
बैंकिङ खबर।
प्रदेशको नं १ इटहरी, सुनसरीमा रजिष्टर्ड कार्यालय भई काभ्रेको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आइतबार चौंथो वार्षिक साधरण सभा सम्पन्न गरेको छ।
उक्त साधारणसभाबाट संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना संचालकहरुको निर्वाचन गर्ने सामान्य प्रस्तावबीच छलफल गरी निर्णय गरिएकाे छ। संस्थापक समूहबाट क्रमशः कपिल ढकाल, प्रकाश बराल, विभोरकुमार अग्रवाल, दिपेश खेतान (अग्रवाल), र सर्वसाधारण समूहबाट क्रमशः शशांक अग्रवाल तथा सुवर्ण पौडेल गरी कुल ६ जना संचालकहरु निर्विरोध निवार्चित भएका छन्। चौंथो वार्षिक साधारणसभाबाट निवार्चित भएका सम्पूर्ण सञ्चालक समितिका पदाधिकारीहरुको बैंक तथा वित्तीय संस्थाको क्षेत्रमा लामो कार्यअनुभव रहेको र विभिन्न व्यवस्थापकिय पदहरुमा समेत कार्यानुभव रहेको छ।
साधारणसभामा मन्तव्य राख्दै संस्थाका अध्यक्ष कपिल ढकालद्वारा संस्थाले स्थापनाको चौंथो वर्षमै नेपालको लघुवित्त क्षेत्रमा आ.व २०७७/७८ मा कर्जा बृद्धिको हिसाबले प्रथम, कुल २७० वटा शाखासहित शाखा संजालका हिसाबले प्रथम र १ लाख ४३ हजार ९१६ जना विपन्न परिवारलाई लघुवित्त सेवा प्रदान गरी गौरवमय इतिहास रच्न सफल भएकोमा सम्पूर्ण एनआईसी एसिया परिवार खुशी भएको जानकारी गराए। साथै, आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गर्ने सम्पूर्ण संचालकहरुलाई धन्यवाद व्यक्त गर्दै नवनिवार्चित संचालकहरुलाई पनि बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।
संस्थालाई आम जनमानसले गरेको प्रगाण विश्वास, अगाध स्नेह र वित्तीय संस्थाप्रतिको भरोसाले गर्दा यो वित्तीय संस्थाले हाल सम्म मुलुकभर ७४ जिल्लामा २८५ शाखा कार्यालयहरु मार्फत आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ। आ.व २०७८/७९ को प्रथम त्रैमाससम्ममा रु. १६ करोड २६ लाख ७५ हजार खुद मुनाफा आर्जन गर्न सफल यस वित्तीय संस्थाले लघुकर्जा तर्फ कुल लघुकर्जा रकम रु. २२ अर्ब ३ करोड ६४ लाख र बचत तर्फ रु. ३ अर्ब १९ करोड २७ लाख पुर्याउन सफल भएको छ।
राष्ट्रियस्तरको अग्रणी लघुवित्त संस्थाको रुपमा छोटो अवधिमै आफूलाई स्थापित गर्न सफल यस संस्थाले उत्पादनमुलक तथा कृषि क्षेत्रमा आधारित कर्जालाई प्राथमिकतामा राखि बैंक तथा वित्तीय संस्थाहरुको न्युन उपस्थिति रहेको दुर्गम जिल्लाहरु डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक, बझाङ, बाजुरा, अछाम, दार्चुला, मुगु तथा कालिकोट जस्ता दुर्गम जिल्लाहरुमा समेत शाखा विस्तार गरी वित्तीय तथा वित्तीय साक्षरता, सामाजिक जनचेतना लगायतका कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ।




