिपत्र गरेको सीडीएससीले जनाएको छ ।