बैंकिङ खबर/ धनगढी घर भई हाल काठमाडौं बस्दै आएकी सीता परियार (नाम परिवर्तन) अहिले बैंकबाटै कारोबार गर्दै आएकी छिन् । उनको अहिले तीनवटा बैंकमा खाता छन् । उनी आफूलाई मन लागेको र सहज हुने बैंकमा बचत गर्ने र अप्ठ्यारो पर्दा झिक्ने गर्छिन् ।
पहिले बैंक खाताबारे खासै चासो नदिएकी उनी हाल बैंकबाटै कारोबार गर्दै आएकी छिन् । उनी एटिएम कार्ड पनि प्रयोग गर्छिन् । उनी भन्छिन्, ‘बैंक खाता भएसँगै बचत गर्न सहज भएको छ ।’
सीताजस्तै लमजुङ बेँसीसहर नगरपालिका–९ की शान्तामाया वि.क.ले पनि गएको मंसिरमा पहिलोपटक बैंक खाता खोलेकी छिन् । उनले बैंक खातासँगै केही बचत पनि गरेकी छिन् । बैंक खाता खोल्दा पैसा सुरक्षित भएको र भविष्यका लागि बचत गर्ने बानीको विकास भएको उनी बताउँछिन् । ‘सदरमुकाम बेँसीसहर पुगेर बैंक खाता खोलेकी छु । केही पैसा पनि जम्मा गरेकी छु,’ उनी भन्छिन् । उनीजस्तै गाउँदेखि सहरसम्मका धेरै महिलाका अहिले बैंक खाता छन् ।
पछिल्लो समय वित्तीय क्षेत्रमा नेपाली महिलाको पहुँच क्रमशः बढ्दै गएको छ ।
३१ प्रतिशत महिलासित सक्रिय बैंक खाता : राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकका अनुसार ३१ प्रतिशत महिलासँग सक्रिय बचत खाता रहेको छ, जुन पुरुषको तुलनामा भने केही कम हो । राष्ट्र बैंकका अनुसार नेपालमा ४८ प्रतिशत पुरुषसँग सक्रिय बचत खाता रहेको छ ।
राष्ट्र बैंकका सहायक प्रवक्ता एवं सूचना अधिकारी नारायणप्रसाद पोखरेल सरकारको ‘खोलौँ बैंक खाता’ अभियानले पनि महिलालाई खाता खोल्न प्रोत्साहन गरेको बताउनुहुन्छ ।
‘सोसल बेनिफिटहरू पनि बैंक खाताबाटै रकमान्तर हुने भन्ने पोलिसी सरकारले ल्यायो । यसले बैंक खाता खोल्ने महिलाको संख्या बढेको छ,’ प्रवक्ता पोखरेल भन्नुहुन्छ, ‘वृद्धभत्ता, एकल महिला भत्ता सबै किसिमका सामाजिक सुविधाहरू खातामार्फत नै प्रवाह गर्ने हिसाबले खाताको आवश्यकता प¥यो । अर्को तर्फ रेमिट्यान्स रेसिडेन्टहरूले बैंक खाता हुनुपर्छ भन्ने गरेकाले महिलाहरू खाता खोल्न बाध्य हुनुभएको छ ।’
चारैतर्फबाट बैंक खाता हुनुपर्ने अवस्था आएपछि र केही हदसम्म वित्तीय जागरणका कारण पनि खाता खोल्ने महिलाको संख्या बढिरहेको प्रवक्ता पोखरेलको बुझाइ छ ।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) ले केही वर्षअघि गरेको एक अध्ययनमा समेत नेपाली महिलामा बैंक खाता खोल्नेको संख्या बढेको देखिएको थियो । मानव विकास सूचकांकको ‘वित्तीय संस्थामा महिलाका खाता’ शीर्षकमा समावेश गरिएको सो शीर्षकमा सन् २०११ देखि सन् २०१७ सम्मको तथ्यांकमा नेपाली महिलाले पछिल्लो ६ वर्षमा नै दोब्बर खाता खोलेको पाइएको थियो ।
प्रतिवेदनले महिला क्रमशः वित्तीय संस्थाको पहुँचमा पुग्दै गएको र त्यो संख्या क्रमशः बढ्दै जाने देखाएको थियो । सहरी तथा ग्रामीण क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको पहुँच बढ्दै गएको, बचत गर्नुपर्छ भन्ने मान्यताको विकास भएका कारण पनि बैंकिङ कारोबार गर्ने महिलाको संख्यामा वृद्धि भएको हो ।
