
बैंकिङ खबर/कोरोना महामारीकाबीच पनि बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपमा बृद्धि भएको छ । आर्थिक वर्ष ०७७/७८ को अन्त्यसम्ममा वाणिज्य बैंकहरुले ४२ खर्ब १ अर्ब निक्षेप संकलन गरेको नेपाल बैंकर संघले जनाएको छ ।
जुन आर्थिक वर्ष ०७६/७७ वर्षको असार मसान्त सम्ममा बैंकहरुले ३४ खर्ब ८७ अर्ब निक्षेप संकलन गरेका थिए भने २९ खर्ब ३ अर्ब कर्जा परिचालन गरेका थिए ।
एक वर्षको अवधिमा वाणिज्य बैंकहरुले निक्षेप संकलन भन्दा एक खर्ब बढी कर्जा प्रवाह गरेका हुन् । आर्थिक वर्ष ०७७/७८ मा वाणिज्य बैंकहरुमा ७ खर्ब १४ अर्ब निक्षेप थपिएको छ । सोही अवधिमा बैंकहरुको कर्जा परिचालन ८ खर्ब १८ अर्बले बढेको छ ।
गत आवमा बैंकहरुमा असोज, चैत र असारमा निक्षेप उच्चदरले बढे्को देखिन्छ भने असोज, पुुस, चैत र असारमै कर्जा प्रवाह बढेको छ ।
गत आवको अन्तिम महिना असारमा वाणिज्य बैंकहरुले २ खर्ब ११ अर्ब निक्षेप संकलन गरेका छन् भने सो अवधिमा ७० अर्ब कर्जा परिचालन गरेका छन् ।
बैंकर्स संघका अनुसार गत आर्थिक वर्षको अन्तिम साता (असार २६ गतेदेखि असार ३१ गते) मात्रै वाणिज्य बैंकहरुले ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छन् । वाणिज्य बैंकहरुले असारको अन्तिम २ सातामै १ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकर्स संघले जनाएको छ ।
यसैगरी वाणिज्य बैंकहरुले असारको अन्तिम साता ४२ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका छन् । असारको तेस्रो साता पनि वाणिज्य बैंकहरुले ११ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।