बैंकिङ खबर । केन्द्रीय कार्यालय काभ्रेको बनेपास्थित मिर्मिरे लघुवित्त वित्तीय संस्था लि.ले भक्तपुर बाँसघारीस्थित होटल अर्किडमा संचालक समिति र केही संस्थागत लगानीकर्ताको उपस्थितिमा आफ्ना ब्लक स्टेशन प्रमुख, क्षेत्रीय प्रमुख विभागिय प्रमुख र उच्च व्यवथापन सहितको सहभागितामा २०७७ माघ २३ र २४ गते अर्ध वार्षिक प्रगति समिक्षा र आगामी अर्धवार्षिक लक्ष्य तय गर्ने कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा संस्थाले विगत छ महिनामा गरेका कार्यक्रमहरुको समिक्षा सहित आगामी छ महिनाको रणनैतिक लक्ष्य निर्धारण गरेको छ । संस्थाले यस आर्थिक वर्षको अन्त सम्ममा हाल ५५ जिल्लामा संचालनमा रहेकोमा थप ६ वटा जिल्लामा कार्यक्रम बिस्तार गरि ६१ जिल्लामा सेवा पुर्याउने र १ लाख १७ हजार सदस्यहरुलाई वित्तिय सेवा पुर्याउने लक्ष्य लिएको छ । कार्यक्रममा जोखिम व्यवस्थापन, कर्जाको गुणस्तर बृद्धि, कर्मचारी कार्यक्षमता, उत्पादकत्व बृद्धि, प्रभावकारी कार्यसञ्चालन, परिणाममुखी शाखा अनुगमन जस्ता विषयमा समिक्षा तथा छलफल गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष टेक बहादुर बोहराले संस्थाको विगतको इतिहासबाट पाठ सिक्दै अधिराज्य भरिका लघुवित्त वित्तीय संस्थाहरु बिच नमुनाको संस्था बनाउन आफूहरु पनि जोड तोडले लागि परेको र सोहि अनुसारले कर्मचारीहरुलाई पनि अगाडी बढ्नको लागि निर्देशन दिएका थिए । संस्थाले स्वेडा र नागवेलीदुई वटा लघुवित्तलाई प्राप्ति गरे संगै संस्थाले ठूलो आकार लिंदै गएको र आगामी दिनमा समेत अन्य लघुवित्त वित्तीय संस्थाहरुसंग गाभ्ने गाभिने प्रकृयामा निरन्तरता दिने बताए ।

नायब प्रमुख कार्यकारी राजेन्द्र प्रसाद न्यौपानेले संचालन गरेको कार्यक्रममा सहायक प्रमुख कार्यकारी अधिकृत विर्ख बहादुर बोहराले संस्थाको आगामी दिशानिर्देश सहितको संकल्प प्रस्ताव पेश गरेका थिए ।
सञ्चालक समिति अध्यक्ष टेक बहादुर बोहराको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा सञ्चालकहरु सन्तोष फुँयाल, दिप बहादुर श्रेष्ठ, संजय कुमार श्रेष्ठ, संस्थापक शेयरधनिहरु राम प्रसाद भंण्डारी, प्रकाश कोइराला, लोक बहादुर माझी, कुल प्रसाद खरेल लगायतले समेत कार्यक्रममा आफ्ना धारणहरु राखेका थिए । समिक्षा कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कुमार याक्सोले संकल्प प्रस्ताव अनुसारले लक्ष्य हासिल गर्न कर्मचारीहरु सबै एक रफ्तारमा अगाडी बढ्न निर्देशन दिदै कार्यक्रमले तय गरेको लक्ष्य प्राप्तीमा प्रतिवद्धता सहित कार्यक्रमको समापन गरेका थिए ।
शुक्रबार र शनिवार गरि दुई दिन चलेको उक्त कार्यक्रममा उत्कृष्ट कार्य गर्ने ब्लक स्टेशनहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।


