बैंकिङ खबर/ साताको दोस्रो कारोबार दिन पनि शेयर बजारमा ठूलो पहिरो गएको छ । सोमबार नेप्से परिसूचकमा ६५.५८ अंकको गिरावट आएको छ । सोमबार २.५५ प्रतिशतले घट्दै नेप्से २५०६.६१ विन्दु कायम भएको छ । आइतबार नेप्से परिसूचक ७५.७९ (२.८६ प्रतिशत) अंकले घट्दै २५७२.२२ विन्दुमा बन्द भएको थियो । गत साता पनि समग्रमा नेप्से ८७.३९ अंक (३.१९ प्रतिशत) ले घटेको थियो । अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से २६४८ विन्दुमा बन्द भएको थियो ।
सोमबार सेन्सिटिभ इन्डेक्स ११.२५ अंक (२.४२ प्रतिशत) ले घटेर ४५२.७९ अंकमा बन्द भएको छ, जुन आइतबार १२.५६ अंक (२.६३ प्रतिशत) ले घटेको थियो । फ्लोट इन्डेक्समा ३.५९ अंक (२.५५ प्रतिशत) को गिरावट आएको छ ।
सोमबार पनि सबै उपसमूह रातो रहे । सोमबार जलविद्युत समूहका लगानीकर्ताले सबैभन्दा बढी गुमाए । यस उपसमूहमा सोमबार ४.०४ प्रतिशतको गिरावट आएको छ । म्युच्युअल फन्ड उपसमूहले भने सबैभन्दा कम ०.८१ प्रतिशत गुमाएको छ ।
आइतबार बैंकिङ समूह ४०.७३ अंक (२.२९ प्रतिशत) ले तल झरेको छ । डेभलपमेन्ट बैंक उपसमूहले ३.५९ प्रतिशतको नोक्सानी व्यहोरेको छ । ट्रेडिङ उपसमूहमा ३.५९ प्रतिशतको गिरावट आएको छ । आइतबार ६ प्रतिशतभन्दा बढी घटेको होटेल एन्ड टुरिजम सेक्टरले सोमबार २.१२ प्रतिशत गुमाएको छ । माइक्रोफाइनान्स उपसमूहका लगानीकर्ताले २.२ प्रतिशत गुमाएका छन् । ननलाइफ इन्स्योरेन्सका लगानीकर्ताको पोर्टफोलियो ३.०२ प्रतिशतले घटेको छ । त्यसैगरी, लाइफ इन्स्योरेन्स उपसमूहले २.१५ प्रतिशत घाटा व्यहोरेको छ । फाइनान्स उपसमूहले २.२४ प्रतिशत गुमाउँदा म्यानुफ्याक्चरिङ एन्ड प्रडक्सन उपसमूहले १.७७ प्रतिशतको नोक्सानी व्यहोरेको छ ।
सोमबार नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । यस दिन कुल ६ अर्ब ५९ करोड ९ लाख २८ हजार २ सय २ रुपैयाँबराबरको २ सय २० कम्पनीका १ करोड २९ लाख ११ हजार ७ सय २१ कित्ता शेयर किनबेच भएको छ । सोमबारको कारोबार रकम आइतबारभन्दा करिब ६९ करोड कम हो । आइतबार कारोबार रकम ७ अर्ब २८ करोड ४१ लख ९४ हजार ९ सय १ रुपैयाँ थियो ।
कारोबार खुलेदेखि नै तीव्र गतिमा घटेको बजार केही समयपछि करिब–करिब फर्किएको थियो । तर, फर्किएको बजार हरियो बन्न नसकेपछि पुनः ओरालो लाग्यो । मध्यदिनमा केही घण्टा २५ देखि ४० अंकको गिरावटमा घुमिरहेको बजार अन्तिम घण्टातिर तीव्र गतिमा घटेर अन्ततः ६५.५८ अंक घटेको अवस्थामा बन्द भयो ।
कोभिड १९ को दोस्रो लहरको प्रभाव बढ्दै गएसँगै सम्भावित लकडाउनले यतिवेला सबैजसो क्षेत्रलाई प्रभावित बनाइरहेको छ । शेयर बजारमा भने यसको प्रभाव ज्यादा नै देखिएको छ । सोमबारको बजारमा ३ दिनपछि लकडाउन हुने हल्लाले काम गरको देखियो । अहिले भएको शेयर बेच्ने र लकडाउनपछि अन्य क्षेत्रमा लगानी गर्ने वातावरण नभएपछि शेयर बजारमा लगानी थुप्रिन थालेसँगै पुनः अहिलेको भन्दा सस्तो मूल्यमा त्यही शेयर उठाउन पाइने आकलन लगानीकर्तामा देखियो । सोमबार दिनैभर लगानीकर्ताले ‘प्यानिक सेल’ गरिरहेको स्पष्ट देखिन्थ्यो । अघिल्लो साता पनि घटेको बजारमा यो साताका दुवै कारोबार दिन ठूलो अंकले गिरावट आएसँगै लगानीकर्ताको मनोबल गिर्दा प्यानिक सेलको अवस्था आएको हो । बिहीबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी हुने समाचार आएसँगै लगानीकर्तामा हतासा बढेको बजारको ट्रेन्डमा पढ्न सकिन्थ्यो ।
आइतबार कारोबार गरिएकामध्ये १८ वटा कम्पनीको मात्र शेयरमूल्य बढेको छ । बजारमा उच्च गिरावट आएको दिन पनि बिशालबजार कम्पनी र महिला लघुवित्तको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भए । यी दुई कम्पनीका लगानीकर्ताले आइतबारको उच्च गिरावटमा पनि करिब प्रतिशतकै प्रतिफल हासिल गरेका थिए । सोमबार रिलायन्स फाइनान्सका लागानीकर्ताले सबैभन्दा बढी ८.०६ प्रतिशत गुमाएका छन् ।
कारोबार रकमका हिसाबले सोमबार पनि इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) ३७ करोड ६२ लाखसहित अग्रस्थानमा छ । दोस्रो बढी रकममा कारोबार भएको अपर तामाकोसी जलविद्युत कम्पनीको करिब ४० करोड ४० लाखबराबरको शेयर किनबेच भएको छ