
बैंकिङ खबर । दशैं पछाडि सेयर बजारमा रौनकता देखिएको छ । विशेषगरी खरिदबिक्री रकममा निकै बढोत्तरी देखिएको छ । खरिदबिक्रीमा माहोल आएसँगै समग्र बजारको थप सुधारप्रति सर्वसाधारण लगानीकर्ता उत्साहित भएका हुन् । बिहीबार शेयर बजार उकालो लागेको छ । बिहीबार शेयर बजार दोहोरो अंकले उकालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक ३६.२३ अंकले बढेर एक हजार ७७८.१२ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ४.९८ अंकले बढेर ३४३.०७ मा पुगेको छ । बुधबार नेप्सेमा १९४ वटा कम्पनीको एक करोड १६ लाख ७४ हजार ८७५ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ७९ करोड १० लाख ४१ हजार ६ सय ४९ रुपैयाँको कारोबार भएको थियो । आज कूल १९८ वटा कम्पनीको एक करोड ४० लाख ६२ हजार ५०७ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ०७१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये बिहीबार १२ वटा उपसमूहको शेयर बढेको छ ।

