बैंकिङ खबर/ दक्षिण एसियामा इन्टरनेट पूर्वाधारको विकास, विस्तार र डिजिटल पहुँचलाई सुदृढ बनाउन उल्लेखनीय योगदान पुर्याएका प्रविधि अभियन्ताहरूलाई काठमाडौंमा सम्मान गरिएको छ। दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (SANOG) को ४४औँ संस्करणअन्तर्गत आयोजित विशेष कार्यक्रममा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र भुटानका अग्रणी इन्टरनेट अभियन्ताहरूलाई सम्मान गर्दै डिजिटल युगको आधार निर्माणमा उनीहरूले खेलेको ऐतिहासिक भूमिकालाई औपचारिक रूपमा कदर गरिएको हो। यसपटकको सम्मानमा नेपालको प्रतिनिधित्व गर्दै वल्र्डलिंक कम्युनिकेसन्सका संस्थापक दीलिप अग्रवाल विशेष रूपमा सम्मानित भएका छन्। उनीसँगै भारतका नीरज सोनकर र सूचित नन्दा, पाकिस्तानका तारिक मुस्तफा, बंगलादेशका सुमोन अहमद साबिर तथा भुटानका जिचेन थिन्ले पनि सम्मानित भएका छन्। इन्टरनेट आजको जस्तो सहज र सर्वसुलभ बन्नुअघि नै आफ्ना-आफ्ना देशमा इन्टरनेट सेवा विस्तार, नेटवर्क पूर्वाधार निर्माण तथा प्रविधि विकासमा उनीहरूले खेलेको भूमिकाको मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
काठमाडौंमा आइतबारदेखि सुरु भएको तीनदिने सम्मेलनले केवल प्राविधिक छलफल मात्र होइन, दक्षिण एसियाको इन्टरनेट विकास यात्रामा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तित्वहरूको योगदानलाई अन्तर्राष्ट्रिय समुदायमाझ उजागर गर्ने अवसरसमेत दिएको छ। सम्मेलनमा इन्टरनेट पूर्वाधार, नेटवर्क सुरक्षा, डिजिटल कनेक्टिभिटी, डेटा व्यवस्थापन, क्लाउड प्रविधि तथा भविष्यका डिजिटल चुनौतीबारे विभिन्न प्राविधिक सत्रहरू सञ्चालन भइरहेका छन्। नेपालका दीलिप अग्रवालको योगदान विशेष रूपमा चर्चाको केन्द्रमा रह्यो। उनले सन् १९९५ मा एउटा सामान्य व्यक्तिगत कम्प्युटर र मोडेमबाट सुरु गरेको वल्र्डलिंक आज नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायकमध्ये एकका रूपमा स्थापित भएको छ। विशेष गरी कर्णाली लगायत दुर्गम तथा भौगोलिक रूपमा चुनौतीपूर्ण क्षेत्रमा उच्चगतिको इन्टरनेट सेवा विस्तार गर्न वल्र्डलिंकले खेलेको भूमिकालाई कार्यक्रमका वक्ताहरूले नेपालको डिजिटल रूपान्तरणको महत्वपूर्ण आधारका रूपमा व्याख्या गरेका छन्। शिक्षा, स्वास्थ्य, डिजिटल बैंकिङ, ई–गभर्नेन्स, अनलाइन व्यवसाय तथा सूचना प्रविधिमा आधारित सेवाको विस्तारमा विश्वसनीय इन्टरनेट पूर्वाधारको भूमिका उल्लेखनीय रहेको र त्यसमा अग्रवालको योगदान दीर्घकालीन महत्वको रहेको धारणा कार्यक्रममा व्यक्त गरिएको थियो। कार्यक्रमका क्रममा आयोजक संस्था इन्टरनेट इनेबलर्स ले इन्टरनेट विकासको इतिहास केवल प्रविधिको कथा नभई दूरदृष्टि, लगानी, जोखिम र निरन्तर नवप्रवर्तनको परिणाम भएको उल्लेख गरेको छ। विज्ञप्तिअनुसार इन्टरनेट सर्वसाधारणको दैनिक जीवनको हिस्सा बन्नुअघि नै यी अभियन्ताहरूले सीमित स्रोतसाधनका बीच डिजिटल पूर्वाधार निर्माण गर्दै लाखौं मानिससम्म प्रविधिको पहुँच पुर्याउने अभियानको नेतृत्व गरेका थिए।
भारतका नीरज सोनकरले सन् १९९५ मा भिएसएनएलमार्फत देशको पहिलो व्यावसायिक इन्टरनेट सेवा सञ्चालन गर्न महत्वपूर्ण भूमिका खेलेका थिए भने सूचित नन्दाले इन्टरनेट सेवा सुरु हुनुअघि नै बुलेटिन बोर्ड सिस्टम (BBS) मार्फत हजारौं प्रयोगकर्तालाई अनलाइन सञ्चारसँग परिचित गराएका थिए। बंगलादेशका सुमोन अहमद साबिरलाई तीन दशकभन्दा लामो समयसम्म इन्टरनेट पूर्वाधार निर्माणमा पुर्याएको योगदानका लागि सम्मान गरिएको हो भने भुटानका जिचेन थिन्लेलाई प्रारम्भिक इन्टरनेट तथा जीएसएम मोबाइल नेटवर्क विस्तारमा खेलेको भूमिकाको कदर गरिएको छ। पाकिस्तानका तारिक मुस्तफाले पनि आफ्नो देशमा इन्टरनेट सेवा विस्तार र प्राविधिक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तित्वका रूपमा सम्मान प्राप्त गरेका छन्।
कोभिड–१९ महामारीपछि डिजिटल सेवाको प्रयोग तीव्र रूपमा बढे पनि त्यसका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने इन्जिनियर, नेटवर्क अपरेटर, प्राविधिक विज्ञ तथा उद्यमीहरूको योगदान धेरै हदसम्म ओझेलमा परेको भन्दै इन्टरनेट इनेबलर्सले यस्ता व्यक्तित्वलाई अन्तर्राष्ट्रिय रूपमा सम्मान गर्ने अभियान सुरु गरेको हो। संस्थाका अनुसार डिजिटल अर्थतन्त्र, अनलाइन शिक्षा, टेलिमेडिसिन, ई–कमर्स, डिजिटल बैंकिङ तथा सरकारी सेवाको आधुनिकीकरण सम्भव हुनुमा यिनै प्रविधि अभियन्ताहरूको दशकौँ लामो योगदान निर्णायक रहेको छ। प्रविधि विज्ञहरूका अनुसार दक्षिण एसियामा डिजिटल अर्थतन्त्र तीव्र गतिमा विस्तार भइरहेको वर्तमान अवस्थामा इन्टरनेट पूर्वाधारमा योगदान पुर्याएका अग्रणी अभियन्ताहरूलाई गरिएको सम्मान केवल व्यक्तिगत उपलब्धिको मूल्यांकन मात्र नभई भविष्यका पुस्तालाई नवप्रवर्तन, अनुसन्धान र डिजिटल नेतृत्वतर्फ प्रेरित गर्ने महत्वपूर्ण सन्देश पनि हो। नेपालको सन्दर्भमा दीलिप अग्रवाललाई प्राप्त यो सम्मानले नेपाली सूचना प्रविधि क्षेत्रको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउनुका साथै देशको डिजिटल रूपान्तरण अभियानलाई थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।

