
के थियो प्रचण्डको भनाई ?

प्रचण्डले पूँजी बजारलाई साम्राज्यवादको विकसित रुप भएको टिप्पणी गरेका थिए । उनले पछिल्लो समय औद्योगिक क्षेत्रमा लगाउनु पर्ने पूँजीको लगानी पूँजी बजारमा हुनु साम्राज्यवादको विकसित रुप भएको टिप्पणी गरे ।
विश्वभर नै पूँजीको लगानी धितोपत्र, सट्टा बजार, विश्व बैंक, आईएमएफ र एसियाली बैकहरुमा हुने गरेको बताउँदै प्रचण्डले यसरी विश्वको पैसा सिमित पूँजीपतिहरुले हातमा लिएर ८० प्रतिशत जनतालाई भोको राख्ने प्रणाली पूँजीबजार रहेको उल्लेख गरेका थिए । यस्तै, उनले पूँजी बजारको विषयमा पार्टीको दस्तावेजमा नै समावेश गराउने योजना रहेको जानकारी दिएका थिए ।
शेयर बजारमा उच्च अंकको गिरावट

प्रचण्डले पुँजी बजारको विपक्षमा भाषण गरेको भोलीपल्ट आइतबार नेपालको सेयरबजारमा गिरावट आएको थियो भने सोमबार पनि उच्च अंकले गिरावट आयो । आइतबार नेप्से ८८.७० अंकले घटेर २३६१.२७ को विन्दुमा बन्द भएको थियो ।
सोमबार पनि उच्च अंकले शेयर बजारमा गिरावट आयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से परिसूचक ७९.५७ अंकले ओरालो लागेर दुई हजार २८१.६७ अंकमा आरालो लागेको थियो । हालसम्मकै कम बिन्दुमा आइपुगेको हो । सोमबार नेप्से झण्डै ११०० अंकले घट्यो भने बजार पूँजीकरण रु.१२ खर्बले घट्यो ।
नेप्सेका अनुसार सोमबार ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.४७ अंकले घटेर ४३७.५९ मा ओर्लिएको छ ।
कूल २३३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता शेयर रु.तीन अर्ब ९९ करोड ५६ लाख चार हजार १७८ मूल्यमा खरिद बिक्री भए । यसरी बजार उच्च अंकमा घट्नुमा प्रचण्डनै मुख्य कारक रहेको सेयर बजार वृतमा चर्चा चलेको छ ।
प्रचण्डले सच्याए आफ्नो भनाई
आफ्नो भनाइमा चर्को आलोचना हुन थालेपछि सोमबार प्रचण्डले आफ्नो भनाई सच्याउँदै आफ्नो पार्टी शेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
शेयर बजार विरोधी वक्तव्य आएको भन्दै प्रश्न उठेपछि अध्यक्ष प्रचण्डले आफूले सैद्धान्तिक रुपमा राखेको विषयमा उत्तिकै प्रतिबद्ध रहेको र त्यो एकदमै सही भएको दोहो¥याए । अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले भने, ‘अध्यक्ष प्रचण्डले मन्तव्यका क्रममा राखेको सैद्धान्तिक विषय एकदम सही छ ।’ अहिलेको नेपाली पूँजी-शेयर बजारमा लगानीकर्ताको लगानी संरक्षण गर्न, त्यसमा अझ बढी साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको पनि उनले बताए । स्वकीय सचिव मल्लले साना लगानीकर्ताको हित र उनीहरुको लगानीको सुरक्षाका लागि पार्टीले सचेत पहल र प्रयत्न गर्ने स्पष्ट पारे ।
‘नो भोट’ को कार्ड अभियान

सेयर बजारमा भारी मात्रामा गिरावट आउन थालेपछि लगानीकर्ताले यतिबेला ‘नो भोट’ को कार्ड फाल्न थालेका छन् ।
लगानीकर्ता एकजुट भएर बजार विरोधीलाई ‘नो भोट’ अर्थात् आगामी निर्वाचनमा मत नदिने भन्दै सामाजिक सञ्जालमा विरोध गरिरहेका छन् ।
लगानीकर्ताले यतिबेला पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा, हालका अर्थमन्त्री जनार्दन शर्मा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री र गभर्नर महाप्रसाद अधिकारी विरुद्ध सामाजिक सञ्जालमा अभियान चलाएका छन् ।
प्रचण्डसँग गम्भीर छलफल गर्छुः नेपाल
यता नेपाल पुँजीबजार लगानीकर्ता संघले नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाललाई भेटेका छन् ।
प्रचण्डको आलोचना भइरहेको बेला संघले सत्ता साझेदार दल नेकपा एसका अध्यक्षलाई भेटेका हुन् । भेटमा अध्यक्ष नेपालले बजारको विषयमा प्रचण्डले जानेर हो वा अन्जानमा बोलेको हो त्यस विषयमा आफूले कुरा गर्ने बताएका छन् ।