सरकारले बजेटमा हरेक नेपालीको एक बैंक खाता अनिवार्य खोल्ने कार्यक्रम ल्याएको छ । सो कार्यक्रमले समेत महिलाको संख्यामा वृद्धि हुने देखिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार नेपालमा ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ४९ तहमा वाणिज्य बैंकहरूका शाखा विस्तार भएका छन् । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको विवरणअनुसार माघसम्म ७ सय ४९ तहमा वाणिज्य बैंकहरूका शाखा विस्तार भएको हो । स्थानीय तहमा वाणिज्य बैंकहरूको उपस्थितिलाई हेर्दा प्रदेश १ मा १ सय ३७ स्थानीय तहमध्ये सबैजसोमा बैंकको शाखा पुगेको छ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा भने बैंक शाखा पुग्ने क्रममा छ ।
प्रदेश २ का १ सय ३६ स्थानीय तहमध्ये सबैमा बैंक शाखा पुगेका छन् । बागमती प्रदेशका १ सय १९ स्थानीय तहमध्ये माघसम्म १ सय १८ स्थानीय तहमा बैंक शाखा पुगेको छ । धादिङको रुवीभ्याली गाउँपालिकामा बैंक शाखा पुग्ने क्रममा रहेको छ । गण्डकीका ८५ स्थानीय तहमध्ये सबै स्थानीय तहमा बैंक शाखा पुगेको छ ।
लुम्बिनीका सबै १ सय ९ स्थानीय तहमा बैंक शाखा पुगेको छ । कर्णाली ७९ स्थानीय तहमध्ये ७८ स्थानीय तहमा बैंक शाखा पुगेको अवस्था छ भने जाजरकोटको जुनीचदी गाउँपालिकामा पुग्ने क्रममा छ । सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये ८७ स्थानीय तहमा बैंकका शाखा पुगेको अवस्था छ । बझाङको काँडा गाउँपालिकामा भने बैंक शाखा पुग्ने क्रममा छ ।
संघीयता कार्यान्वयनमा आएसँगै सरकारले सबै स्थानीय तहमा वाणिज्य बैंकलाई आफ्ना शाखा विस्तार गर्न बाध्यकारी व्यवस्था गरेको छ । स्थानीय तहसम्म बैंकका शाखा विस्तार हुनुले पनि महिलालाई बैंक खाता खोल्न सहज भएको छ । यसका कारण बैंकमा उनीहरूको पहुँच बढ्दै गएको छ ।
बैंकिङमा महिलाको पहुँच बढाउने उपायबारे महिला बैंकरको सुझाब
बचत गर्न पुरुषभन्दा नारीको नै बढी चाहना हुने आधारमा बैंक तथा वित्तीय संस्थाले पनि महिलालाई लक्षित गरी विभिन्न नाममा बचत खाता सञ्चालनमा ल्याउँदै आएका छन् । तर, त्यतिले मात्रै नपुग्ने नेपाल राष्ट्रिय वाणिज्य बैंक काठमाडौं विशाल बजार शाखाकी प्रमुख दुर्गा कँडेल (छत्कुली) बताउनुहुन्छ ।
कँडेल भन्नुहुन्छ, ‘कृषि क्षेत्रमा आबद्ध महिलालाई न्यूनतम ब्याजदरमा कृषि कर्जा उपलब्ध गराउनुपर्छ । यसले कृषिसँग सम्बन्धित महिलालाई बैंकसम्म आउने ठाउँ दिन्छ ।’
अर्कोतर्फ बैंकहरूले अहिलेसम्म ‘महिला शिक्षा कर्जा’ दिन नसकेको शाखा प्रमुख कँडेलको भनाइ छ । ‘जति इजुकेसन लोन भन्छौँ, बाबु, आमा, छोरालाई लोन लिन खोज्छन्, तर छोरीलाई पढाउन लोन लिन खोज्दैनन्,’ उहाँ भन्नुहुन्छ, ‘यसमा वोमेन इजुकेसन लोन भनेर बैंकहरूले एउटा सहुलियत दरमा एउटा प्रोडक्ट निकाले भने यसले महिलाको खाता बढ्छ ।’
पुरुषको भन्दा महिलाको बचत तथा मुद्दती खातामा केही बढी ब्याज दिन सकिएमा पनि महिलाको बैंकमा पहुँच बढ्ने कँडेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘महिला उद्यमी खातामा ब्याजदर बढी दिन सकियो भने पनि महिलाको बैंकसँग जोडिने सम्बन्ध बढ्छ ।’ राज्यले नै महिलालाई बैंकसम्म पहुँच पुर्याउन विशेष पोलिसी ल्याउनुपर्ने कँडेलको सुझाब छ ।