
बैंकिङ खबर/ गत वर्षको कोभिडको प्रभावबाट बन्दकाे मार खेपेका उद्योगी–व्यवसायीहरूको पीडाबाट नउक्सिँदै पुनः यो पटकको डेढ–दुई महिना लामो बन्दले आक्रान्त बनायो । धेरै उद्योगी–व्यवसायीहरू व्यापार बन्दका कारण थप आर्थिक समस्यामा पिल्सिन पुगे ।
काम नगरी बन्द गर्नुपर्ने बाध्यताले उद्योग व्यवसाय विगतदेखि नै कारोबार शून्यजस्तै हुँदै गयाे । बन्दको समयमा मजदुर कर्मचारीहरूलाई बिना काम दिनुपर्ने तलब, घर धनीलाइ बुझाउनुपर्ने बहाल अनि बैंक तथा वित्तीय संस्थालाई तिर्नुपर्ने ब्याज र किस्ताले पिरोल्याे । तलब र बहाल आपसी सल्लाह र सहमतिमा भाका मागी केही कम दिनेलिने गर्न सकिन्छ । तर, बैंकको ब्याज, किस्ता र भाका नाघेको साँवालाई कारोबार बन्दका कारण केन्द्रीय बैंकको निर्देशनबिना नियमित गर्न सकिने अवस्था छैन ।
आफ्नो सबै घर, जग्गा र मेसिनरी, मौज्दात र लिन बाँकी सम्पत्तिसमेत धितो राखी लिएको ऋण तिर्न नसकेर लिलामी हुने, आफू संलग्न सबै व्यापार–व्यवसायलाई कालोसूचीमा राखी सबैतिरबाट नगद प्रवाह बन्द गरी निमिट्यान्न पारिने प्रावधानका कारण विशेष गरी साना–साना उद्योगी–व्यवसायीहरू धेरै चिन्तामा पुगेका छन् ।
कोरोना महामारीका कारण यसको प्रत्यक्ष प्रभाव उद्योग, कलकारखाना, विद्यालय, कलेज, होटललगायतका सबै क्षेत्रमा परेको छ । काठमाडौं उपत्यकासहित देशभर निषेधाज्ञा केहि खुकुलो बनाइएपनि उद्योग, कलकारखाना अझैँ पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । जसले गर्दा यसको प्रत्यक्ष असर नेपालको अर्थतन्त्रमा परेको छ ।
अर्कोतर्फ कोरोना महामारीको दोस्रो लहरले देशभरको घरजग्गा कारोबार समेत ठप्प हुन पुग्यो । जसले गर्दा घरजग्गा पनि बिक्री हुन सकेन । नेपालमा पछिल्लो समय बैंकिङ कसुरका घटना बढ्दै गएको छ । जसको कारण कोरोना महामारी र उद्योग धन्दा सञ्चालन हुन नसक्नुपनि हो । यस्तै कोरोनाका कारण बैंकबाट ऋण लिएर काम गर्ने वा धितो राखेर ऋण लिनेहरु समेत समस्यामा पर्दै गए ।
कर्जा सूचना केन्द्रका अनुसार लिलामीको सूचीमा पर्ने ऋणीहरुको संख्या ह्वात्तै बढेको छ । ऋणीहरु कालो सूचीमा पर्नु लिलामीको प्रकृया सुरु हुनु हो । कर्जा तिर्न नसकेपछि कालोसूचीमा परेकाहरुलाई कोभिडको दोस्रो चरणको लहरले थप समस्या सृजना गरेको छ । बन्दाबन्दीका कारण उनीहरु तत्काल ऋण भुक्तानी गर्न सक्ने अवस्थामा देखिएका छैनन् । यस्तो अवस्थामा कालो सूचीमा परेकाहरुलाई बैंक तथा वित्तीय संस्थाले प्रकृयाका आधारबाट धितो लिलामी गर्नसक्छ । ऋण बोक्ने र व्यबसाय गर्न नपाउनेहरु कोभिड भन्दा पनि बन्दाबन्दीको समस्याले ठूलो समस्याका परे । लिलामीका लागि बैंकले पनि नछोड्ने, घरभाडा पनि तिर्नुपर्ने, सरकारले पनि उचित राहतको प्याकेज नल्याउँदा व्यवसायीहरु अप्ठयारोमा पर । यी समस्याकै कारण केहि समय सुरक्षित हुन उनीहरु चेक दिन बाध्य भएका छन् । जसको फलस्वरुप चेक बाउन्सका घटना बढ्न थालेको छ ।
घरगाडीको किस्ता तिर्न समस्या
कोरोनाका कारण आफ्नो व्यापार, व्यवसाय ठप्प हुँदा व्यवसायीहरु घरगाडीको किस्ता तिर्न नसक्ने अवस्थामा पुगेका छन् । व्यवसायीहरुले घरजग्गा धितोमा राखेर व्यवसाय संचालन गरिराखेका छन् । कोरोनाका कारण व्यवसाय बन्द हुँदा उनीहरुले घर, गाडिको कर्जा तिर्न नसक्ने स्थितिमा पुगेका छन् ।
नेपाल राष्ट्रिय उद्योग महासंघका केन्द्रीय सहसंयोजक भिमलाल पौडेल कोरोना महामारीको दोस्रो लहरका कारण नेपालको अर्थतन्त्र, उद्योग, व्यवसाय लगायत सबै क्षेत्र आक्रान्त बनेको बताउनुहन्छ । उहाँ भन्नुहुन्छ, ‘अहिले नेपालमा प्रायः सबै उद्योगहरुले बैंकबाट नै ऋण लिएर आफ्नो उद्योग धन्दा चलाई राखेको अवस्था छ । जसले गर्दा कोरोनका कारण उद्योगधन्दा बन्द भए । यस्तो बेलामा व्याज नै तिर्न सक्नेस्थिति छैन ।’
