बैंकिङ खबर – समाचार विश्लेषण / एउटा वदनामी बैंक एनआईसी एशिया । जसको विषय उठ्न बाँकी ठाउँ छैन । ससाना गल्तीका कारण विगतमा धेरै बैंक तथा वित्तीय संस्थामाथि केन्द्रीय बैंक अर्थात नेपाल राष्ट्र बैंकले कार्बाही गरेका धेरै उदाहरणहरु छन् । नियमनकारी निकाय भएका कारण बैंकवित्तले गरेका गल्तीहरुलाई औल्याउने र कार्बाही गर्ने जिम्मेवारी राष्ट्र बैंकसँग छ । तथापि नेपालको एउटा बैंक एनआइइसी एशिया बैंक बदनामीको सिमा भन्दा माथि छ । उसका हर्कतहरुले बैंकवित्त माथि नै प्रश्न उठाएको छ । तथापी उसमाथि कार्बाही होइन छानविन समेत नहुनुले केन्द्रीय बैंकमाथि यस धेरै प्रश्न उठाएको छ ।
घटना नं. १. नेपाल राष्ट्र बैंक केन्द्रीय बैंक हो । उ नियमनकारी निकाय हो । राष्ट्र बैंकले एकल अंकमा झारेको व्याजदरलाई गत साता मात्रै बिराटनगरका ऋणीमाथि पत्राचार गरेर १६ प्रतिशत व्याज असुल्न तम्सिएको एनआईसी एशिया बैंकको हर्कत बाहिर आउँदा राष्ट्र बैंकले कार्बाही गर्न सकेन । अन्तत उक्त बैंकले उन्मुत्ति पायो ।
घटना नं. २ गत एक बर्षअघिको लकडाउनकै समयमा एनआईसी एशिया बैंकले राष्ट्र बैंकको नीति विपरीत ३७ वटा घर र दुईदर्जन जग्गा लिलामी गरेको थियो । लिलामीमा पर्नेहरुले पटक पटक राष्ट्र बैंकमा उजुरी हाले । तर राष्ट्र बैंकले कुनै एक्शन लिन सकेन । बीराटनगर उद्योग वाणिज्य संघको नेतृत्वमा होटल संघ, प्याव्सन लगायतका संस्थाहरु राष्ट्र बैंकको नियम उलंघन गरेकै कारण एनआइसी बैंकका विरुद्ध सो बैंकको केन्द्रीय कार्यालय घेराउ गर्न पुगे । बैंकको ज्यादती खपीनसक्नु भएपछि ऋणीहरु संगठित नै भए । तत्पश्चात बैंकर्स संघमै कुरा उठ्यो । बैंकर्स संघका ३ वटा बैठकहरु एनआईसी एशिया कै बारेमा छलफल गर्न बाध्य भयो । त्यस लगत्तै बैंकर्स संघले यो विषय राष्ट्र बैंकमा पुर्यायो । उक्त विषयपछि नेपाल राष्ट्र बैंकले सर्कुलर जारी गर्यो र लकडाउनका बेला कुनै पनि ऋणीको नाम प्रकाशन नगर्न निर्देशन जारी गर्यो । तथापी जतिवेला एनआईसी एशिया बैंकले दर्जनौ ऋणीका धितो कव्जा गरीसकेको थियो ।
यी घटनाहरु नमुना मात्रै हुन् । एनआईसी एशिया बैंकले गरेको ज्यादती वित्तीय रुपबाट हेर्ने हो भने माफी योग्य देखिँदैनन् । ऋणीहरु जानुपर्ने ठाउँ र न्याय माग्नुपर्ने सबै ठाउँ गए । तर न्याय नपाएपछि घरजग्गा एनआइसी एशियालाई सुम्पिएर सडकमा झरेका छन् । जसमध्ये कैयौका मुद्धा सर्बोच्च अदालतले नहेर्ने भन्दै फर्काइदिएको छ ।
राष्ट्र बैंकले जारी गरेका कैंयौ निर्देशनहरु एनआईसी एशिया बैंकबाट पालना भएका छैनन् । कैयौं कुराहरु बाहिर आएका छन् भने कैयौ आउन बाँकी छन् । विगतमा हरेक बैंकवित्तमा पुगेर अनुसन्धान गर्ने राष्ट्र बैंक एनआईसी एशिया बैंक प्रवेश गर्न नसक्नुले राष्ट्र बैंकमाथि गम्भिर प्रश्न उठाएको छ रानीतिक संरक्षण वा राष्ट्र बैंकको संरक्षण ?
