
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेलले सेयर बजारलाई जुवा वा साम्राज्यवादको साधन भन्नु गलत भएको बताएका छन् । फेसबुक मार्फत धारणा राख्दै पौडेलले शेयर बजार मानिसको सम्पत्ति विविधिकरण गर्ने एक माध्यम भएको बताएका छन् । यस्तै उनले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लिएको नीतिसँग आफू असहमत रहेको पनि बताएका छन् ।
यस्तो छ डा. पौडेलले फेसबुकमा राखेको धारणा
मलाई धेरै जनाले किन शेयर बजार बारे नबोलेको भनेर म्यासेज पठाउनुभएको छ । तपाईंहरु सबैको जवाफ दिन नसकेपनि जानकारीको लागि केही कुरा राख्न चाहन्छु । म राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएपछि गभर्नर महाप्रसाद अधिकारीजीसँगको पहिलो भेटमा मैले सरकार अस्थिरताको पक्षमा छैन । राष्ट्र बैंकको कोर म्यान्डेट पनि आर्थिक स्थिरता राख्नु नै हो भन्ने मेरो विश्वास छ भनेको थिए ।
व्याजदर तथा पुँजीबजारमा पनि स्थिरता नै रहोस् भन्ने मेरो चाहना छ । मैले सम्माननीय प्रधानमन्त्रीज्यूसँग पनि यसैबाट देशको र जनताको राम्रो हुन्छ भनेको थिए । मौद्रिक नीतिहरुमा सरकारले हस्तक्षेप नगर्ने हाम्रो परम्परा हो । मैले ४÷१२ र सीसीडी रेसियो खारेजी गर्ने नियम आएपछि दोश्रो सीसीडी रेसियो खारेजी गर्नेमा म अझै कन्भिक्स छैन भन्ने कुरा सरोकारवालाहरु गभर्नर, अर्थमन्त्रीसँग राखेको पनि छु ।
शेयर बजारमा साना लगानिकर्ताहरुको ऋणमा पहुँच पुगोस्, एकातिर केही मानिसले बैंकको पैसा शेयर बजारमा लगेर करोडौं अरबौं कमाउने र अर्कोतिर साना लगानीकर्ताहरु भने ठगिने स्थिति नआओस् भन्नेमा मेरो जोड छ । ४-१२ को नीति आएपछि कति साधारण लगानीकर्ताले ऋण पाए । उक्त नीति कत्तिको प्रभावशाली भयो भन्नेबारेमा हामी अझै तथ्यांकको प्रतिक्षामा छौं । तर आफ्नो व्यक्तिगत सहमति वा असहमती जे भएपनि राष्ट्रबैंक लामो अनुभव भएको संस्था भएकोले त्यहाँका साथीहरुको जजमेन्टलाई बेनिफिट अफ डाउट दिनुपर्छ भन्ने मेरो सोचाइ भने छ ।
शेयर बजार मानिसको सम्पत्ति विविधिकरण गर्ने एक माध्यम हो । यसले तपाईंको सम्पत्तिको कुल मुल्यको आर्थिक स्थिरता ल्याउन मद्धत गर्छ । उदाहरणको लागि तपाईसँग रु.२० लाख छ । तपाईंले त्यसलाई बैंकमा राख्नुभयो भने १२ प्रतिशत मुद्धती ब्याजदर हुँदा महिनाको लगभग २० हजार पाउनुहुन्छ । तर बैंकको व्याजदर घटेर ६ प्रतिशत भयो भने तपाईंको महिनाको आम्दानी १० हजारमा झर्छ । तर यदी तपाईंले रु.१० लाख बैंकमा र रु.१० लाख शेयरमा राख्नुभएको छ भने बैंकको व्याजदर घट्दा शेयरको भाउ बढ्ने हुनाले तपाईंको आम्दानीमा खासै धेरै असर पर्दैन ।
