मौद्रिक नीतिको समीक्षा तरलता व्यवस्थापन गर्ने गरि आएको छः राष्ट्र बैंक


Bankingkhabar /November 29, 2021

बैंकिङ खबर।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले मौद्रिक नीतिको समीक्षा तरलता व्यवस्थापन गर्ने गरि आएको बताएका छन्।

प्रवक्ता ढकालले चालु आर्थिक वर्षको पहिलो चार महिनामा कर्जा प्रवाह अत्याधिक, आयात र निर्यातसमेत अत्याधिकरुपमा बढेकाले बजारमा तरलताको अभाव भएको बताए। उनले अहिले तरलता अभाव कहाँबाट सुरु भयो भन्ने मुख्य विषय बनेको बताए। अहिले बैंक तथा वित्तिय संस्थाहरुले आफूसँग भएको साधन स्रोत भन्दा बढी कर्जा प्रवाह गरेकाले बजारमा तरलताको असर सिर्जना भएको प्रवक्ता ढकालले उल्लेख गरे। उनले पछिल्लो चार महिनाको तथ्याङक हेर्दा निर्यात र आयात दुबै उल्लेखनीय रुपमा बढ्दा हामीसँग भएको रकम सबै आयातको भुक्तानी गरिरहेको बताए।

ढकालले तरलतालाई सहज बनाउनका लागि बजारमा आवश्यक पर्ने रकम राष्ट्र बैंकले बेलाबेलामा आवश्यक टुलहरु मार्फत तरलता सहजिकरण गरिहेको जानकारी दिए। विगत चार महिनामा १७ खर्ब ९६ अर्ब रुपैयाँ रिपो जारी गरेको उनले बताए। ढकालले अब सधंैभरी यसरी राष्ट्र बैंकले सहजीकरण गर्नु पर्ने अवस्था नआउने बताए। त्यस्तै, ढकालले अब कर्जा प्रवाह गर्दा बैंक तथा वित्तिय क्षेत्रले पनि संयमता अपनाउनु पर्ने बताए।

उनले बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा उत्पादन, रोजगारी र आर्थिक बृद्धि गर्ने क्षेत्रमा मात्रै गर्नु पर्ने बताए। बैंकहरुले कर्जालाई व्यवस्थित गर्न सकेमा मात्रै समग्र अर्थतन्त्रमा राम्रो हुने उनको भनाइ थियो।

त्यस्तै,प्रवक्ता ढकालले मौद्रिक नीतिको समीक्षाले बैंक तथा वित्तीय संस्थाको लागि कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) व्यवस्थामा केही लचकता अपनाएको बताए। प्रवक्ता ढकालले सीडी रेसियो ९० प्रतिशत कायम गर्ने कार्ययोजना बनाउने जिम्मा बैंक तथा वित्तीय संस्थालाई छाडिएको बताए।

Spread the love

सोसिअल मेडिया