बैंकिङ खबर । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) को दसौँ वार्षिक साधारण सभा मिति २०७८ कार्तिक २८ गते आइतवार काठमाडौंमा सम्पन्न भएकोे छ । वित्तीय संंस्थाका अध्यक्ष सचिन जङ्ग रायमाझीज्यूकोे अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री विनोद आचार्यले स्वागत मन्तव्य राख्नु भएको थियो ।
प्रमुख अतिथिको रुपमा सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले पूर्व मेची देखि महाकालीसम्मका जिल्लाहरुमा कार्यक्रम विस्तार भएको, दोहोरो अंकमा सेयरधनीलाई लाभांश वितरण गर्न सकेकोमा सञ्चालक समिति र व्यवस्थापनलाई धन्यवाद दिनु भयो । साथै, संस्थाले गरेको उत्साहजनक प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा संस्थाले आफ्ना ग्राहकलाई गुणस्तरिय सेवा उपलब्ध गराउने, कर्मचारीको कार्य क्षमतामा अभिवृद्धि गराउने र निष्कृय कर्जा व्यवस्थापनमा जोड दिई लगानीकर्तालाई यसै प्रकारको प्रतिफल दिन सकोस भनी संस्थाको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नु भयो ।
दसौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु तथा १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश गरि जम्मा २० प्रतिशत लाभांश सहित अन्य प्रस्तावहरु पारित गरेको छ । सभाका अध्यक्ष सचिन जङ्ग रायमाझीज्यूले सम्पूर्ण सेयरधनी तथा आमन्त्रित महानुभावहरु प्रति आभार व्यक्त गर्दै साधारणसभा सफल बनाई दिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियो ।
राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले हालसम्म ७४ शाखा कार्यालयहरु मार्फत ५८ हजार भन्दा बढि सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै रु. ७५ करोड बचत संकलन गरी रु. ३ अर्ब २७ करोड भन्दा बढी लगानी गरेकोे छ ।


