
बैंकिङ खबर । छिमेक लघुवित्त र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन हो । यी दुवै लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएका छन् । साथै, दुवैले साधारण सभा गर्न बुधबार (पुस १५ गते) बुक क्लोज गर्ने भएकाले मंगलबारसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
छिमेक लघुवित्तले २२५ बोनस सेयर र ७५ नगद गरी कुल २९५ लाभांश पारित गर्न लागेको छ । यस्तै, सभामा सर्वसाधारण सेयरधनीबाट २ जना सञ्चालकको निर्वाचन गर्ने र अधिकृत पुँजी २ अर्ब रुपैयाँबाट बढाएर ३ अर्ब रुपैयाँ पुर्याउने एजेन्डा पनि रहेको छ । साथै, अन्य कुनै लघुवित्त कम्पनीसँग मर्जर वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चाक समितिलाई दिने प्रस्ताव छ ।
यता, ग्लोबल आइएमई लघुवित्तले पनि गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २७.४७५ बोनस सेयर र कर तिर्न १.५५ नगद लाभांश वितरण गर्नेछ । यस्तै, ग्लोबल आइएमईले स्पर्श लघुवित्त वित्तीय संस्थालाई एक्वायर गर्न सेयर स्वाप रेसियो पारित गर्ने एजेन्डा पनि रहेको छ । ग्लोबल आइएमईको १ कित्ता सेयर बराबर स्पर्शको ०.९० कित्ता सेयर कायम हुने सेयर स्वाप रेसियोलाई एजीएमबाट पारित गर्न लागिएको हो । एक्विजिसन सम्बन्धी अन्तिम सम्झौता पनि सभामा स्वीकृतिका लागि पेश गरिने भएको छ ।


