
बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले आम लगानीकर्तालाई आफुले लगानी गर्ने कम्पनीको बारेमा सुसूचित भई सजगता पूर्वक लगानी गर्न आग्रह गरेको छ । सोमबार बोर्डले विज्ञप्ति जारी गर्दै लगानीकर्तालाई सजक भई लगानी गर्न अनुरोध गरेको हो । मुलुकको अर्थतन्त्रको विकासमा पूँजीबजारको महत्वपूर्ण भूमिका रहने सन्दर्भमा बोर्डले पूँजीबजारको विकास र बिस्तार गर्दै यसको सूक्ष्म रूपमा अनुगमन तथा सुपरिवेक्षण गरिरहेको छ । बोर्डले धितोपत्रको दोस्रो बजारको स्वरुप र गतिविधिलाई निरन्तर रूपमा अनुगमन गरिरहेको छ । बोर्डले धितोपत्र वजारको नियमन गर्ने निकायको रुपमा लगानीकर्ताहरुलाई बजारको विविध पक्षका बारेमा समय समयमा प्रेस विज्ञप्ती, प्रकाशन, वेभसाइट तथा विभिन्न सञ्चार माध्यमबाट जानकारी गराउँदै आएको छ । बोर्डबाट गरिएका धितोपत्रबजार विकास तथा सुधारका कार्यहरुबाट धितोपत्रको प्राथमिक बजारमा ८ लाखभन्दा बढी लगानीकर्ता, डिम्याट खाताको संख्या २१ लाख ८० हजार (कुल जनसंख्याको करिव ७.२५ प्रतिशत) रहेकोतथा नेप्सेको अनलाइन कारोवार प्रणालीबाट ८५ प्रतिशतभन्दा बढी कारोवार हुने गरेकाले नेपालको धितोपत्रबजारमा पछिल्लो समय लगानीकर्ताको सहभागितामा उल्लेख्य बृद्धि भएको छ। पछिल्ला केहि दिनमा दोस्रो बजारमा कारोवार रकम र नेप्से सूचक हालसम्मको उच्चअंकमा रहन गएको छ, जुन समग्र पूँजीबजारका लागि खुसीको कुरा हो। लगानीकर्ताहरुले पूँजीबजारका केही स्थापितमूल्य र मान्यताअनुरुप सूचीकृत संगठित संस्थाको वित्तीयअवस्था, ती संस्थाहरुको आधारभूत तथा प्राविधिक पक्ष, ऐन नियमको पालनाको अवस्थाका साथै समग्र वित्तीय तथा आर्थिक परिसूचक लगायतका विवरणहरुको विश्लेषण गरी लगानीसम्बन्धी निर्णय लिनु लगानीकर्ताको हितमा हुने छ । अतःधितोपत्र बजारमा लगानी गर्दा हल्ला र अनुमानका पछाडि नलागी विश्व अर्थतन्त्र,राष्ट्रिय अर्थतन्त्र तथा सूचीकृत संगठित संस्थाहरूको वित्तीय स्थितिको विश्लेषण, संस्थागत सुशासनको अवस्था एवं लगानीकर्ताको जोखिम बहन गर्न सक्ने क्षमता तथा आफनो लगानीको सुरक्षा आदि समेतलाई दृष्टिगत गरी सजग भई सुझबुझपूर्ण रूपमा लगानीगर्न सम्पूर्ण लगानीकर्तालाई बोर्ड अनुरोध गरेको छ ।