Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

देशमा विदेशी मुद्रा सञ्चिती खतरा नजिक, आयात धान्ने कसरी ?

२०७८ पुष ५ गते

बैंकिङ खबर । उच्च व्यापारघाटा र रेमिट्यान्स आप्रवाह घट्दै गएपछि देशको विदेशी मुद्रा सञ्चितीमा दबाब बढ्दै गएको छ। विदेशी मुद्रा सञ्चिती घट्दै जाँदा आयात धान्नै समस्या हुन थालेको छ। नेपाल राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितीबाट आर्थिक वर्ष २०७८/७९ को चार महिनाको आयातलाई आधार मान्दा ७.९ महिनाको वस्तु आयात र ७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

अर्थशास्त्री चन्द्रमणि अधिकारी देशको विनियम सञ्चिती खतरा नजिक पुगेको बताउँछन्। ‘६ महिनाभन्दा कमको आयात धान्ने मुद्रा सञ्चिती खतराको सूचक हो,’ उनले भने, ‘हाम्रो अर्थतन्त्रको सूचकले खतराको संकेत गरेकाले बेलैमा सचेत हुन आवश्यक छ।’ मुद्रा सञ्चिती घट्दै गएपछि नेपाल राष्ट्र बैंकले चाँदी आयातमा कडाइ गरिसकेको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार असार मसान्त २०७८ मा १३ खर्ब ९९ अर्ब तीन करोड रुपैयाँ बराबर रहेको कूल विदेशी विनिमय सञ्चितीमा ११ प्रतिशतले कमी आई कार्तिक मसान्तमा १२ खर्ब ४४ अर्ब ८५ करोड कायम भएको छ। कोभिड महामारीका कारण आयात कम हुँदा गत वर्ष पुसमा विदेशी विनिमय सञ्चिती १५ खर्ब नाघेको थियो। यस्तो सञ्चिती असार मसान्तमा ११ अर्ब ७५ करोड अमेरिकी डलर रहेकोमा कार्तिक मसान्तमा १०.९ प्रतिशतले कमी आएर १० अर्ब ४७ करोड अमेरिकी डलर कायम भएको छ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिती ०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा ०७८ कार्तिक मसान्तमा ११.० प्रतिशतले कमी आई ११ खर्ब ७ अर्ब ४७ करोड कायम भएको छ। बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति ०७८ असार मसान्तमा एक खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा ०७८ कार्तिक मसान्तमा ११ प्रतिशतले कमी आई एक खर्ब ३७ अर्ब ३८ करोड कायम भएको छ। कार्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितीमा भारतीय मुद्राको अंश २६.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। कार्तिक ०७८ मा रेमिट्यान्स ७ प्रतिशतले घट्नुका साथै व्यापारघाटा भने ५६ प्रतिशतले वृद्धि भएको छ।

Ad