साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्जमा झन्डै २ अर्ब रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ । चार घण्टाको अवधिमा १ सय ४४ वटा कम्पनीको २२ लाख ४६ हजार तीन सय तेह्र कित्ता सेयर १० हजार सात सय ७५ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब ९२ करोड १६ लाख ११ हजार १ सय ६९ रुपैयाँ बराबरको कारोबार भएको हो । कारोबार रकम आइतबारको तुलनामा बढेको हो । आइतबार झन्डै १ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
कुल कारोबारमध्ये, बैंकिङ समूहको मात्रै १ अर्ब ३१ करोड रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ । विकास बैंकको २३ करोड ८६ लाख रुपैयाभन्दा बढीको सेयर कारोबारम भएको छ भने फाइनान्स समूहको १ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसले बैंक तथा फाइनान्स कम्पनीहरुप्रति लगानीकर्ताको आकर्षण बढिरहेको देखिन्छ । उत्पादनमूलक समूहको सबैभन्दा थोरै ४ लाख रुपैयाँको पुँजी परिचालन भएको छ ।
कम्पनीगत आधारमा हेर्दा, नेपाल इन्भेष्टमेन्ट बैंकको मात्रै झन्डै साढे २६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने बैंकको प्रोमोटर सेयर ७ करोड १३ लाख रुपैयाँभन्दा माथिको भएको छ । एनबी बैंकको १८ करोड र सिद्धार्थ बैंकको १० करोडमाथिको सेयर कारोबार भएको छ । सनराइज बैंकको झन्डै सवा ९ करोडको कारोबार हुँदा एभरेष्ट बैंकको कारोबारले पौने ९ करोड नाघेको छ भने एनएमबी बैंकको झन्डै पौने ८ करोड रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ । माछापूछ्रे बैंक, नेपाल बैंक, ग्लोबल आईएमई बैंक लगायतले ५ करोडभन्दा बढीको सेयर कारोबार गरेका छन् । यसरी धेरै कारोबार हुने कम्पनीको अग्र १० स्थान वाणिज्य बैंकहरुले ओगट्नुले लगानीकर्ताहरुो आकर्षण बैंकिङ क्षेत्रभित्र पनि वाणिज्य बैंकहरुमा बढि रहेको देखिन्छ ।
कारोबार रकममा वाणिज्य बैंकहरु अगाडि रहेपनि कमाउने कम्पनीहरुमा प्रायः जसो विकास बैंकहरु अगाडि छन् । सोमबार सबैभन्दा धेरै सेन्चुरी कमर्सियल बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् भने सांग्रिला डेभलपमेन्ट बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, राप्तीभेरी विकास बैंक, कसमस डेभलपमेन्ट बैंक र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले क्रमशः ९.९६, ९.९५, ९.९०, ९.५९ र ९.२४ प्रतिशतका दरले कमाएका छन् । प्रोग्रेसिभ फाइनान्स, सेती फाइनान्स, गुहेश्वरी मर्चेन्ट, मेगा बैंक लगायतका लगानीकर्ताले पनि धेरै कमाएका छन् ।
४२ वटा कम्पनीका लगानीकर्ताले अधिकतम ७.७३ प्रतिशतदेखि न्युनतम ०.१४ प्रतिशतसम्म गुमाएका छन् । सबैभन्दा धेरै बोटलर्स नेपालका लगानीकर्ताले गुमाएका छन् भने सबैभन्दा थोरै शाइन रेसुंगा डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । त्यस्तै, सुर्या लाइफ इन्स्योरेन्स र ललितपूर फाइनान्सका लगानीकर्ताले ३ प्रतिशतभन्दा बढीले गुमाउँदा अरुण भ्याली हाइड्रोपावर, प्राइम लाइफ इन्स्योरेन्स, टुरिजम डेभलपमेन्ट बैंक, एभरेष्ट बैंक(सीपी), कालिका माइक्रोक्रेडिट, सिटिजन्स बैंक, अल्पाइन डेभलपमेन्ट बैंक लगायतले २ प्रतिशतभन्दा बढीले गुमाएका छन् ।
बीमा र उत्पादनमूलकबाहेक सबै समूह उकालो लागेपछि समग्र बजार पनि दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १९.०७ अंकले बढेर १८३८.९० अंकमा पुगेको हो । होटल र बैंकिङ समूहले सोमबारको बजार बढाएका छन् । होटल ४९.१६ अंक र बैंकिङ समूह २६.७६ अंकले उकालो लागेको छ । त्यस्तै, विकास बैंक ११.४२ अंकले बढ्दा जलविद्युत् ७.९८ अंकले बढेको छ भने फाइनान्स समूह ६.१८ अंकले बढेको छ । बीमा र उत्पादनमूलक क्रमशः ०.३८ र ३३.६९ अंकले घटेका छन् । अन्य समूह भने १०.१२ अंकले बढेको छ ।