झन्डै एक वर्षभन्दा बढी समयदेखि उद्योग, व्यवसाय धरापमा परेको उहाँको भनाइ छ । उहाँ भन्नुहन्छ, ‘हामी समस्यामा छौं । बीचमा केहि समय कोरोना कम हुँदै गएको अवस्था छ । भर्खरै बजार क्षेत्रमा अलि खुकुलो भएको अवस्था छ । त्यो बेला केहि उद्योगहरु पनि चल्न थालेका छन् । यस्तो बेलामा उद्योगीहरुको आफुले लिएको ऋणको ब्याज बैंकलाई तिर्नुपर्नेछ । अर्कोतर्फ आफ्नो उद्योगमा भएका मजदुरहरु, स्टाफहरुलाई तलब दिनुपर्ने अवस्था पनि छ । यसकारण अहिलको परिस्थितिमा उद्योगहरुको अवस्था भयाभह छ ।’
खराब कर्जा बढ्दो
कोरोनाका कारण व्यापार, व्यवसाय ठप्प हुँदा बैंकहरुको खराब कर्जा बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको ७ दिनसम्म बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट कर्जा असुलीमा कुनैपनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क नलिन निर्देशन दिइसकेको छ । असामान्य परिस्थीति र राष्ट्र बैंकको निर्देशनका कारण पनि कर्जा असुलीमा समस्या आएको बैंकरहरुको भनाइ छ ।
विषेशगरी पर्यटन क्षेत्रका होटल व्यवसायी लगायत अन्य व्यवसाय, सार्वजनिक यातायात र साना तथा मझौला व्यवसायको साथै, कृषि क्षेत्रमा गएको कर्जा असुलीमा पनि कोभिड र मौसमले प्रभाव पारेको छ ।
अहिले कतिपय व्यवसाय पुर्णरुपले अझै चल्न नसकेको हुँदा असुलीको प्रकृयामै जाने अवस्था पनि मानवताको आधारमा पनि छैन । अधिकांश कर्जा धितोमा आधारित हुने भएकाले ग्राहकले समेत तिर्छु भन्दै नियामकीय सम्बोधनको पर्खाइमा ऋणी रहेका छन् ।
ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल(टान) का खुमबहादुर सुवेदी कोरोना महामारीका कारण नेपालको पर्यटन व्यवसाय शिथिल बनेको बताउनुहुन्छ । अझै नेपालको पर्यटन व्यवसाय पूर्ण रुपमा सुचारु हुन एक वर्ष लाग्ने भन्दै उहाँले कर तिर्न, बैंकको ऋण तिर्न समेत समस्या भएको बताउनुहुन्छ ।
बैंकिङ कसुरका घटना बढे
कोरोना महामारीको प्रत्यक्ष प्रभाव उद्योग, व्यापार, व्यवसायमा पर्दा बैंकिङ कसुरका घटना बढ्न थालेका छन् । नेपाल प्रहरीका अनुसार गत आर्थिक वर्ष २०७७/७८ को ११ महिनाको अवधिमा नेपालमा २ हजार १ सय ८३ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् ।
जसमा केन्द्रीय अनुसन्धान व्युरोमा १३, उपत्यकामा १७ सय ८७, प्रदेश नं १ मा ७३, प्रदेश नं.२ मा १४५, बागमती प्रदेशमा २६, गण्डकीमा ९३, लुम्बिनीमा ४५, कर्णाली प्रदेशमा १ सदुरपश्चिम प्रदेशमा १ वटा मुद्दा दर्ता भएका छन् । नेपाल प्रहरीका प्रवक्ता बसन्त बहादुर कुँवर कोरोना महामारीकाबीच बैंकिङ कसुरका घटना बढ्ने गरेको बताउनुहुन्छ ।
मौद्रिक नीतिमा आशा
नेपाल राष्ट्र बैंकले अहिले मौद्रिक नीति ल्याउने तयारी गरेको छ । साना असहाय, निरीह व्यवसायीहरू जो आफैं काम गरी स्वरोजगार बन्ने र जोखिम खप्न तयार भएर व्यापार–व्यवसायमा लागेकाहरूको अबको आशा र भरोसा मौद्रिक नीति मात्र भएको छ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर एवं अर्थविद् दिपेन्द्रबहादुर क्षेत्री मौद्रिक नीतिले साना तथा मझौला एवं नीजि क्षेत्रको पुनरुत्थान गर्न सक्नुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘कोरोनाका कारण साना तथा मझौला व्यवसाय सिथिल हुन पुगेका छन् । त्यसैले मौद्रिक उनीहरुलाई उकास्न सक्नुपर्छ ।’