
बैंकिङ खबर।
आरएमडीसी लघुवित्त वित्तीय संस्था लि., शाखा कार्यालय, कोहलपुरको आयोजनामा “सहकारीहरु का लागि ऋण व्यवस्थापन तालिम” मंसिर १ र २ गते नेपालगञ्जको होटल सिद्धार्थ भ्यूमा सम्पन्न भएको छ।
तालिममा आरएमडीसीको कोहलपुर शाखाको कार्यक्षेत्रभित्र रहेका जिल्लाहरु मध्ये ७ जिल्लामा रहेका ३० वटा साझेदार संस्थाहरुका व्यवस्थापक तथा सहायक व्यवस्थापकस्तरका ३० जना सहभागीहरुले भाग लिएका थिए । तालिम कार्यक्रमको उदघाटन् सत्रमा आरएमडीसी लघुवित्त वित्तीय संस्था लि., शाखा कार्यालय कोहलपुरका शाखा प्रबन्ध सुशिल घिमिरेले आफ्नो मन्तव्य दिँदै तालिम आयोजना गर्नुको उद्देश्यबारे प्रकाश पारेका थिए।
तालिममा प्रशिक्षकको रुपमा आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. का नायब प्रमुख कार्यकारी अधिकृत पृथबहादुर थापा रहेका थिए भने बरिष्ठ अधिकृत हिक्मतबहादुर बमले तालिममा सहजिकरण गरेका थिए ।
२ दिने तालिमको क्रममा थापाले ऋण लगानी गर्नु पूर्व गरिने विश्लेषणले संस्थाको जोखिम न्युनिकरण गर्न ठूलो सहयोग गर्ने बताए। तालिममा सहकारी संस्थाहरुमा देखा पर्ने ऋण सम्वन्धी जोखिमहरु, सो को पहिचान, न्यूनिकरण गर्ने उपायहरु र खराब कर्जाको प्रभाव न्यूनिकरण गर्ने उपायहरुको बारेमा प्रशिक्षण दिइएको थियो।




