बैंकिङ खबर । सिद्धार्थ बैंकमा सुरक्षा गार्डका रुपमा खटिएका सर्लाहीका केबल थापाले परिवारसंग दसैँ नमानेको सात वर्ष भयो । यो पालि पनि उनले दसैँमा विदा पाएनन् । डेड वर्षअघि सिद्धार्थ बैंकमा काम गर्न थालेका उनले त्यसअघि अर्को बैंकमा सुरक्षा गार्डकै रुपमा काम गर्र्दा थुप्रै दसैँहरु आफुजस्तै दसैँमा घर जान नपाएका सहकर्मीसंगै मनाए । यसपालिको दसैँ पनि उनले सहकर्मीहरुसंग मनाउँदैछन् । ‘अब यहीँ हामी गार्डमध्येमा अलि बढी उमेरको गार्डबाट हामी टिका थाप्छौँ’, थापाले भने, ‘थोरै समयमा मीठो–मसिनो के हुन्छ खान्छौँ र काममा लाग्छाँै ।’
उनले त यता दसैँको योजना बनाइसके तर घरमा भएको नाबालक छोरा भने अझै बाबा आउलान् भन्ने आसामा छ । त्यही भएर त घरबाट छोराले फोनमा सोध्छ, ‘बाबा घर नआउने ?’ घरबाट सानो छोराले बाबा घर नआउने भन्दा थापा भक्कानिन्छन् । ‘जिम्मेवारी लिएपछि गर्नैपर्छ’, उनी भन्छन्, ‘तर घरबाट कहिले काँहि छोराले बाबा घर नआउने भन्दा भक्कानो छुट्छ ।’
दसैँको बेलामा अरु बेला भन्दा काम गर्न अझै बढी चुनौतिपूर्ण रहेको उनी बताउँछन् । थोरै तलमाथी भएको अवस्थामा जागिर जाने अवस्था हुने उनको भनाई छ । ‘अरुबेला भन्दा यो बेला अझै बढी चनाखो हुनुपर्छ ।’ थापाले भने, ‘यतिबेला यहाँ कुनै घट्ना भयो भने सबै दोसको भागेदार हामी नै हुन्छौँ ।’ यति चुनौतिपूर्ण र जोखिमपूर्ण काम गर्दा पनि बाहिरी मानिसहरुले सुरक्षा गार्डलाई गर्ने व्यवहारप्रति उनी दुखि छन् । ‘हामीलाई मान्छेजस्तो पनि व्यवहार गरिँदैन’ उनले गुनासो पोखे ।
बैंकका सुरक्षा गार्ड उद्धव राउत काठमाडाँैमै घर भएपनि उनले ढुक्कले दसैँ मान्न पाउँदैनन् । ११ वर्षदेखि बैंकको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका राउतले अहिलेसम्म दुई पटक पनि दसैँ मजाले मनाउन पाएका छैनन् । ‘टाढाका साथीहरुलाई विदा दिएपछि नजिकैकोले सुरक्षा दिने हो ।’ उनी भन्छन् ‘साथीहरु विदामा बसेपछि नजिकै घर भएपनि दसैँमा पर्याप्त समय पाइदैन ।’