
बैंकिङ खबर । तरलता अभावले बैंकवित्तमा कर्जा प्रवाह प्रभावित देखिएको छ । पछिल्लो समय कर्जाको माग बढेको छ । बैंकवित्तहरुले माग भएको कर्जा दशैं अघि दिने अबस्था नरहेको जनाइएको छ ।
दशैं नजिकिँदै गर्दा बैंकिङ प्रणालीमा तरलता अभाव बढेको छ । यो अभावलाई पूर्ति गर्न बैंकहरुले केन्द्रीय बैंकको रिपोमार्फत पटक पटक रकम उठाउँदै आएका छन् । हाल यसको माग दोव्वर बढेको छ । यो रकम ७ दिने व्याजमा चलाइने रकम हो । यसको ब्याजदर बैंकहरुले दर ५ प्रतिशतले तिर्नुपर्छ । अनिवार्य तरलता अनुपात (सीआरआर) कायम गर्नका लागि वाणिज्य बैंकहरुले राष्ट्र बैंकसँग यस्तो रकम निकाल्न पाउँछन् । बैंकहरुले ऋणपत्र खरीदका लागि रकम लगानी गरेका छन् । उक्त रकम फिर्ता नभएका कारण राष्ट्र बैंकबाट सापटी रकम लिएर तरलता ब्यवस्थापन गर्न मिल्छ । विगतका बर्षहरुमा दशैंपछि तरलता अभाव बढ्ने गर्दथ्यो । तर अहिले भने कोभिडका कारण अधिकाँस मानिसहरुले आफ्नो दैनिकी चलाउनका लागि समेत कर्जा उपभोग गर्नुपरेको अबस्था छ ।
तरलता बढ्नुका पछाडि गत महिना रेमिट्यान्स कम आउनु, विदेशी मुद्रा कम भित्रिनु र हाल एलसी ग्यारेन्टीको भुक्तानीमा धेरै रकम गएका कारणहरु रहेका छन् । लामो समयको कोभिड र यसबाट परेको प्रभावपछि हाल कर्जाको माग धेरै बढेको छ । जसले गर्दा बजारमा तरलता पैदा गरेको छ । तरलताको अबस्था क्षणिक हुने गरेको जानकारहरु बताउँछन् । गत असार महिनामा मात्रै बैंकवित्तमा अधिक तरलता भएका कारण केन्द्रीय बैंकले ४० अर्ब रुपैयाँ निक्षेप उठाएको थियो ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा झन्डै ७ अर्ब बैंकिङ प्रणालीमा प्रवाह गरीसकेको छ । वित्तीय संस्थाहरूसँग नगद उपलब्ध गराउने क्षमता कम हुँदै गएको जनायएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा कर्जाको माग बढी हुनु र निक्षेप संकलन कम हुनुले पनि तरलताको समस्या बढाउने गर्दछ । हाल बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकमा आफ्नो कुल निक्षेपको तीन प्रतिशत रकम सीआरआर बापत अनिवार्य नगद मौज्दात राख्नुपर्ने प्रावधान रहेको छ । त्यो अनिवार्य मौज्दात राखिसके पछि बैंक सँग भुक्तानीका लागि उपलब्ध हुने रकमलाई अधिक तरलता भनिन्छ। नगद मौज्दातका आधारमा बैंक वित्तसिँग कुल भुक्तानी गर्न सक्ने क्षमताले तरलतालाई प्रतिविम्वित गर्ने गर्दछ ।
त्यसो त नेपाल राष्ट्र बैंकले बजारमा लगानीयोग्य पुँजीको तरलता अभाव हुन नदिन पहल गरेको छ । राष्ट्र बैंकले दैनिक तरलता सुविधा सम्बन्धी कार्यविधि, २०७६ (प्रथम संशोधन, २०७८) मा भएको व्यवस्था अनुसार रकम आबश्यक हुने बैंकवित्तलाई सहजीकरण गर्ने भएको हो । दैनिक तरलता सुविधा (Intraday Liquidity Facility – ILF) लिन इच्छुक RTGS प्रणालीमा आवद्ध Direct Participant बैंक तथा वित्तीय संस्थाहरुले कार्यविधिको अनुसुची – १ बमोजिमको निवेदन विभागमा पेश गर्नु हुन सूचना प्रकाशित गरिसकेको छ ।
बैंकिङ तरलता के हो ?
कुनै कम्पनीले विनासमस्या तत्काल भुक्तान गरिसक्नुपर्ने कुनै पनि प्रकारका ऋण वा तिरोहरूलाई उचित सम्बोधन गर्न सक्नुले तरलता बुझाउँछ । जसअन्तर्गत कच्चापदार्थको भुक्तानी, करसम्बन्धी तिरोहरू, आवधिक खर्चहरू, कारोबारका क्रममा तत्काल भुक्तान गनुपर्ने तिरोहरू लगायत पर्छन् । कम्पनीहरूले यी तिरो तिर्ने माध्यम नै नगद हो । कम्पनीहरूले नगद प्राप्त गर्ने माध्यम भनेको कम्पनीसँग रहेको नगद मौज्दात हो भने इन्भेण्ट्री, प्राप्त हुनुपर्ने नगदलगायत चालू सम्पत्तिलाई नगदमा परिणत गरेर पनि नगद प्राप्त गर्न सक्छन् ।