Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अत्याधिक कर्जा प्रवाहले वित्तीय सन्तुलन विग्रियो !

२०७८ कार्तिक २० गते

 

बैंकिङ खबर । वित्तीय सन्तुलन नमिल्दा केही बैंकहरुको सीडी रेसियो ९० माथि पुगेको छ । यसले गर्दा वित्तीय सन्तुलनमा समस्या देखिएकोछ । यस्ता बैंकहरु कर्जा प्रवाहमा कम्जोर भएका छन् । अर्थात उनीहरुसँग लगानीयोग्य पुँजी छैन । कर्जा प्रवाहमा बैंकहरुले ध्यान नदिएका कारण यस्तो अबस्था आएको राष्ट्र बैंकको ठहर छ ।

  निक्षेप भन्दा कर्जा प्रवाह अत्याधिक

नेपाल राष्ट्र बैंकले बैंकहरुले निक्षेप भन्दा कर्जा प्रवाह अत्याधिक गरेका कारण तरलता समस्या पैदा भएको निश्कर्षमा पुगेको छ । चालु आबको पछिल्लो अवधिमा बैंकहरुले कर्जा प्रवाह करीव चार गुणा बढी कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकले कर्जा प्रवाहमा कुनै रोक नलगाउँदा बैंकहरुले अत्याधिक कर्जा प्रवाह गरेको अबस्था छ । वाणिज्य बैंकहरुमा हाल तरलताको अबस्था देखिएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वाणिज्य बैंकहरुले निक्षेप ७० अर्ब उठाएर ३५२ अर्ब रुपैयाँ ऋण दिएको भन्दै यो सही कार्य नभएको र यसले समस्या उत्पन्न गराएको बताउनुभएको छ । तरलता अभावका कारण ऋणीले पैसा नपाउने अवस्था आउन नदिने प्रतिबद्धता पनि उहाँले जनाउनुभएको छ । हालै एक कार्यक्रममा उहाँले मौद्रिक नीतिले कोभिड प्रभावित ब्यवसायलाई जोगाउन जोखिम लिएको भन्दै पुनर्कर्जा, पुनर्तालिकीकरण, पुनर्संरचना, ऋणले गर्दा लगानी बढेको बताउनुभयो । उहाँले बैंकहरुले निक्षेप कम उठाएर धेरै लगानी गरेका कारण तरलता बढेको बताउनुभयो ।

वित्तीय सन्तुलन

निक्षेप संकलन र कर्जा प्रवाहको अवस्था नियामक निकायको नीति बमोजिम भएमा वित्तीय सन्तुलन भएको मानिन्छ । नेपाल पछिल्ला तीन वर्ष यता बैंक तथा वित्तीय संस्थामा वित्तीय असन्तुलन देखिँदै आएको छ । निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहको वृद्धिदर आक्रामक हुँदै आएको छ ।

बैंक तथा वित्तीय संस्थाले छरिएर रहेको निक्षेप संकलन गरी पुँजी निर्माण गर्छन् । आवश्यकताका आधारमा सो पुँजीबाट कर्जा प्रवाह गर्छन् । यसरी निक्षेपमा निक्षेपकर्तालाई दिने ब्याज र ऋण प्रवाह गर्दा ऋणीसँग उठाउने ऋणको अन्तर नै बैंकको नाफा हो । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकले संकलन गरेको सबै निक्षेप ऋण लगानी गर्न पाइँदैन । ऋणको बढीमा ९० प्रतिशत मात्र कर्जा तथा सापटीमा प्रवाह गर्न पाउने राष्ट्र बैंकको निर्देशन छ ।

अहिले बैंकहरुले आक्रामक रुपमा कर्जा प्रवाह गर्दा राष्ट्र बैंकको सीडी रेसियो सम्बन्धी निर्देशन पालना गरिरहन नै बैंकहरुलाई गाह्रो परिरहेको छ । त्यसैले सीडी रेसियोमा केही समयका लागि भए पनि लचकता अपनाउनुपर्ने माग बैंकरहरुले राख्दै आएका छन् ।

लगानीयोग्य पुँजीको अभाव
निक्षेप संकलनभन्दा कर्जा प्रवाह बढी हुँदा बैंकहरुमा लगानीयोग्य पुँजीको अभाव हुने गरेको छ । हरेक वर्ष नै नेपालका बैंकहरुले यो समस्या झेल्दै आएका छन् । आर्थिक वर्षको सुरुवातदेखि नै कर्जा प्रवाह अत्याधिक हुँदा ३।४ महिनामा नै बैंकहरु माग अनुसार कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुग्ने  गरेका छन् ।

व्याजदर वृद्धि
कर्जाको माग पूरा गर्न सकियोस् भनने उद्देश्यले व्याजदर बढाएर निक्षेप आकर्षित गर्न पनि बैंकहरुको प्रतिष्पर्धा हुन्छ । यसले गर्दा व्याजदर अनियन्त्रित ढंगले बढ्न थाल्छ । अरु बैंकमा निक्षेप नजाओस् भनेर बैंकहरु अरुको भन्दा बढी व्याज दिन थाल्दछन् । निक्षेपको व्याज बढेपछि स्वतः कर्जाको व्याज पनि बढ्न जान्छ ।

यसरी वित्तीय असन्तुलनका कारण अनेकौँ समस्या आइपर्ने भएकाले वित्तीय सन्तुलन आवश्यक छ । यसका लागि बैंकहरुले आर्थिक वर्षको सुरुवातदेखि नै संयमता अपनाउनुपर्छ । व्याजदरमा प्रतिष्पर्धा गरेर भन्दा पनि वित्तीय पहुँच बढाएर निक्षेप संकलन बढाउन सकिन्छ । उत्पादनशील क्षेत्रमा गरिने लगानीलाई प्राथमिकता दिने हो भने पनि निक्षेप बढ्ने सम्भावना हुन्छ । अझै पनि धेरै मानिसहरुसँग भएको पुँजी बैंकसम्म पुग्न सकेको छैन । विदेशबाट कमाएर ल्याएको रेमिट्यान्स विलासीलताका वस्तुमा खर्च भइरहेको छ । पैसा बैंकमा राख्नुको सट्टा गाउँघरतिर नै व्याजमा लगाउने परम्परा अझै पनि कायम छ । यसरी छरिएर रहेका सबै रकमलाई बैंकिङ च्यानलमा ल्याउन पहल गर्नु आवश्यक देखिन्छ ।

 

 

Ad