बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको स्थिती न्युन बन्दै गएको भन्दै नेपाल राष्ट्र बैंकले रिपो जारी गर्ने भएको छ । वित्तीय प्रणलीमा तरलता प्रदान गर्न राष्ट्र बैंकले ४ वर्षपछि बुधबार बैंकिङ प्रणालीमा ५ अर्ब रुपैयाँ पठाउने भएको हो । यसअघि केन्द्रीय बैंकले ०६८ सालको अन्ततिर रिपोमार्फत बजारमा पैसा पठाएको थियो । त्यसयताका ४ वर्ष भने वित्तीय प्रणालीमा अधिक तरलता देखिएपछि केन्द्रीय बैंकले तरलता प्रशोचनका लागि रिभर्स रिपो, ऋणपत्र, निक्षेप खरिदलगायतका विभिन्न वित्तीय उपकरण प्रयोग गर्दै आएको थियो ।
ब्याजदरमा स्थायित्व ल्याउन र बजारमा भएको अधिक तरलता प्रशोचनका लागि ‘ब्याजदर करिडोर’ लागुगरेको एक हप्तामै राष्ट्र बैंकले बुधबार रिपोमार्फत वित्तीय बजारमा तरलता पठाउन लागेको हो । गत बुधबार र विहिबारमा राष्ट्र बैंकले करिब १७ अर्ब बराबारको तरलता बजारबाट प्रशोचन गरेको थियो । बजारमा तरलता कम भएको पाएपछि राष्ट्र बैंकले बुधबार बजारमा तरलता पठाउने निर्णय लिएको हो । बैंक तथा वित्तीय संस्थालाई नगदको आवश्यकता भएपछि केन्द्रीय बैंकले रिपोमार्फत उनीहरूलाई तरलता प्रदान गर्छ । यसरी हेर्दा वित्तीय प्रणालीमा तरलता सन्तुलन भइरहेको बुझिन्छ । साथै, गत साता केन्द्रिय बैंकले लागु गरेको ‘ब्याजदर करिडोर’ को कार्यान्वयन प्रभावकारी भएको देखिन्छ ।
राष्ट्र बैंकले १४ दिनका लागि बैंक तथा वित्तीय संस्थालाई तरलता प्रदान गर्न ५ अर्ब रुपैयाँ बराबरको रिपो ३.७२२३ प्रतिशत ब्याजदरमा बोलकबोलमार्फत जारी गर्न लागेको हो । ब्याजदर करिडोरको अवधारणाअनुसार केन्द्रीय बैंकले सो रिपोमा लिने ब्याजदर पनि निश्चित गरेको छ । आगामी भदौ १५ गते साँवा तथा ब्याज भुक्तानी हुने सो रिपोका लागि बैंक तथा वित्तीय संस्थाले थोरैमा १ करोड र धेरैमा १ करोडले निशेष भागजाने कुल निष्कासित रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । तोकिएको रकमभन्दा बढि माग भएमा समानुपातिक रुपमा बाँडफाँड गरिने व्यवस्था रहेको छ । रिपो उपकरणको बोलकबोलमा रिपर्चेज एग्रिमेन्ट गरेका नेपाल राष्ट्र बैंकबाट इजाजत पाएका ‘क’ ‘ख’ र ‘ग ’ वर्गका बैंक तथा वित्तीय संथाहरु मात्र सहभागि हुन पाउने प्रबधान राष्ट्र बैंकद्धारा जारी सूचनामा जनाइएको छ । राष्ट्र बैंकको जारी सूचनामा रिपो बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाले बोल गरेको रकमको ११० प्रतिशत सरकारी सुरक्षणपत्रहरू बोलकबोल भएको दिन पाँच बजेभित्र राष्ट्र ऋण विभागमा पेस गर्नुपर्ने बताएको छ ।


