
बैंकिङ खबर।
लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले मंगलबार एघारौं वार्षिकोत्सव भव्यताका साथ केन्द्रीय कार्यालय तथा शाखाहरुमा मनाएको छ । २०६७ साल मंसिर १४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भइ विधिवतरुपमा यस कम्पनीको स्थापना भएको थियो ।
केन्द्रीय कार्यालयमा सञ्चालक समिति, लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत लगायत लक्ष्मी बैंकका उच्च व्यवस्थापनका कर्मचारी, संस्थाका प्रमुख कार्यकारी अधिकृत, नायब महाप्रबन्धक, विभागीय प्रमुखहरु र केन्द्रीय कार्यालय मातहतका कर्मचारी, भर्चुअलरुपमा शाखाका कर्मचारीहरुको उपस्थितीमा कार्यक्रमको शुभारम्भ गरिएको थियो।
शाखा कार्यालयबाट गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण, वित्तीय साक्षरता कार्यक्रम, रक्तदान कार्यक्रम, मन्दिर तथा टोल सरसफाई कार्यक्रम, बृद्धााश्रममा खाद्यान्न सामाग्री वितरण गरिएको थियो । केन्द्रीय कार्यालयमा बृहत रक्तदान कार्यक्रम तथा सामाजिक उत्तरदायित्व अन्र्तगत स्पाइनल इन्जुरी भएका विद्यार्थीहरुलाई खाद्यान्न सामाग्री वितरण गरिएको थियो ।
कार्यक्रममा डिजिटाइजेसनलाई प्रवद्र्धन गर्ने उद्धेश्यले इसेवामा उत्कृष्ट कारोबार गरेका ५ वटा शाखालाई नगद पुरस्कार प्रदान गरिएको थियो ।
एघारौं बार्षिकोत्सवलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले उत्प्रेरित कर्मचारी तथा उपयुक्त नीति कार्यान्वयबाट गुणस्तरीय सेवा प्रवाह गर्दै सन्तुष्ट ग्राहक निर्माणबाट संस्था सक्षम र सवल भएको बताए।
साथै, संस्थाका सञ्चालक समितिका अध्यक्ष जीवन प्रकाश लिम्बुले संस्थालाई प्रगतिशील मार्गमा अगाडी बढ्न शुभकामना व्यक्त गर्दै संस्थामा लक्ष्मी बैंकको प्रविधी, साख, सहयोग प्रदानप्रति प्रतिवद्ध रहेको भन्दै संस्थाका कर्मचारीहरुलाई अझ उर्जाशिल भई अगाडी बढ्न मार्गदर्शन प्रदान गरेका थिए।
संस्थाले २०६९ जेष्ठ २२ गते नुवाकोटको बट्टारबाट लघुवित्त कारोवार शुरु गरेकोमा हाल आएर देशभर ५५ जिल्लाहरुमा ७७ वटा शाखा कार्यालयहरु मार्फत ९६ हजार ग्राहक सदस्यहरुलाई प्रत्यक्ष वित्तीय सेवा पुर्याएको छ । प्रविधिमा भइरहेको विकास र प्रयोगलाई अनुसरण गर्दै आगामी दिनमा ग्राहक सदस्यहरुलाई अझ सरल, सहज, ग्राहकमैत्री र प्रविधीमैत्री सेवाहरु प्रवाह गर्ने लक्ष्य रहेको छ ।




