
बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले कोभिड–१९ बाट प्रभावित क्षेत्रहरुको मुल्याङकन गरी एक बर्षदेखि २ बर्षसम्म कर्जा भुक्तानी म्याद थप गर्न बैंकवित्तलाई निर्देशन दिएको छ । निर्देशन अनुसार रेष्टुरेण्ट, पार्टी प्यालेस, सार्वजनिक यातायात, शिक्षण संस्था र मनोरञ्जन व्यवसाय तथा नगद प्रबाह अबरुद्ध भएका लघु, घरेलु, साना तथा मझौला व्यवसायीलाई आगामी पुस मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज भुक्तानीको म्याद एकबर्ष थप गर्न बैंकवित्तलाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै यस्तो सुविधा दिन निर्देशन दिएको हो । राष्ट्र बैंकले निर्देशन मार्फत वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई आगामी पुस मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज भुक्तानीको म्याद एकबर्ष थप गर्न निर्देशन दिएको छ ।
‘निर्देशन अनुसार कोभिड १९ को असर मूल्याङ्कन गरी त्यस्ता ऋणीहरुले २०७८ पुस मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वलाई एक वर्ष सम्म म्याद थप गरी कम्तीमा चार किस्तामा असुली गर्ने व्यवस्था मिलाउनु पर्नेछ । यस्तो ब्याजलाई पुँजीकरण गर्न तथा पेनाल ब्याज समेत जोड्न नपाइने व्यबस्था गरिएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञालाई मध्यनजर गरी ऋणीहरुले २०७८ असारसम्म भुक्तानी गर्नु पर्ने इएमआई÷इक्यूआई वा अन्य साँवा ब्याज निषेधाज्ञाको कारणले भुक्तानी गर्न नसकेको अवस्थामा ऋणीको वित्तीय स्थिति मूल्याङ्कन गरी २०७८ पुस मसान्तसम्म भुक्तानी म्याद थप गर्न सक्नेछन् । यसैगरी कोभिड–१९ बाट अति प्रभावित क्षेत्रहरु मध्ये होटल, ट्राभल, ट्रेकिङ्ग र हवाई सेवा जस्ता बाह्य पर्यटकमा निर्भर रहनुपर्ने व्यवसायीलाई दुइबर्ष म्याद थपीएको छ । कोभिड–१९ को असर मूल्याङ्कन गरी २०७९ असार मसान्त सम्मको ब्याजलाई छुट्टै हिसाब राखी दुई वर्ष सम्ममा चार किस्तामा असुली गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले भनेको छ । यो ऋणमा पनि ब्याजलाई पुँजीकरण गर्न तथा थप हर्जाना र पेनाल ब्याज जोड्न पाइने छैन ।