२०७३ श्रावण २० गते

सरकार परिवर्तनको असर शेयर बजारमा : कमाउनेमा ८ कम्पनी मात्रै

Stock price decliningशेयर बजारमा सरकार परिवर्तनको असर देखिएको छ । नेप्से परिसूचक विहिबार एकैदिन ४५.१२ अंकले घटेर १७६८.६० अंकमा कायम भएको छ । हुन त सरकारको परिवर्तको अल्ला चलेदेखि नै शेयर बजार घट्दो क्रममा रहेको छ । दैनिकजसो दोहोरो अंकले घट्दै झन्डै १९ सय अंक छुन लागिसकेको बजार १७ सयको रेन्जमा झरेको छ । 

बुधबारको तुलनामा कारोबार रकम भने बढेको छ । बुधबार सवा एक अर्बको कारोबारम भएको बजारमा विहिबार साढे एक अर्बको कारोबार भएको छ । दिनभरिमा १ सय ४२ वटा कम्पनीको २७ लाख ५१ हजार ९ कित्ता शेयर ७ हजार ७ सय ३४ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब ५० करोड ९ लाख ९६ हजार ७ सय ८४ रुपैयाँको कारोबार भएको हो । 

साताको अन्तिम दिन सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको अग्रस्थानमा रहेको सिद्धार्थ बैंकको ११ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ । एनबी बैंकको ९ करोड ८५ लाख, नेपाल बैंकको ९ करोड ३३ लाख र एभरेष्ट बैंकको ५ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । इन्भेष्टमेन्ट बैंक र एनएमबी बैंकको पौने ५ करोडमाथिको शेयर कारोबार हुँदा प्रिमियर इन्स्योरेन्स, स्टान्डर्ड चार्टर्ड बैंक, माछापूछ्रे बैंक, एनआईसी एसिया लगायतको ३ करोडमाथिको कारोबार भएको छ । मुलुकको राजनीतिले परिवर्तनको बाटो लिएपछि लगानीको सुरक्षाको खोजीमा लगानीकर्ता वाणिज्य बैंकतर्फ सरेका हुन् । 

विहीबार ८ वटा कम्पनीको मात्रै शेयरमूल्य बढेको छ, त्योपनि सामान्य रुपमा । सबैभन्दा धेरै कमाउनेमा कन्काई विकास बैंकका लगानीकर्ता छन्, जसको शेयरमूल्य ४.९९ प्रतिशतले बढेको छ । त्यस्तै, सिनर्जी फाइनान्सका लगानीकर्ताले २.४९ प्रतिशतका दरले सम्पत्ति बढाउँदा रिलायबल माइक्रोफाइनान्स, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १, कञ्चन डेभलपमेन्ट बैंक, किसान माइक्रोफाइनान्स र लुम्बिनी फाइनान्सका लगानीकर्ताले क्रमशः १.९६, १.४९, १.२४, १.१५ र ०.४६ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । धेरै गुमाउनेमा सगरमाथा इन्स्योरेन्स, ओरियन्टल होटल्स, देवः विकास बैंक, प्राइम लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स, अरुण हाइड्रोपावर, काष्टमण्डप डेभलपमेन्ट बैंक लगायत छन् । 

सबै समूह ओरालो लागेको बजारमा सबैभन्दा धेरै बीमा र होटल क्रमशः २९९.५ र १०२.०३ अंकले घटेका छन् । वाणिज्य बैंक, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य क्रमशः ३९.९३, ५२.२२, ५८.७, १७.६८, ५१.२७ र १२.१५ अंकले घटेका छन् ।