एनआईसी एसिया बैंकका कारण ऋृणको व्याजमा प्रिमियम तोक्दै राष्ट्र बैंक
पछिल्लो समय एनआइसी एसिया बैंकले व्याजदरमा ग्राहक ठग्न बनाएको रणनीति बाहिर आयो । उक्त बैंकका विरुद्ध ग्राहकहरुनै एक हुन थाले । यसरी व्याज बढाउने अरु पनि केही बैंक छन् । ती बैंकका बारे सूचना आउन थालेको छ । यी बेंकले व्याजमा ग्राहक ठग्न थालेपछि प्रिमियम तोक्ने तयारीमा राष्ट्र बैंक लागेको छ ।
यस अघि नै बैंक वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले ऋणको ब्याज दर निर्धारण गर्नेगरी आधार दर तोकेको छ । आधार दरमा केही प्रिमियम जोडेर बैंकका ऋणीसँग व्याज निर्धारण गरेर बैंकहरुले व्याज तय गर्दे आएका छन् । तर बैंक तथा वित्तीय संस्थाहरुले प्रिमियम धेरै लिएर व्याज चर्को बनाउने गरेको तत्थ्य एनआईसी एसिया बैंकको पछिल्लो घटनाक्रमले देखायो । सो बैंकको चर्को व्याजले ग्राहकहरु त्रसित छन् । सो बैंकले लिएको व्याज कल्पना भन्दा बाहिर छ । सुरुमा कम व्याज लिने र पछि चर्को व्याज लिने तिर्न नसके सम्पति लिलाम गर्ने सो बैंकको रणनीति नै रहेको छ । बेंकले यस्तो रणनीति बनाएपछि प्रिमियम तोक्ने तयारीमा राष्ट्र बैंक लागेको हो । एनआईसी एसिया बैंकले सहकारीको भन्दा चर्को व्याज बनाएर ग्राहकलाई ठगी गरेको छ । बैंकले घर कर्जामा १६ प्रतिशत ब्याज लिएको भेटिएको छ । त्यसैगरी सवारी कर्जामा १५ प्रतिशत ब्याज लिएको पाइएको छ । बैंकले आफ्नो पुराना ऋणीलाई २०७८ सालदेखि ब्याजदर बढेको भन्दै पत्र काटेको छ । विराटनगर शाखाबाट घर कर्जा लिएका ग्राहकाई १५.७० प्रतिशत व्याज बुझाउन बैंकले पत्र काटेको छ ।
अब आधार दरमा थपीने प्रिमियम पनि केन्द्रीय बैंकले निर्धारण गर्ने छ । आधार दरमा थपीने प्रिमियमपछि बैंकबाट कर्जा निकाल्ने ऋणीको ब्याज बैंकले चर्को गर्न पाउँदैन ।
कुनै बैंकको आधार दर ६ प्रतिशत छ भने बैंकले ग्राहक र जोखिम अनुसार प्रिमियम लिन पाउने व्यबस्था छ । जसमा आधार दर ६ हुँदा ५ प्रतिशत प्रिमियम जोड्दा ११ प्रतिशत हुन्छ । प्रिमियम हाल राष्ट बेंकले प्रिमियम ५ प्रतिशत तोक्ने तयारी गरेको छ ।
सुपर चमत्कारीक कर्जाले धेरैको उठीबास हुँदै
गत बर्ष सुपर चमत्कारिक घर कर्जा भनेर ग्राहकले वार्षिक ८।२५ प्रतिशत ब्याजदर तथा मात्र ०।२५ प्रतिशत प्रशासनिक शुल्कमा आफ्नो ‘सपनाको घर’ बनाउन सक्ने भन्दै प्रचार प्रशार गरेर घर किन्न सबैलाई उक्सायो । बारम्बार कर्जाको ब्याजदर परिवर्तन हुने समस्यालाई पनि सम्बोधन गर्दै यस ‘सुपर चमत्कारिक घर कर्जा’ मा पहिलो एक वर्षसम्म कर्जाको ब्याजदर परिवर्तन नगर्ने बैंकले बताएपछि घर किन्न धेरै तम्सीए ।
संझौतामा दोस्रो वर्ष पश्चात् बैंकको आधार दरमा प्रिमियम थप्ने अर्थात बढीमा ८.२५ प्रतिशतसम्म प्रिमियम थप्ने भन्ने उल्लेख गरियो । यो कुरा ऋणीले बुझेनन् । र सबैले भकाभक संझौता गरेर घर खरीद गरे । बैंकले एक वर्ष ब्याज परिवर्तन गरेन । तर नयाँ बर्ष लाग्ने वित्तीकै १६ प्रतिशतसम्म व्याज लिनेगरी बैंकले भकाभक पत्राचार सुरु गरेपछि घटना बाहिर आयो । फलस्वरुप राष्ट्र बैंकले कार्बाही गर्नुको सट्टा अर्को नीति संशोधन गर्ने अर्थात प्रिमियम दर तोक्ने तयारी गरेको छ । तर यसबाट धेरै ऋणी पीडित बन्नेछन् ।
लकडाउनमै घर कव्जा राष्ट बैंकको नीतिलाई धोती न टोपी !
