Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

निक्षेपकै व्याजदर दुईअंकमा पुग्यो : कर्जाको व्याज बढाउने तयारी !

२०७८ कार्तिक २ गते

बैंकिङ खबर ।  दशैं सकिएलगत्तै बैंकवित्तहरु निक्षेप संकलनमा आक्रामक देखिएका छन् । निक्षेप संकलनका लागि बैंकवित्तले आफ्ना शाखाहरुलाई तार्गेट दिनुका साथै व्याजदरमा समेत बृद्धि गरेका छन् । केही अघिसम्म एकल अंकमै व्याजदर कायम रहने ठहर गरिएकोमा अहिले निक्षेपकै व्याजदर २ अंकमा पुगेको छ । व्याजदर बृद्धिमा बेंकवित्त प्रतिस्पर्धा नै देखिएका छन् । कात्तिक १ देखि लागु हुनेगरी केही बैंकवित्तले नयाँ व्याजदर सार्बजनिक गरेका छन् । निक्षेपमा अधिकाँस बैंकहरुले ११ प्रतिशत भन्दा माथि व्याज दिन थालेका छन् । हिमालयन बैंकले ११.६७ प्रतिशत, एनआइसी एसिया बैंकले ११ प्रतिशत, लक्ष्मी बैंकले ११.०५ प्रतिशत व्याजदर घोषणा गरिसकेका छन् । यसले कर्जाको व्याजदरमा प्रत्यक्ष असर गर्ने छ ।

अब कर्जाको व्याजदर बढ्ने तर्खरमा छ । सरकारले प्रतिस्थापन बजेट ल्याएपछि त्यसअघि रोकिएका सरकारी भुक्तानी हुने अपेक्षा थियो । साथै दसैं र तिहारका कारण रेमिट्यान्स बढ्ने अनुमान पनि विपरीत भयो । तर चाडपर्वमा उपभोग खर्च बढ्नेलगायत कारण वित्तीय प्रणालीमा अपेक्षाकृत निक्षेप बढ्न सकेको छैन ।

तरलता अभाव तत्काल समाधान नहुने देखिएपछि बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर बढाएका हुन् । लगानीयोग्य पुँजीको स्रोत जुटाउन यसो गरिएको हो । बैंक तथा वित्तीय संस्थाले गरेको नयाँ व्यवस्थाअनुसार एकवर्षे मुद्दतीमै निक्षेपको ब्याजदर दोहोरो अंकमा पुगेको छ । हाल अधिकाँस बेंकले १० प्रतिशत भन्दा माथि व्याजदर दिएका छन् । हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये १७ वटाले व्याजदर बढाएका छन् । अरु केहीले स्थिर राखेका छन् भने केही बढाउने तयारीमा छन् ।

तरलता बढ्नुका पछाडि गत महिना रेमिट्यान्स कम आउनु, विदेशी मुद्रा कम भित्रिनु र हाल एलसी ग्यारेन्टीको भुक्तानीमा धेरै रकम गएका कारणहरु रहेका छन् । लामो समयको कोभिड र यसबाट परेको प्रभावपछि हाल कर्जाको माग धेरै बढेको छ । जसले गर्दा बजारमा तरलता पैदा गरेको छ । तरलताको अबस्था क्षणिक हुने गरेको जानकारहरु बताउँछन् । गत असार महिनामा मात्रै बैंकवित्तमा अधिक तरलता भएका कारण केन्द्रीय बैंकले ४० अर्ब रुपैयाँ निक्षेप उठाएको थियो ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा झन्डै ७ अर्ब बैंकिङ प्रणालीमा प्रवाह गरीसकेको छ । वित्तीय संस्थाहरूसँग नगद उपलब्ध गराउने क्षमता कम हुँदै गएको जनायएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा कर्जाको माग बढी हुनु र निक्षेप संकलन कम हुनुले पनि तरलताको समस्या बढाउने गर्दछ । हाल बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकमा आफ्नो कुल निक्षेपको तीन प्रतिशत रकम सीआरआर बापत अनिवार्य नगद मौज्दात राख्नुपर्ने प्रावधान रहेको छ । त्यो अनिवार्य मौज्दात राखिसके पछि बैंक सँग भुक्तानीका लागि उपलब्ध हुने रकमलाई अधिक तरलता भनिन्छ। नगद मौज्दातका आधारमा बैंक वित्तसिँग कुल भुक्तानी गर्न सक्ने क्षमताले तरलतालाई प्रतिविम्वित गर्ने गर्दछ ।

त्यसो त नेपाल राष्ट्र बैंकले बजारमा लगानीयोग्य पुँजीको तरलता अभाव हुन नदिन पहल गरेको छ । राष्ट्र बैंकले दैनिक तरलता सुविधा सम्बन्धी कार्यविधि, २०७६ (प्रथम संशोधन, २०७८) मा भएको व्यवस्था अनुसार रकम आबश्यक हुने बैंकवित्तलाई सहजीकरण गर्ने भएको हो । दैनिक तरलता सुविधा (Intraday Liquidity Facility – ILF) लिन इच्छुक RTGS प्रणालीमा आवद्ध Direct Participant बैंक तथा वित्तीय संस्थाहरुले कार्यविधिको अनुसुची – १ बमोजिमको निवेदन  विभागमा पेश गर्नु हुन सूचना प्रकाशित गरिसकेको छ ।

बैंकिङ तरलता के हो ?

कुनै कम्पनीले विनासमस्या तत्काल भुक्तान गरिसक्नुपर्ने कुनै पनि प्रकारका ऋण वा तिरोहरूलाई उचित सम्बोधन गर्न सक्नुले तरलता बुझाउँछ । जसअन्तर्गत कच्चापदार्थको भुक्तानी, करसम्बन्धी तिरोहरू, आवधिक खर्चहरू, कारोबारका क्रममा तत्काल भुक्तान गनुपर्ने तिरोहरू लगायत पर्छन् । कम्पनीहरूले यी तिरो तिर्ने माध्यम नै नगद हो । कम्पनीहरूले नगद प्राप्त गर्ने माध्यम भनेको कम्पनीसँग रहेको नगद मौज्दात हो भने इन्भेण्ट्री, प्राप्त हुनुपर्ने नगदलगायत चालू सम्पत्तिलाई नगदमा परिणत गरेर पनि नगद प्राप्त गर्न सक्छन् ।

Ad