Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एक सातामै ३.३९ बाट १.३८ प्रतिशतमा झर्‍यो अन्तरबैंक ब्याजदर

२०७७ चैत्र ६ गते

बैंकिङ खबर/  गत सातासम्म निरन्तर बढिरहेको अन्तरबैंक कारोबारको ब्याजदर घटेको छ । अघिल्लो साता अस्वाभाविक उचाइमा रहेको अन्तरबैंक ब्याजदर यो साता ह्वात्तै घटेको हो । अघिल्लो साता ३.३९ प्रतिशत रहेको यस्तो ब्याजदरमा उच्च गिरावट आई यो साता १.३८ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ । बैंकिङ प्रणालीमा तरलता थपिँदै गएपछि एक सातामै अन्तरबैंक ब्याजदर २.०१ विन्दुले घटेको हो ।

केही महिनाअघि मात्र करिब ०.५ प्रतिशत रहेको अन्तरबैंक ब्याजदर अस्वाभाविक रूपमा बढेर केही साताअघिसम्म ४ प्रतिशतको सेरोफेरोमा घुमिरहेको थियो । कोभिड १९ का कारण लगानीको वातावरण अवरुद्ध भएसँगै बैंकमा पैसा थुप्रिएका कारण लगानीयोग्य रकम (तरलता) २ अर्ब नाघेको थियो । तर, पछिल्लो समय लगानीको वातावरण बन्दै गएपछि अधिक तरलताको समस्या न्यून हुँदै गएका कारण अन्तरबैंक कारोबार बढ्न गयो, जसले यस्तो कारोबारको ब्याजदर अस्वाभाविक रूपमा बढायो । तर, अघिल्लो साताको अन्तिमतिर बैंकिङ प्रणालीमा सरकारी विकास खर्चलगायत रकम भित्रिन सुरु भएसँगै तरलता बढेको छ ।

चैत लागेपछि सरकारी खर्च बढ्नु, सरकारले बक्यौताहरू तिर्नु र राष्ट्र बैंकले स्वीकृत गरेको पुनर्कर्जा बैंकहरूले लिनुले पनि तरलता बढेको विश्लेषकहरूको बुझाइ छ ।

अघिल्लो सातादेखि हालसम्म बैंकहरूले राष्ट्र बैंकबाट करिब १ खर्ब रूपैयाँ पुनर्कर्जा लिइसकेका छन् । राष्ट्र बैंकले पुनर्कर्जाका लागि स्वीकृत गरेको १ खर्ब ४२ अर्बमध्ये करिब १ खर्ब बैंकहरूले लिएका हुन् । कर्जाको माग बढी भएपछि बैंकहरूले अर्को बैंकबाट छोटो अवधिका लागि सापटी लिने गर्दछन् । यस्तो सापटीको ब्याजदरलाई बैंकिङ प्रणालीमा तरलताको अवस्थाले प्रभावित तुल्याउने गरेको छ ।

 

Ad