दर्जनौ ती पीडीत व्यक्तिहरुका पीडामध्येको एउटा व्यथा छ पाल्पाको । जसमा एनआईसी एशिया बैंकले राम्रो घर कव्जा गर्ने रणनीति बनायो । गत बर्ष बैंकले लकडाउनकै बेला ऋण तिर्न व्यबसायीलाई बारबार फोन गर्ने र पत्र काट्ने गरेर टर्चर दिएको थियो ।
एनआईसी एशिया बैंकले पुनरकर्जा दिएर संरक्षण गर्नुपर्ने (ऋणी) उद्यमीलाई उठीबास लगाउनेगरी घर लिलामको पत्र थमायो । जसको तनावमा यी उद्यमी ठुलो पीडामा परे । एकातिरको राष्ट्र बैंकको निर्देशन र अर्कातिर बैंकको व्यबहार उनले प्रत्यक्ष भोगे । बैंकले पुनरकर्जा दिनुपर्ने ग्राहकहरुलाई राम्रो घर देखेरै लिलामको प्रकृया भकाभक अगाडि बढायो । बैंकका शाखा प्रमुखले बैंकिङ खबरसँग भने ‘माथिबाट निर्देशन आउँछ, केन्द्रीय कार्यालयको निर्देशन मान्नै पर्छ, नत्र जागिर जान्छ, लिलाम प्रकृया अगाडि बढाउँदा विरोध हुन्छ, तर हामी बाध्य छौं’
बैंकले पाल्पामा एक व्यबसायीलाई २०७७ असार मसान्तसम्मको सबै व्याज चुक्ता गर्दा पनि सिधै घर लिलामीको पत्र काट्यो । उनले बैंकबाट ऋण लिएका कारण ऋण रोक्ला भन्ने डरले बैंकले गरेको अपराध विरुद्ध बोल्न नसकेको बताए । नियामक निकायको राहत प्रमाण बोकेर उनी बैंकसम्म पुगे । तथापि बैंकले कुनै कुराको सुनुवाई नगरेर एकपक्षिय रुपमा पत्र काटेको उनले बताए ।

राष्ट्र बैंकमा थन्कीए सयौं उजुरीहरु
एनआईसी एसिया बैंकले बढी व्याज लिएको भन्दै कोरोना महामारीका बेला ऋणीलाई दुख दिएको, सम्पत्ति कव्जा गर्ने रणनीति बनाएको आरोपमा उक्त बैंक विरुद्ध राष्ट्र बैंकमा पीडितहरुले सयौं निवेदन दिएका छन् । सबै निवेदन थन्किएका छन् । राष्ट्र बैंककै अनुसार यस्ता निवेदन दिनहुँ आउँछन् । एनआईसी एसिया बैंक बिरुद्ध यो साता मात्रै करिव दुइदर्जन उजुरी राष्ट्र बैंकमा परेका छन् । कैयौं व्यबसायीहरु विगतबाटै उत्त१m बैंकका विरुद्ध छन् । व्यक्ति होइन संस्था नै लाग्दा पनि एनआईसी एशिया डग चलेन । होटल व्यबसायीहरु, यातायात व्यबसायीहरु, विद्यालय एवं शैक्षिक संस्थाका विभिन्न संगठनहरु प्याव्सन, एनप्याव्सन, अभिभावक संघ नेपाल, नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ ब्यवसायी संघ, सुनचाँदी ब्यवसायी महासंघ जस्ता संस्थाहरु पनि एनआइसी एसिया बैंकले गरेको ज्यादतिका विरुद्धमा छन् ।




