बैंकिङ खबर । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले राष्ट्र बैंकद्धारा तोकेको समयसिमाभित्र बैंक मर्जर गर्न असफल भएका छन् । राष्ट्र बैंकले मर्जरको बारेमा निर्णय गर्नको लागि दुवै बैंकलाई आज मंसीर १९ गतेसम्मको समय दिएको थियो । उनीहरुले नेपाल राष्ट्र बैंकले तोकेको समयमा मर्जरको निर्णय गर्न सकेनन् । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले मर्जर गर्न नसकेपछि राष्ट्र बैंकसमक्ष फेरि थप समय माग गरेका हुन् । यस अघि पनि राष्ट्र बैंकले मर्जरका लागि समय थप गरिदिएको थियो । उनीहरुले समय थप्न माग गर्दै नेपाल राष्ट्र बैंकसमक्ष पत्राचार गरेका छन् । नेपाल राष्ट्र बैंकले दिएको समयभित्र एकीकृत कारोबार हुन सकेन । मर्जरबारे हिमालयन बैंकले साधारणसभा बोलाएर निर्णय गर्नै बाँकी छ । हिमालयन बैंकका केही पदाधिकारीहरु मर्जरको विपक्षमा छन् ।
‘बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३’ अनुुसार सैद्धान्तिक स्वीकृति पाइसकेको बैंकबीच मर्जर नभए शेयर कारोबार थप समय रोकिने उल्लेख छ । हिमालयन र इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार रोक्का भएको करिब ६ महिना भइसकेको छ । मर्जको सैद्धान्तिक सहमति लिइर मर्ज नगर्ने वित्तीय संस्थालाई राष्ट्र बैंकले गाभ्ने गाभिने वा प्राप्ति (एक्विजिशन) प्रक्रियामा सामेल हुन निश्चित अवधिसम्म रोक लगाउन सक्ने पनि कानुनी व्यवस्था रहेका छ । त्यस्तो संस्थालाई तीन वर्षसम्म थप शाखा कार्यालय खोल्न रोक्न सक्छ ।