
बैंकिङ खबर/सेयर बजार परिसूचक नेप्सेले लगातार नयाँ रेकर्ड कायम गर्दै गएको छ । साताको चौँथो कारोबार दिन बुधबार दोहोरो अङ्कले बढेको नेप्से ३१०० अङ्कको बिन्दु नजिक पुगेको छ । बुधबार बजार परिसूचक नेप्से १५.३० अङ्कले वृद्धि हुँदा ३०९४.९५ अङ्कमा बन्द भएको छ ।
व्यापार समूहको शेयर १६ अङ्कले बढेको छ । यस्तै विकास बैंक समूहको ४८ अङ्कले, होटल समूहको दुई सय ५७ अङ्कले, फाइनान्स समूहको ७०, माइक्रो फाइनान्स समूहको ३७, अन्यको २०, जीवन बीमा समूहको चार सय ३१ र निर्जीवन बीमा समूहको शेयर चार सय ४९ अङ्कले बढेको छ ।
बुधबार नेप्सेमा सूचीकृतमध्ये २१९ कम्पनीका २ करोड ८१ लाख ७० हजार १७२ कित्ता सेयर १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५.४४ रुपैयाँमा किनबेच भएका छन्।
यी हुन् धेरै कारोबार गर्ने कम्पनीहरु
युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक ३८ करोड ६१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेसनल हाइड्रोपावरको ३६ करोड ५३ लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण भ्याली हाइड्रोपावरको ३३ करोड ६१ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ३१ करोड ८८ लाख रुपैयाँ, अपी पावरको २९ करोड ५९ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २८ करोड ९२ लाख रुपैयाँ, अरुण काबेली पावरको २६ करोड १ लाख रुपैयाँ, युनिभर्सल पावरको २५ करोड ८८ लाख रुपैयाँ, सिनर्जी पावरको २५ करोड ८५ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सको २२ करोड ८१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
बुधबार ३ कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। नारायणी डेभलपमेन्ट बैंक, मल्टीपर्पस फिनान्स र चन्द्रागिरी हिल्सको सेयरमूल्यमा १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लागेको हो। बुधबार सोल्टी होटेल र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरभाउ पनि ८ प्रतिशत बढीले उकालो लागेको छ। पञ्चकन्या माई हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ५ प्रतिशत बढीको गिरावट आएको छ।