Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकद्वारा बहुमूल्य विलासी सामानको आयातमा कडाइ, कुन सामानमा कस्ताे नियम?

२०७८ पुष ६ गते

बैंकिङ खबर।

नेपाल राष्ट्र बैंकले सवारीसाधनलगायतका विलासी सामानका साथै सुनचाँदी जस्ता बहुमुल्य वस्तु आयातलाई कडाइ गरेको छ। सोमबार बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै राष्ट्र बैंकले आयात निरुत्साहित हुने व्यवस्था गरेको हो।

निर्देशन अनुसार यी सामानहरु आयात गर्नका लागि आयातकर्ताले प्रतितपत्र खोल्दा नै शतप्रतिशत मार्जिन रकम बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।

निर्देशनमा चिनी/चकलेट, ल्वाङ, मिनरल वाटर, मदिरा/भिनागर, चुरोट/सुर्तिजन्य वस्तु, कस्मेटिक सामान, काठका सामानहरू, जुत्ता चप्पल, छाता र लठ्ठि, मार्वल, सिमेन्ट, प्लास्टर र सेरामिक वस्तु तथा सुनचाँदीलगायतका बहुमुल्य सामान आयात निरुत्साहित गर्न खोजिएको छ।

यसैगरी विद्युतिय बाहेकका गाडी र मोटरसाइकल आयातको लागि समेत ५० प्रतिशत नगद मार्जिन राख्न निर्देशन गरेको छ। उक्त मार्जिन रकमका लागि बैंकहरुले ऋण दिन नपाउने र मार्जिन वापत जम्मा भएको रकममा व्याजसमेत दिन नपाइने राष्ट्र बैंकको निर्देशनमा छ।

उच्च व्यापारघाटा र रेमिट्यान्स घट्दा वैदेशिक मुद्रा संचितिमा समेत दवाव बढ्दै गएपछि राष्ट्र बैंकले आयातमा कडाइ गरेको हो। यसअघि पनि राष्ट्र बैंकले चाँदी आयात कडाइ गर्न सीमा तोकेको थियो। आयातलाई निरुत्साहित गर्नका लागि राष्ट्र बैंकले कडाइ गरेको हो।

Ad