केही मानिसले सम्पत्ति वर्षमै दुई तीन गुना गरेपनि शेयर बजार मूलतः सम्पत्तिको मुल्यको स्थिरताको लागि प्रयोग भयो भने राम्रो हुन्छ । त्यसबाहेक जग्गामा लगानी गर्दा तपाईंलाई कुनै बेला रु.५ हजार चाहियो भने जग्गानै बेच्नुपर्ने हुनसक्छ । जबकी शेयर बजारबाट ५ हजार बराबरको शेयर बेचे पनि हुन्छ । यस्ता विभिन्न कारणले शेयर बजार आफ्नो सम्पत्ति सुरक्षित राख्ने एक वैकल्पिक माध्यम हो । यसलाई जुवा वा कुनै साम्राज्यवादको साधन भन्नु गलत हो ।
राष्ट्र बैंक र अर्थमंत्रालयका जिम्मेवार नेतृत्वहरुलाई मेरो सल्लाह सँधै पुँजिबजारको बारेमा कम बोल्ने र व्याजदर सकेसम्म स्थिर बनाउन कोसिस गर्ने गर्नुहोस् भन्ने नै छ । धेरै जनताको पैसा लगानी भएको क्षेत्रको वारेमा जथाभावी बोल्दा वा काम गर्दा त्यसैले अरुको सम्पत्तिप्रति हाम्रो गैरजिम्मेवारीपन मात्र देखाउँछ । बजारमा धेरै खालका मान्छे छन् । आफु अनुकुल हुने हल्ला फैलाउने जस्ता काम धेरैले गर्छन् । यस्तो अवस्थामा साना लगानिकर्तालाई बचाउनु जरुरी छ । नेपाली कांग्रेसको एउटा नीति छ । समग्र समृद्धि बढाउने र असमानता घटाउने ।
यो २००८ सालको नेपालको प्रथम बजेटमै लेखिएको नीति हो । मैले योजना आयोगको उपाध्यक्षको हैसियतमा बेलाबेलामा सम्माननीय प्रधानमन्त्रीज्यूलाई हाम्रो अर्थतन्त्रको स्थितिको बारेमा पनि रिपोर्ट गर्ने गर्छु । हाम्रा हरेक नीति नियमले जस्तै पुँजीबजारले पनि समग्र समृद्धि बढाउने र धनी र गरिबको बीचको असमानता घटाउने काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ । सरकार त्यसैले पुँजीबजारमा रहेका लाखौं साना लगानिकर्ताहरुको सम्पत्ति, हक र हित सुरक्षित होस् । उनीहरुलाई सजिलोसँग ट्रेडिङ गर्नसक्ने प्रविधि त्यहाँ होस्, साना साना ऋणहरुमा उनीहरुको पहुँच पुग्नसक्ने स्थिति होस् भन्नेमा नै लाग्ने छ भन्नेकुरामा म विश्वास पनि दिलाउन चाहन्छु ।
अन्तमा, २ वर्षको कोभिडको मन्दिको वेलामा आयात कम भएको थियो र अहिले केही बढेको छ । वाणिज्य बैंकहरुले अनुशासित भएर ऋण प्रवाह गर्नुपर्छ र उनीहरु सरकारको पुँजीगत खर्चको ट्रेण्ड हेरेर पनि चल्नुपर्छ । अब यत्रो वर्षको तथ्यांक हेर्ने हो भने सरकारले कुन कुन महिनामा कति खर्च गर्छ भन्नेकुरा बैंकहरुको लागि नौलो नहुनुपर्ने हो । पैसा धेरै हुँदा एक महिनापछि के हुन्छ भनेर आँकलन नगरी जथाभावी ऋण प्रवाह गर्ने हो भने एक महिना पछि समस्या आउनु स्वाभाविक हो । मलाई के विश्वास छ भने राष्ट्रबैंक, बैंकहरु र अर्थमंत्रालय मिलेर छिट्टै नै अहिलेका अप्ठेराहरु पार लगाउनेछन् ।