२०७३ भाद्र १६ गते

नेप्सेले पार गर्यो अठार सयको विन्दु : बैंकिङ क्षेत्रतर्फ लगानीकर्ताको आकर्षण बढ्दै

economicसाताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्जमा १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । चार घण्टाको अवधिमा १ सय ४४ वटा कम्पनीको १७ लाख ९९ हजार ५ सय ११ कित्ता सेयर ८ हजार ८० पटक खरिद विक्रि हुँदा १ अर्ब ३५ करोड ४३ लाख ७८ हजार एक सय ५७ रुपैयाँ बराबरको कारोबार भएको हो । कारोबार रकम बुधबारको तुलनामा बढेको हो । बुधबार १ अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । 

कुल कारोबारमध्ये विहीबार बैंकिङ समूहको ७१ करोड रुपैयाँको कारोबार भएको छ । जबकी बुधबार यो समूहको ५५ करोडको मात्रै कारोबार भएको थियो । त्यस्तै, विकास बैंक र फाइनान्स समूहको सेयर कारोबार पनि बढेको छ । बुधबार क्रमशः साढे १४ करोड र १ करोड ६८ लाख रुपैयाँको पुँजी परिचालन भएको विकास बैंक र फाइनान्सको विहीबार क्रमशः २६ करोड ८७ लाख र २ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

बैंकिङ, विकास बैंक र फाइनान्स समूहबाहेक विहीबार कारोबार भएका सबै समूह ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह २४.४५ अंकले घटेको छ भने सबैभन्दा थोरै होटल समूह ०.७३ अंकले घटेको छ । जलविद्युत्, उत्पादनमूलक र अन्य क्रमशः २०.३५, ८.८७ र ३.४७ अंकले घटेका छन् । बैंकिङ, विकास बैंक र फाइनान्स क्रमशः ११.६८, २२.४६ र ४.५५ अंकले बढेका छन् । समग्रमा बजार ७.७३ अंकले बढेर १८०५.१८ अंकमा पुगेको छ ।

कारोबार रकमका आधारमा विहीबार नेपाल इन्भेष्टमेन्ट बैंक अग्रस्थानमा रहेको छ, जसको ११ करोडभन्दा माथिको सेयर कारोबार भएको छ । एनबी बैंकको ७ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने माछापूछ्रे बैंकको साढे ६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र एनएमबी बैंकको कारोबारले ५ करोड नाघ्दा एभरेष्ट बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक र स्टान्डर्ड चार्टर्ड बैंकको ४ करोडमाथिको सेयर कारोबार भएको छ । यसले बैंकिङ क्षेत्रतर्फ लगानीकर्ताको आकर्षण बढिरहेको देखिन्छ । 

कमाउने कम्पनीहरुलाई लिड गरेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयरमूल्य ९.८८ प्रतिशतले बढेको छ । त्रिवेणी विकास बैंक, अरनिको डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक लगायतका लगानीकर्ताले पनि कमाएका छन् । यीबाहेक, अल्पाइन डेभलपमेन्ट बैंक र युनाइटेड फाइनान्सका लगानीकर्ताले ५ प्रतिशतभन्दा बढीका दरले सम्पत्ति बढाएका छन् ।

५६ वटा कम्पनीका लगानीकर्ताले अधिकतम ५.७६ प्रतिशतदेखि न्युनतम ०.१० प्रतिशतसम्म गुमाएका छन् । सबैभन्दा धेरै प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले गुमाएका छन् भने सबैभन्दा कम कृषि विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । १ प्रतिशतभन्दा कम गुमाउनेमा कृषि विकास बैंकसहित २१ कम्पनीका लगानीकर्ता छन् । ५ वटा कम्पनीका लगानीकर्ताले २ देखि ३ प्रतिशतको बीचमा गुमाएका छन् भने वमी माइक्रोफाइनान्स र अपि पावर कम्पनीका लगानीकर्ताले क्रमशः ४.५२ र ३.९६ प्रतिशतका दरले गुमाएका छन् । बाँकी २७ वटा कम्पनीका लगानीकर्ताले १ देखि २ प्रतिशतको बीचमा गुमाएका छन् ।