Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शेयर बजारमा लकडाउन त्रास : ७६ अंकको पहिरो

२०७८ बैशाख १२ गते

बैंकिङ खबर/ साताको पहिलो कारोबार दिन शेयर बजारमा ठूलो पहिरो गएको छ । आइतबार नेप्से परिसूचकमा ७५.७९ अंकको गिरावट आएको छ । आइतबार २.८६ प्रतिशतले घट्दै नेप्से २५७२.२२ विन्दु कायम भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से २६४८ विन्दुमा बन्द भएको थियो ।
गत साता समग्रमा नेप्से ८७.३९ अंक (३.१९ प्रतिशत) ले घटेको थियो । आइतबार सेन्सिटिभ इन्डेक्स १२.५६ अंक (२.६३ प्रतिशत) ले घटेको छ ।

आइतबार कुनै पनि उपसमूह हरियो बन्न सकेन । सबैभन्दा ठूलो नोक्सानी होटेल तथा पर्यटन समूहले व्यहोरेको छ । यस उपसमूहमा आइतबार ६.१४ प्रतिशतको उच्च गिरावट आएको छ । म्युच्युअल फन्ड उपसमूहले भने सबैभन्दा कम ०.७ प्रतिशत गुमाएको छ । आइतबार बैंकिङ समूह ४२.६५ अंक (२.३४ प्रतिशत) तल झरेको छ । डेभलपमेन्ट बैंक, ट्रेडिङ, माइक्रोफाइनान्स समूहका लगानीकर्ताले पनि करिब ३ प्रतिशतको हाराहारीमा गुमाएका छन् । ननलाइफ इन्स्योरेन्सले ३.३४ प्रतिशत गुमाउँदा लाइफ इन्स्योरेन्स समूहले २.६८ प्रतिशत क्षति व्यहोरेको छ । गत साता तुलनात्मक रूपमा बढी आकर्षण देखिएको जलविद्युत समूहले आइतबार ४.३४ प्रतिशतको उच्च गिरावट व्यहोरेको छ ।

आइतबार कारोबार रकममा भने केही सुधार देखिएको छ । यस दिन कुल ७ अर्ब २८ करोड ४१ लख ९४ हजार ९ सय १ रूपैयाँको शेयर कारोबार भएको छ । गत कारोबार दिन (बिहीबार) को कारोबार रकम ५ अर्ब ९१ करोड मात्र थियो । आइतबार २ सय १५ वटा कम्पनीको १ करोड ४६ लाख ९० हजार ७ सय २० कित्ता शेयर किनबेच भएको छ ।

बजार खुलेको केही समय बढेको बजार घट्न थालेपछि निरन्तर ओरालो लागेको थियो । आइतबारको इन्ट्रा डे गिरावट करिब १०० अंकको छ । कोभिड १९ को दोस्रो लहरको प्रभाव बढ्दै गएसँगै लकडाउनका लागि सिफारिस हुन थालेपछि लगानीकर्ताको मनोबल गिरेका कारण बजारमा रातो पोतिएको विश्लेषकहरूको भनाइ छ ।

आइतबार कारोबार गरिएकामध्ये १ सय ७६ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने जम्मा ८ वटा कम्पनीको मूल्य बढेको छ । बजारमा उच्च गिरावट आएको दिन पनि महिला लघुवित्त र विशाल बजार कम्पनीका लगानीकर्ताले भने करिब १० प्रतिशत कमाएका छन् । कालिका पावर र मिर्मिरे माइक्रोफाइनान्सको शेयरमूल्य क्रमशः ३.४५ र ३.०५ प्रतिशत बढेको छ । आइतबार चन्द्रागिरि हिल्स र नारायणी डेभलपमेन्ट बैंकका लागानीकर्ताले ८ प्रतिशतभन्दा बढी गुमाएका छन् ।

कारोबार रकमका हिसाबले आइतबार इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) ३९ करोड ५२ लाखसहित अग्रस्थानमा छ । त्यस्तै, ज्योति लाइफको ३३ करोड ८५ लाख, अपर तामाकोसीको २५ करोड ९७ लाख, नबिल बैंकको २० करोड ९७ लाख, एनआइसी एसिया बैंकको २० करोड ५६ लाख रूपैयाँबराबरको शेयर कारोबार भएको छ ।

कोभिडको प्रभावका कारण अन्य क्षेत्रमा लगानी निरुत्साहित भइरहँदा र बैंक ब्याजदरसमेत घटिरहेको अवस्थामा शेयर बजारमा देखिएको ठूलो गिरावटलाई विश्लेषकहरूले स्वाभाविक करेक्सन मात्र मानेका छन् । लकडाउनको त्रासका कारण लगानीकर्ता लगानीका लागि पर्ख र उपयुक्त मौका हेर को अवस्थामा रहेकाले बजारमा करेक्सन आएको उनीहरूको भनाइ छ ।

Ad