Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अर्थतन्त्र पुनरुत्थानको लागि कर्जाको माग बढ्दा तरलता अभाव : राष्ट्र बैंक

२०७८ पुष ७ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले अर्थतन्त्र पुनरुत्थानमा गएकै कारण तरलता अभाव भएको जनाएको छ । चालु आर्थिक वर्षको अन्तिम दुई महिनायता वित्तीय प्रणालीमा तरलता (लगानीयोग्य रकम) अभाव चुलिन थालेको छ । अनिवार्य नगद अनुपात (सीआरआर) कायम गर्ने पैसा समेत हुन छाडेपछि बैंकहरुले सापटी लिएर चलाउन थालेका छन् ।

सोमबार पत्रकारसँगको अन्तरक्रियामा राष्ट्र बैंकले अर्थतन्त्र पुनरुत्थानको लागि कर्जाको माग बढेको र सो अनुसार आयात भएको जनाएको छ । पत्रकार सम्मेलनमा राष्ट्र बैंकका अनुसन्धान विभागका प्रमुख डा.प्रकाशकुमार श्रेष्ठले आर्थिक क्रियाकलाप बढेपनि मूल्यबृद्धिदर निर्धारण गरेको लक्ष्यभन्दा कम हुने बताए ।

आयातलाई निरुत्साहन गर्न राष्ट्र बैंकले नीतिले सहयोग हुने अपेक्षा गर्न सकिने उनको भनाइ छ । कार्यपत्र प्रस्तुत गदैं डा.श्रेष्ठले ब्याजदर बढेको कारण निक्षेप बढ्ने सम्भावना रहेको बताए । ५ महिनामा १ खर्ब ५ अर्बले निक्षेप बढ्दा कर्जा ४ खर्ब ३५ अर्बले कर्जा बढेको छ । पुस लागेपछि भने कर्जाको तुलनामा निक्षेप बढेको जानकारी राष्ट्र बैंकले दिएको छ । पुस १ देखि ५ गतेसम्ममा १६.८ अर्ब निक्षेप बढ्दा कर्जा ४ अर्बले बढेको छ ।

श्रेष्ठले चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा कर्जाको भारित औसत ब्याजदर ९ प्रतिशतको हाराहारीमा रहेको र यो अझै बढ्ने दाबी गरे । ‘आर्थिक वर्ष २०७५-७६ लाई हेर्दा भारित औसत ब्याजदर १२.५ प्रतिशतमा पुगेको रहेछ’, श्रेष्ठले भने, ‘यो वर्ष अझै बढ्ने देखिन्छ । तर, १० प्रतिशतभन्दा माथि जाँदैन ।’

श्रेष्ठले चालु आर्थिक वर्षको हालसम्मको बैंकको औसत आधारदर ८ प्रतिशत नजिक पुगेको र यो अघिल्ला केही आर्थिक वर्षको भन्दा कमै रहेको बताए । अन्तरबैंक ब्याजदर गत साउन अन्तिमदेखि बढ्न थालेर हाल ५ प्रतिशत नजिक पुगेको उल्लेख गर्दै उनले यो अवस्था पनि अत्तालिने खाल्को नरहेको दाबी गरे । उदाहरण दिँदै उनले भने, ‘आर्थिक वर्ष २०७५-७६ अन्तरबैंक ब्याजदर ७ प्रतिशतसम्म पुगेको थियो, आर्थिक वर्ष २०६७-६८ मा ८ प्रतिशतभन्दा माथि रहेको थियो, अझै आर्थिक वर्ष २०५३-५४ मा त ९.५ प्रतिशत थियो ।’

श्रेष्ठले निक्षेपको ब्याजदर पहिलाभन्दा धेरै तल रहेको बताए । गत पुस ६ गतेसम्ममा ११६ अर्ब निक्षेप संकलन भई ४३८ अर्ब कर्जा परिचालन भएको र यही असन्तुलन अर्थतन्त्रको अहिलेको मुख्य समस्या भएको उनले बताए ।

पुसको ६ दिनमा २७ अर्ब निक्षेप संकलन भएको र यो अवधिमा ७ अर्ब रुपैयाँमात्रै कर्जा गएकोले यस्तो संकेतको रुपमा बुझ्नुपर्ने श्रेष्ठको दाबी छ ।

यसैगरी श्रेष्ठले पछिल्लो समयमा मुद्रास्फीति पनि बढ्दो क्रममा रहेको र आगामी दिनमा यसमा अझै दबाब पर्ने सम्भावना औँल्याए । उनले भने, ‘अहिलेको अमेरिकाको मुद्रास्फीति १९८२ पछिकै उच्च ६.८ प्रतिशत रहेको छ । यस्तै पाकिस्तानको ११.५ प्रतिशत, अर्जेन्टिनाको ५१.२ प्रतिशत, टर्कीको २१.३ प्रतिशत छ । यी देशभन्दा हामी धेरै सहज अवस्थामा छौँ ।’

श्रेष्ठले चालु आर्थिक वर्षको सुरुआतदेखि नै आयात र व्यापार घाटा बढिरहेको उल्लेख गरे । मंसिरमा प्रतिदिन ६.५ अर्ब रुपैयाँको औसत आयात रहेकोमा पुसको पहिलो सातासम्मको अवस्था हेर्दा त्यो घटेर सवा ६ अर्ब रुपैयाँमा रहेको र यो डाउन ट्रेन्डको संकेत रहेको उनले बताए ।

Ad