संघकी अध्यक्ष राधा पोखरेलका अनुसार भेटमा अध्यक्ष नेपालले शेयर लगानीकर्ताको अहितमा हुने कुनै खाले काम हुनुहुँदैन भन्दै यस विषयमा म प्रचण्डसँग गम्भीर रुपमा छलफल गर्ने बताएका थिए । पोखरेलका अनुसार अध्यक्ष नेपालले बजारको विषयमा आफू गम्भीर रुपमा लाग्ने र अहिले लगानीकर्ताले भोगिरहेको समस्या समाधान गर्न प्रयत्न गर्ने बताए ।
भेटमा संघले अहिले सरकारको नीति र केही व्यक्तिको भनाईको कारण पनि बजारमा गिरावट आएको जानकारी गराएको छ ।
भेटमा संघले राष्ट्र बैंकले मौद्रिक नीतिबाट लागू भएको ४÷१२ को सिमा खारेज गर्नुपर्ने, धितोपत्र बोर्ड र नेप्सेमा तत्काल अध्यक्ष र सिइओ नियुक्त गर्न, बैंकका सहायक कम्पनीलाई ब्रोकरको लाईसेन्स दिन, ब्रोकर मार्फत मार्जिन सेवा तत्काल शुरु गर्न, बजारको हितमा हुने अभिव्यक्ति दिन सुझाव दिएको छ ।
यता नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर बजारमा बुझेर मात्रै लगानी गर्नुपर्ने बताएका छन् । गएको बिहीबार प्रतिनिधिसभा अन्तर्गत अर्थसमितिको बैठकमा गभर्नर अधिकारीले कम्पनीको वित्तीय विवरण हेरेर मात्रै लगानी गर्न लगानीकर्तालाई आग्रह गरे । सेयर बजारलाई नियमन गर्न राष्ट्र बैंकले सेबोनलाई निर्देशन दिएको पनि उनको भनाइ छ ।
शेयर बजारमैत्री नीति तय गर्न सरकार तयारः अर्थमन्त्री

यता अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारमैत्री नीति तय गर्न सरकार तयार रहेको बताएका छन् । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले भने, ‘शेयर बजारमैत्री नीति तय गर्न, संस्थागत संरचनाको परिवर्तन र पारदर्शीतालगायतका विषयमा स्पष्ट पार्न सरकार तयार छ । अर्थमन्त्रीले शेयर बजार बढाउने घटाउने गर्दैन, लगानीकर्ता आफै जिम्मेवार भएर लगानी गर्नुस् ।’
पछिल्लो समय शेयर बजारमा आएको गिरावटको दोष आफूमाथि लगाएको भन्दै उनले विभिन्न प्रलोभनमा पारेर सीमित व्यक्तिले लाभ उठाएको र शेयर बजार घट्नुको आरोप आफूलाई लगाइएको बताए । सीमित व्यक्तिको चलखेलमा बजार घटाउने अनि मन्त्रीलाई गाली गर्ने विषय आफैमा नमिल्ने उनको भनाइ छ । संस्थागत सुधारका लागि मन्त्रालयले काम गर्दै आएको उल्लेख गर्दै उनले त्यसका लागि आफूले बारम्बार प्रतिबद्धता जनाएको र त्यसको नतिजा पनि केही समयमै देखिने बताए ।
अर्थमन्त्रीले लाभग्राहीलाई अनावश्यक दुःख नहोस् भनेर सम्बन्धित संस्थालाई थप जिम्मेवार बनाउन आफू लागिपरेको र लगानीकर्ताको हित बाहेक सरकारको अरु कुनै चाहनासमेत नभएको उल्लेख गरे । बजारमा भित्री कारोबार गर्नेलाई कारबाहीको दायरमा ल्याउन र बजारको विकेन्द्रिकरण गर्ने प्रयास जारी रहेको भन्दै उनले अर्थमन्त्रीलाई दोष दिएर मात्रै समस्याको समाधान नहुने स्पष्ट पारे ।