
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिले पर्यटन क्षेत्रसम्बद्ध व्यवसायीहरुको माग सम्बोधन हुने बताएको छ । मौद्रिक नीति पर्यटन क्षेत्रअन्तर्गतका साना तथा मझौला व्यवसायलाई समेट्ने गरी ल्याउन पर्यटन व्यवसायीले आग्रह गरेपछि राष्ट्र बैंकले उक्त प्रतिवद्धता व्यक्त गरेको हो ।
पर्यटन व्यवसायीहरुले चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट पर्यटन व्यवसायीहरुले अपेक्षित लाभ लिन नसकेकाले अहिले सबै खालका पर्यटन व्यवसायीले राहत तथा सहुलियत पाउन सक्ने किसिमको मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई आग्रह गरेका छन् ।
नेपाल पर्यटन बोर्डले नयाँ आर्थिक वर्षको मौद्रिक नीतिमा पर्यटन क्षेत्रको सुझाव विषयमा आयोजना गरेको भच्युर्अल अन्तरक्रियामार्फत उनीहरूले भने, ’अन्य क्षेत्र चलायमान हुन समेत पर्यटन क्षेत्र चलायमान हुनु पर्नेछ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले गत वर्षको मौद्रिक नीतिले पर्यटन व्यवसायीलाई सहयोग पुगेपनि रकमको सीमितताका कारण र कतिपय कार्यविधिगत जटिलताका कारण सबैले त्यसबाट राहत लिन नसकको बताउनुभयो ।
कोभिडबाट सबैभन्दा बढी प्रभावित क्षेत्र भएका कारण पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको उहाँको भनाइ छ ।
’नयाँ मौद्रिक नीतिले पर्यटन क्षेत्रसँग सम्बद्ध व्यवसायीहरुका माग सम्बोधन गर्नेछ । यद्यपि बैंक तथा वित्तीय संस्थाहरुका पनि आ–आफ्नै सीमा र कार्यविधि हुने हुनाले त्यसलाई पालना गरेर मात्र ऋण दिन सकिनेछ,’ श्रेष्ठले भन्नुभयो ।पर्यटन मन्त्रालयका सहसचिव तारानाथ अधिकारीले मलुकको अन्य क्षेत्र चलयमान हुन पनि पर्यटन क्षेत्र चलायमान हुन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले मौद्रिक नीतिमा पर्यटन व्यवसायलाई उच्च प्राथमिकतामा राखिएन भने यो क्षेत्रबाट धेरै व्यवसायी र मजदूरहरु पलायन हुन सक्ने बताउनुभयो ।
बोर्डका सदस्य कृष्ण शाहले पर्यटन प्रर्वद्धन, ऋण र व्याजमा सहुलियत हुने गरी मौद्रिक नीति आउनुपर्ने बताउनुभयो ।
बोर्डका सदस्य पम्फा पौडेल धमलाले विगतको मौदिक नीतिबाट साना तथा मझौला व्यवसायीले लाभ लिन नसकेका कारण अहिलेको मौद्रिक नीतिले त्यस्ता व्यवसायीका माग सम्बोधन गर्ने अपेक्षा गरेको बताउनुभयो ।
बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले कोभिडले पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएपनि यो क्षेत्रले पर्याप्त राहत तथा सुविधा पाउन नसकको धारणा राख्नुभयो ।
बोर्डका निर्देशक सन्तोष पन्तले पर्यटन क्षेत्रका व्यवसायीहरुको मागलाई समेटेर मन्त्रालयमा पेश गरिसकेको बताउनुभयो ।
बोर्डका निर्देशक तथा सूचना अधिकारी मणिराज लामिछानेको संयोजगत्वमा आयोजित भर्चुअल अन्तरक्रिया कार्यक्रममा पर्यटन बोर्डका पूर्व सदस्य सुमन पाण्डे, नाटाका अध्यक्ष अच्युत गुरागाईं, रेबानका अध्यक्ष अरनीको राजभण्डारी, होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशलाल चुके, पर्यटन परिषद पोखराका अध्यक्ष गोपी भट्टराई, नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष रामहरि शर्मा लगायतको सहभागिता थियो ।