हङकङको एउटा एक्सचेञ्ज प्लेटफर्मबाट ७ करोड डलरभन्दा बढीका बिट्क्वाइन चोरी भएको छ । त्यहाँको एक्सचेञ्ज प्लेटफर्म बिट्फिनेक्सले बताएअनुसार ७ करोड २० लाख २० हजार डलर बराबरका बिट्क्वाइन चोरी भएका छन् । प्रयोगकर्ताको खाताबाट १ लाख १८ हजार ७ सय ५६ ओटा बिट्क्वाइन चोरी भएको अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सलाई बिट्फिनेक्सका कम्युनिटी एण्ड प्रडक्ड डेभलपमेण्ट निर्देशक जाने टकेटले बताए । उनले भने, ‘प्रयोगकर्ताको सेग्रेगेटेड वालेट्सबाट बिट्क्वाइन चोरी भएका छन् ।’
डिजिटल मुद्रा सटही गर्ने प्लेटफर्मबाट चोरिएको यो दोस्रो धेरै परिणाम भएको बताइएको छ । यसअघि सन् २०१४ मा टोकियोको एउटा बिट्क्वाइन सटहीकर्ता प्लेटफर्म माउण्ट गोक्सबाट ६५ करोड डलर मूल्यबराबरका बिट्क्वाइन चोरी भएको थियो । यस घटनाका बारेमा छानबिन भइरहेको टकेटले बताएका छन् ।
यो समाचार सार्वजनिक भएपछि मङ्गलवार डलरको तुलनामा डिजिटल मुद्रा बिट्क्वाइनको मूल्य २३ प्रतिशतले घटेको थियो । तर, बुधवार भने यसको भाउ १ प्रतिशतले बढ्दै ५ सय ४५ डलर २० सेण्टमा उक्लिएको छ । चोरी भएको बिट्क्वाइन अहिले परिचालित भइरहेको मुद्राको शून्य दशमलव ७५ प्रतिशत मात्रै हो । एजेन्सी
