बैंकिङ खबर । चन्द्रागिरी हिल्स कम्पनीको दोस्रो चरणको आईपीओ पुसको तेस्रो साता निष्कासन हुने भएको छ । कम्पनीले सर्वसाधारण नागरीकको लागि दोस्रो चरणमा १५ लाख ३४ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९१० कित्ता शेयर निष्काशन गर्न बोर्डबाट कार्तिक २८ गते अनुमति पाएको थियो । जसमध्येको ३ लाख ६ हजार ८१९ कित्ता सेयर भर्खरै कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि बिक्री गरिसकेको छ । त्यस्तै, कम्पनीले दोस्रो चरणमा भने सर्वसाधारणको लागि १५ लाख ३४ हजार कित्ता आईपीओ पुसको तेस्रो सातादेखि निष्कासन हुने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका एक अधिकारीले बैंकिङ खबरलाई जानकारी दिए । ‘पहिलो चरणमा निष्कासन भएको आईपीओको भरीफिकेसनको काम भइरहेको छ ।’ उनले भने, ‘पहिलो चरणमा आयोजना प्रभावितको लागि आईपीओ निष्कासन गरेका थियौ, आवेदन दिनेहरु आयोजना प्रभावित हुन् वा हैनन् भनि भरिफिकेसन गर्ने काम गरिरहेका छौं ।’ पुसको दोस्रो सातासम्ममा भरिफिकेसन कार्यले पूर्णता पाउने उनले जानकारी दिए । उनका अनुसार दास्रो साता भरिफिकेसन कार्य सकिएलगतै दोस्रो चरणको आईपीओको लागि पुसको तेस्रो साता आह्वान पत्र जारी गरिने छ । कम्पनीले आह्वान पत्र जारी गरेको आठौं दिनदेखि सर्वसाधारणले चन्द्रागिरीको आईपीओमा आवेदन दिन सक्नेछन् ।
पहिलो चरणमाको आईपीओ
चन्द्रागिरी हिल्सले पहिलो चरणको आईपीओ मंसिर १७ गतेदेखि बिक्री सुरु गरेको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि ३ लाख ६ हजार ८१९ कित्ता शेयर निष्काशन गरेको थियो । आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नंम्बर ३, ४, ६ र ७ साविक थानकोट गाविसाका सम्पूर्ण वडा र साविक महदेवस्थान गा.वि.स.को वडा नं ३, ४, ५, ६, ७, ८, एवं मकवनपुर जिल्लाको थाहा नगरपालिका वडा नं ९ र १० (साविकको चित्लाङ्ग गाविसको सबै वडाहरु) र इन्द्रसरोवर गाउँपालिका वडा नं ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु) का स्थानियले मात्रै यस चरणमा आवेदन दिन दिएका थिए ।
