बुधबार शेयर बजार घटेको छ । मौद्रिक नीति पछिका दिनहरुमा लगातार बढेर ऐतिहासिक उचाईमा पुगेको नेप्से १३.६७३ अंकले घटेको हो । मंगलबार १८ सय अंक पार गरेको परिसूचक बुधबार १७८६.८४ अंकमा ओर्लिएको हो । उत्पालनमूलक बाहेक सबै समूह घटेका छन् । सबैभन्दा बढी बीमा समूह १२५.९२ अंकले बटेको छ भने वाणिज्य बैंक, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य क्रमशः ११.५१, ३५.५५, ६.२८, १२.०६, १.८२ र १५.६१ अंकले घटेका छन् । उत्पादनमूलक भने ५२.९९ अंकले बढेको छ ।
बजार घटेपनि कारोबार रकमले भने बुधबार पनि २ अर्ब नाघेको छ । दिनभरिमा १ सय ४१ वटा कम्पनीको ३४ लाख ७४ हजार ८ सय १ कित्ता शेयर ९ हजार २ सय ९१ पटक खरिदविक्रि हुँदा कुल २ अर्ब १२ करोड ९१ लाख १५ हजार ७ सय १३ रुपैयाँको कारोबार भएको छ । मंगलबार २ अर्ब १४ करोडको शेयर कारोबार भएको थियो ।
बुधबार सिद्धार्थ बैंकको शेयरमा लगानीकर्ताको अत्याधिक आकर्षण पाइएको छ, जसको ३९ करोड ६९ लाख २३ हजार ८ सय ९३ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । शिखर इन्स्योरेन्सको १० करोडभन्दा माथिको शेयर कारोबार भएको छ भने माछापूछ्रे बैंकको साढे ९ करोड र नेपाल बैंकको पौने ९ करोड माथिको शेयर कारोबार भएको छ । एनआईसी एसिया र कृषि विकास बैंकको ७ करोडमाथिको कारोबार हुँदा ग्लोबल आईएमई बैंक र एनबी बैंकको ५ करोडमाथिको शेयर कारोबार भएको छ भने जलविद्युत् लगानी तथा विकास कम्पनी, सनराइज बैंक लगायतको ४ करोडमाथिको शेयर कारोबार भएको छ ।
मिसन डेभलपमेन्ट बैंक र बोटलर्स नेपालका लगानीकर्ताले बुधबार १० प्रतिशतका दरले सम्पत्ति बढाउँदा किसान माइक्रोफाइनान्स, कृषि विकास बैंक, कैलास विकास बैंक, र अरनिको डेभलपमेन्ट बैंकका लगानीकर्ताले क्रमशः ९.९९, ९.९१, ९.८९ र ९.६७ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । सिन्धु विकास बैंक, काष्टमण्डप डेभलपमेन्ट बैंक, मनास्लु विकास बैंक, कम्युनिटी डेभलपमेन्ट बैंक लगायतले पनि धेरै कमाएका छन् ।
महिला सहयात्रा माइक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । नयाँ नेपाल लघुवित्तका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले गुमाएका छन् भने निर्धन उत्थान बैंक, जलविद्युत् लगानी तथा विकास कम्पनी, नेरुड लघुवित्त लगायतले पनि गुमाएका छन् ।



