काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्ष २०७२/७३ मा २ अर्ब ७४ करोड ६७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सो रकम अघिल्लो आवको तुलनामा ३२ दशमलव ७३ प्रतिशत बढी हो । आव २०७१/७२ मा महानगरपालिकाको राजस्व विभागले २ अर्ब ६ करोड ९४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । जबकि, सोही आवमा महानगरपालिकालाई सरकारले १ अर्ब ३१ करोड रुपैयाँ अनुदान उपलब्ध गराएको थियो ।
सो अवधिमा सबैभन्दा धेरै राजस्व घरजग्गा करबाट सङ्कलन भएको छ । महानगरपालिकाका अनुसार घरकर्जा करबाट ५४ करोड रुपैयाँ सङ्कलन भएको छ । यो रकम अघिल्लो आवको सोही शीर्षकबाट सङ्कलन भएको रकमभन्दा ४ प्रतिशत बढी हो । गत आव २०७२/७३ मा महानगरपालिकाले घरबहाल करबाट करीब ११ करोड ३९ लाख रुपैयाँ राजस्व आर्जन गरेको छ । अघिल्लो आवको तुलनामा उक्त रकम १७ प्रतिशत बढी हो । त्यस्तै, सो अवधिमा नक्सा पासबाट नगरपालिकाले २७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सो रकम अघिल्लो आवभन्दा १ सय ६० प्रतिशतले बढी हो । आव २०७१/७२ मा नक्सा पासबाट १० करोेड मात्र राजस्व सङ्कलन भएको थियो ।


