
बैंकिङ खबर।
स्वावलम्बन विकास केन्द्रको ३०औं साधारण सभा विहीवार सम्पन्न भएको छ । साधारण सभाले लघुवित्त कार्यक्रम मार्फत शून्य गरिबी, शून्य वेरोजगारी र शून्य कार्वन उत्सर्जनको लागि सदस्य संस्था तथा सरोकारवालाहरुसँग सहकार्य गरेर अघि वढ्ने कार्यनीति पारित गरेको छ।
यसका साथै साधारण सभाले विगतका राम्रा कार्यलाई निरन्तरता दिँदै आगामी दिनमा सामाजिक व्यवसाय प्रवद्र्धन तथा तीन जीरो क्लव गठनको अवधारणासमेत अघि वढाउने निर्णय गरेको छ ।
सभामा केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले केन्द्रको आर्थिक बर्ष २०७७। ७८ को आयब्यय विवरण, कार्यप्रगति विवरण तथा २०७८⁄७९ को प्रस्तावित कार्यक्रमसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा अध्यक्ष श्रेष्ठले कोरोना महामारीका कारण भौतिकरुपमा उपस्थित हुने वातावरण नभएपछि केन्द्रले अनलाइन माध्यमबाट गोष्ठी तथा छलफल कार्यक्रमहरुलाई निरन्तरता दिन सफल भएको र यस्तोमा केन्द्रले लघुवित्त क्षेत्रमा देखा परेका समस्या तिनीहरुको समाधान र लघुवित्त क्षेत्रले गरिबी निवारण, रोजगारी सिर्जना लगायत क्षेत्रमा पुर्याएको योगदानसहित विभिन्न विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका स्रोत व्यक्तिहरु समावेश गरी १६ वटा विभिन्न विषयमा अनलाईन सम्बाद श्रृंखलाहरु सम्पन्न गरेको जनाए ।
श्रेष्ठका अनुसार यस्ता छलफलहरुले कोरोना महामारीको वेला लघुवित्त क्षेत्र कसरी अघि वढ्ने र महामारीको वेला लघुवित्त संस्थाहरु तथा लघुवित्तकर्मीहरुको भूमिका र योगदान कस्तो हुने भन्ने विषयहरु पनि समेटिएका थिए । यी कार्यक्रमहरुमा लघुवित्त वित्तीय संस्था तथा सहकारी संस्थाका १४८८ जना पुरुष र ३०२ जना महिला गरी जम्मा १७९० जनाको सहभागिता रहेको थियो । साथै केन्द्रले गत आर्थिक बर्षमा ७ वटा लघुवित्त सम्बन्धी विभिन्न विषयमा तालिम सम्पन्न गरी यसबाट लघुवित्त वित्तीय संस्था तथा लघुवित्त कार्यक्रम सञ्चालन गर्ने सहकारी संस्थाका १०३ जना पुरुष र २७ जना महिला गरी जम्मा १३० जना कर्मचारीहरु लाभान्वित भएको जानकारी श्रेष्ठले गराएका थिए।
केन्द्रले यस बर्ष लघुवित्त सदस्य तथा उनीहरुका छोराछोरीहरु एवं विदेशबाट फर्केका युवाहरुलाई स्वदेशमा नै स्थानीय श्रोत तथा साधनमा आधारित उद्यम र व्यवसाय गर्न उपयुक्त सीप, ज्ञान र दक्षता अभिबृद्धि गर्न लघुउद्यमशीलता विकास सम्वन्धी अन्तर्कृया कार्यक्रम सञ्चालन गरिएको, तीन जना उत्कृष्ट महिला लघुउद्यमी सदस्यहरुलाई जनही रु. २५,००० पुरस्कार प्रदान गरेको छ।
केन्द्रले राजधानी नजिकै भएर पनि शैक्षिक पूर्वाधारको अभावमा गुणस्तरीय शिक्षा प्रदान गर्न कठिन भैरहेको तारकेश्वर नगरपालिका १ मा अवस्थित कुञ्चिप्वाकल माध्यमिक विद्यालयको ई–लाइबे्ररी स्थापना गर्ने अभियानमा एक थान डेस्कटप कम्प्यूटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ। नर्सरीदेखि स्नातकोत्तर तहसम्म गरीब समुदायका बालवालिकालाई रु १०० मा शिक्षा प्रदान गर्दै आएको समता शिक्षा निकेतनको शैक्षिक कोषमा रु २ लाख सहयोग हस्तान्तरण गरिएको पनि प्रतिवेदनमा उल्लेख छ।




