विज्ञान र प्रविधिले फड्को मारेसंगै त्यसले मानिसको जीवनयापन निकै सहज बनाएको छ । मानिसहरुको समय बचत भएको छ । सामान्यता जोखिम घटेको छ । बैंकिङ जगतमा नगदरहित प्रविधिको विकास हुँदै गर्दा भ्रमण, किनमेल तथा अन्य प्रयोजनका लागि ‘क्यास’मा बोकेर हिड्नुपर्दैन । यसो हुँदा मानिसलाई नगदले निम्त्याउने जाखिम त्यति धेरै हुँदैन र उनीहरुले अलि बढी सुरक्षित महसुस गर्न थालेका छन् । अहिले विश्वमा थुप्रै प्रकारका नगदरहित प्रविधि वा डिजिटल कार्डहरु प्रयोगमा छन् । ती सबै हामीकहाँ भित्रिसकेका छैनन् । यद्यपी पछिल्लो समय प्रयोगमा भने आइसकेका छन् । हेरौँ अहिले विश्वमा प्रयोग भईरहेका नौ कार्ड र तीनका विशेषता :
क्रेडिट कार्ड
क्रेडिट कार्ड कुनै पनि उत्पादनको खरिद गरेसँगै रकम भुक्तानीका लागि प्रयोग गरिन्छ । बैंकहरूबाट उपलब्ध हुने यस्तो कार्डमार्फत निश्चित सीमासम्म खर्च गर्न सकिन्छ । क्रेडिट कार्डमार्फत प्रयोग गरेको रकम तपाईंलाई जुन संस्थाले कार्ड दिएको हो, सो संस्था तथा बैंकलाई भुक्तानी गर्नुपर्छ ।
डेबिट कार्ड
चेक या नगदमा भुक्तानी गर्नुपर्ने स्थानमा डेबिट कार्डको प्रयोगमार्फत भुक्तानी गर्न सकिन्छ । सामान्यतया डेबिट कार्ड बैंकहरूले आफ्ना खातावाल ग्राहकका लागि जारी गरेका हुन्छन् । तपाईंले कुनै सामान खरिदमा जति रकम खर्च गर्नुहुन्छ, त्यति नै रकम तपाईंको खाताबाट कट्टा गरिन्छ । यस्तो कार्डले पनि नगद या चेक भुक्तानी गर्नुपर्ने बाध्यतालाई हटाएको छ ।
चार्ज कार्ड
एउटा चार्ज कार्डमा क्रेडिट कार्डमा हुने सबै प्रकारका सुविधा उपलब्ध हुन्छन् । चार्ज कार्ड प्रयोगकर्ताले तोकिएको समयमा आफूले प्रयोग गरिसकेको रकम भुक्तानी गर्नुपर्छ । त्यसो गर्न असफल भएमा अतिरिक्त शुल्क लाग्छ ।
एमेक्स कार्ड
खासगरी, मास्टर वा भिसा कार्डमा भर पर्नुपर्ने बाध्यता हटाउन एमेक्स कार्डको प्रयोग गरिन्छ । ठूला कारोबार गर्ने व्यावसायिक प्रतिष्ठानहरूले यस प्रकारको कार्ड बढी प्रयोग गर्ने गर्छन् । यसमा पनि चार्ज कार्डका विशेषता बढी हुन्छन् । यो कार्ड उच्च आय भएका व्यक्ति र कम्पनीका लागि मात्र जारी हुने भएकाले आमपसल या होटेलहरूमा नचल्न पनि सक्छ । तर, यो कार्डवालाहरूका लागि धेरै प्रकारका सुविधा दिइएको हुन्छ ।
को–ब्रान्डेड कार्ड
क्रेडिट कार्डका उपभोक्तालाई खास सुविधासहित उपलब्ध गराइएको कार्ड नै को–ब्रान्डेड कार्ड हो । यस्तो कार्ड खास एक लोकप्रिय ब्रान्डसँगको सहकार्यमा जारी गरिन्छ । उदाहरणका लागि एक म्युजिक कम्पनीको को–ब्रान्डेड कार्ड लिने ग्राहकले उक्त कम्पनीका क्यासेटमा विशेष छुट, कम्पनीका कार्यक्रममा निःशुल्क प्रवेशजस्ता विविध लाभ र सुविधा प्राप्त गर्न सक्छन् ।
मास्टर कार्ड वा भिसा कार्ड
यी चेकरहित कारोबारलाई बढावा दिन सर्वा्धिक प्रचलनमा आएका कार्ड हुन् । यी कार्ड उपलब्ध भएपछि विश्वमा कार्डको प्रयोग ह्वात्तै बढेको हो । यिनको प्रयोग यति फैलियो कि आज भिसा वा मास्टर कार्डको प्रयोग गरी विश्वको जुनसुकै स्थानमा पनि सामान खरिद गर्न सकिन्छ । तर, यो एउटा नेटवर्कमा आधारित हुन्छ । ती नेटवर्कमा आधारित भएका मास्टर र भिसा कार्ड मात्र प्रयोग गर्न सकिन्छ ।
स्मार्ट कार्ड
स्मार्ट कार्ड खासगरी सानो परिमाणको रकम भुक्तानी गर्ने प्रयोजनमा प्रयोग गरिन्छ । बसको यात्रा गर्दा होस् या कफी, चियाको बिल भुक्तानी गर्ने कार्यमा स्मार्ट कार्ड प्रयोगमा ल्याइन्छ । यो कार्ड प्रयोग गरेपछि अन्य कार्डमा जस्तै स्लिपमा हस्ताक्षर गर्नुपर्दैन । स्मार्ट कार्डमा रहेको पैसा प्रयोगपिच्छे काटिन्छ । कतिपय विकसित मुलुकमा यो कार्ड प्रयोगमा आइसकेको छ । छिमेकी मुलुक भारतमा पनि यसको प्रयोग सुरु भए पनि नेपालमा भने स्मार्ट कार्ड अझै प्रचलनमा आएको छैन ।
डिनर्स क्लब कार्ड
भिसा या मास्टर कार्डमा भर पर्नु नपर्ने यो कार्ड पनि खासगरी उच्च आय हुने वर्गले प्रयोगमा ल्याउने गर्छन् । यसमा धेरै प्रकारका सुविधा उपलब्ध हुन्छन् । यस कार्डमा आफ्नो खर्चको सीमा निर्धारण गर्नसक्ने सुविधा छ । व्यावसायिक संघ–संस्थाका लागि पनि डिनर्स कार्ड उपयोगी छ ।


